यसपालिकाे हिउँदमा पनि कम वर्षाकाे जाेखिम, कृषिसँगै स्वास्थ्यमा असर गर्ने

 पुष २४, २०८१ बुधबार १३:३१:५५ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

साङ्केतिक तस्वीर

यसपालिको हिउँद पनि सुक्खा हुने जोखिम बढेको छ । अघिल्ला दुई वटा हिउँद पनि सुक्खा भएका थिए । जल तथा मौसम विज्ञान विभागले यो वर्षको हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरेकोमा पुस सकिन लाग्दा पनि धेरै ठाउँमा हिउँदे वर्षा भएकै छैन । पहाडी, उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट वर्षा र हिमपात भए पनि महाभारत, चुरे र तराईमा वर्षा भएकै छैन ।

नेपालमा हिउँदे वर्षा गराउने अरब सागरमा बन्ने जलचक्रीय प्रणाली र पश्चिमी वायु दुवैमा जलयुक्त वाष्पकाे कमी भएकोले वर्षा हुन नसकेको जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो ।

नेपालमा हिउँदे वर्षाको निकै महत्त्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य स्राेत नै हिउँदे वर्षासँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनर्भरण गर्छ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनर्भरण हुन पाउँदैन जसको असर वर्षायाममा मूल फुट्न समय लाग्ने साथै कतिपय ठाउँमा मूल फुट्न नै नसक्ने हुन्छ ।

यस्तै हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढेर जान्छ । यसले वायु प्रदूषण पनि बढाउँछ । हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष असर गर्ने जलवायु विज्ञ उप्रेती बताउनुहुन्छ ।

नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन । पछिल्ला केही वर्षयता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने स्राेतमा आएको सुक्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।

हिउँदे वर्षा र कृषि

हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष र गहिरो असर गर्ने देखिएको छ । गहुँ, जौ, तोरी, केराउजस्ता बाली हिउँदे वर्षामै निर्भर हुन्छन् । वर्षा नहुँदा खेत, बारीमा छरेको अन्न नै उम्रन सक्दैन । आवश्यक चिस्यानको कमीले बीउ अङ्कुरित हुन सक्दैन । ढिलो गरी उम्रे पनि यसले अपेक्षाअनुसारको उत्पादन दिन सक्दैन जसले खाद्य सङ्कट निम्त्याउँछ । नेपालमा धान मकैपछिको प्रमुख बाली गहुँ हो जुन पूर्णरूपमा हिउँदे वर्षामा निर्भर रहन्छ । सतही सिँचाइभन्दा पनि आकाशे पानीको प्रभाव धेरै राम्रो र उत्पादक मानिन्छ ।

जलवायुविज्ञ डा. उप्रेतीले सरकारका प्रमुख दुई निकाय जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने प्रक्षेपण गरेको अवस्था र कृषि मन्त्रालयले हिउँदे बालीमा कम उत्पादन हुन्छ भनेको अवस्थामा पनि सरकारको पूर्वतयारी नहुनु बिडम्बना भएको टिप्पणी गर्नुभयो । पूर्वानुमानअनुसारको पूर्वतयारी नगर्दा आइपर्ने सङ्कट व्यवस्थापन गर्न नसकिने खालको हुने उहाँले बताउनुभयो ।

हिउँदमा लगातार सुक्खा र खडेरी परिरहँदा यसको असर समग्र खाद्य चक्र र अर्थतन्त्रमा पर्छ । कृषिमा आश्रित हुने समुदाय वा अझ आफूले खानका लागि मात्र उत्पादन गर्ने किसान चाहिँ हिउँदे जलवायुमा आएको परिवर्तनले सबैभन्दा मारमा पर्नेछन् । यसले भोकमरी, गरिबी र अनियन्त्रित बसाइँसराइसम्मका समस्या निम्त्याउन जाेखिम छ । केही वर्षयता जलवायु परिवर्तनले मौसमी पात्रोमा फेरबदल आएको छ ।

जलवायु विज्ञ डा. उप्रेती

हिउँदे वर्षा र मानव स्वास्थ्य

हिउँदे वर्षा नहुँदा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्छ । मानिसले दैनिक प्रयोग गर्ने पानीको उपलब्धतामा कमी आउँछ भने उपलब्ध भएको पानीको गुणस्तर पनि नहुने हुन्छ । जसका कारण प्रदूषित पानी र प्रदूषित पर्यावरणले जनस्वास्थ्यमा सीधा नकारात्मक असर गर्दछ । जलवायुविज्ञ डा. उप्रेतीले हिउँदे वर्षा नहुँदा खानेपानीमा असर पुग्ने बताउनुभयो । पानी पर्ने तौरतरिकामा परिवर्तन हुनेबित्तिकै त्यसको सीधा असर पानीको गुणस्तर र परिणाममा समेत पर्ने भएको हुनाले पानीका स्रोत संरक्षणका लागि सरकारले तदारुकताका साथ काम गर्नुपर्ने उहाँकाे भनाइ छ ।

पानीको उपलब्धताको कमी हुनु, गुणस्तरीय नहुनु, वातावरण प्रदूषित नै रहिरहनु, जमिनभन्दा नजिकै रहने धूलोको कण मिश्रित वायुले लामो समय चिसो र सुक्खा बढाउने भएकाले जनस्वास्थ्य जोखिमपूर्ण बन्ने सम्भावना छ । अस्पताल र स्वास्थ्य संस्थामा जोखिम मूल्याङ्कन गरेर आवश्यक पूर्वतयारी गर्नुपर्ने आवश्यक छ । यस समयमा फैलनसक्ने सङ्क्रामक रोगविरुद्ध लड्न सरकारले पूर्णकालीन योजना नै बनाएर लागू गर्नुपर्दछ ।

सबै प्रकारका मौसमजन्य विपद्को छुट्टाछुट्टै अनुकूलन कार्यक्रम

नेपालको जलवायु र मौसममा आइरहेको अस्वाभाविक परिवर्तन अनुकूलको कार्ययोजना बनाउन आवश्यक छ । नेपालमा केही वर्षयता मौसमजन्य विपद्का घटना बढिरहेको सन्दर्भमा सबै मौसमका लागि अनुकूलनको योजना आवश्यक रहेको छ । सबै प्रकारका मौसमजन्य विपद्का घटना बाहिर आइसकेको अवस्थामा एउटा मात्र (मनसुन र गर्मी) मौसमका लागि अनुकूलनको कार्यक्रम सञ्चालन गरेर हुँदैन ।

जलवायुविज्ञ डा. उप्रेतीले चिसोमा हुने अनुकूलन कार्यक्रम र गर्मीमा लागू गर्ने अनुकूलनको कार्यक्रम फरक हुने बताउनुभयो । बाढीको अनुकूलनको अवस्था एउटा हुन्छ भने पहिरोको अनुकूलनको अवस्था अर्को हुन्छ । प्रत्येक प्रकोप र विपद्ले निम्त्याउने हानि/नाेक्सानी फरकफरक हुने भएकाले फरक तरिकाले नै त्यसलाई अवलम्बन गर्नुपर्छ । हामीले बनाएको राष्ट्रिय अनुकूलन कार्यक्रम र योजनामा सबै प्रकारका जलवायुजन्य विपद्का अलग–अलग अनुकूलनको कार्यक्रम राख्न ढिलो गर्न हुँदैन । प्रत्येक प्रकोपले निम्त्याएको हानि/नोक्सानी फरक फरक आयतन र विशेषताको छ । हामीले बनाउने पूर्वतयारी र अनुकूलनको योजना त्यसैअनुसारको हुनुपर्छ । सीमित स्राेत साधन भएको र कमजोर आर्थिक अवस्थामा यसका कार्यक्रम बनाएर लागू गर्नु चुनौतीपूर्ण छ । तर यो बाध्यात्मक अवस्था हाम्रा अगाडि छ । चुनौतीविरुद्ध लड्न सरकारी तथा गैरसरकारी सबैको साझेदारी आवश्यक छ ।

मौसमबारे पूर्वसूचनाको व्यापकता आजको आवश्यकता

हामीले मौसमबारेको पूर्वसूचनाको व्यापकतामा काम गर्नुपर्ने छ । नेपाल धेरै प्रकारको विपद्को जोखिममा छ । विपद्लाई रोक्न सकिन्न तर सम्भावित जोखिम र अनपेक्षित हानि/नोक्सानी कम गराउन सकिन्छ । अहिले वर्षा हुन नसक्दा सुक्खापन गहिरिँदै गएको छ । सँगै वायु प्रदूषणको मात्रा बढेको छ । यस्तो अवस्थामा दैनिक जीवन र प्राथमिकता फरक गर्न सक्नुपर्छ । व्यक्तिगत रूफमा सकेसम्म घरबाहिर ननिस्कने, निस्के पनि शरीरको धेरै भाग ढाकिने कपडा लगाएर निस्कने, मास्क लगाएर निस्कने गरेर व्यवहारमा परिवर्तन गर्न सकिन्छ । यो सबै पूर्वसूचनामा आधारित भएर सम्पादन गर्न सकिन्छ । पूर्वसूचनामा वायु प्रदूषण बढेको छ भन्ने पाइयो भने सार्वजनिक गाडी प्रयोग गर्ने, पेट्रोल खपत हुने गाडीको सञ्चालनमा नियन्त्रण गर्ने, स्कूल र कलेजको अध्यापन सञ्चालन अवधि छोट्याउने जस्ता कार्य गर्न सकिन्छ जसले जोखिम र हानि/नोक्सानी कम गर्न सकिन्छ । दैनिक मौसम जानकारी सुविधाको कुरा मात्र होइन तर सार्वजनिक जीवन, स्वास्थ्य, सुरक्षा, र आर्थिक स्थिरताको रक्षा गर्न एक महत्त्वपूर्ण कारक पनि हो । समयमै र सही पूर्वानुमान प्रदान गरेर, मौसम जानकारीले व्यक्ति, समुदाय र सरकारलाई सुचित गरी निर्णयहरू लिन सक्षम बनाउँछ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया