नुवाकोट केन्द्रीय कारागारमा कैदीबन्दीको स्थानान्तरण गर्ने कामलाई निरन्तरता

 पुष २४, २०८१ बुधबार १२:३२:५८ | रासस
unn.prixa.net

नुवाकोट – नुवाकोटमा गएको भदौ १५ देखि सञ्चालनमा आएको केन्द्रीय कारागारमा कैदीबन्दी स्थानान्तरण गर्ने कामलाई निरन्तरता दिन थालिएको छ ।

कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला कारागार नुवाकोटका एक सय ४८ जना कैदीबन्दीलाई स्थानान्तरण गरेर सञ्चालनमा ल्याइएको थियो । अहिले नुवाकोटसहित आसपासका जिल्लाबाट कैदीबन्दी ल्याउने क्रम चलिरहेको छ ।

कारागारमा पूर्ण क्षमतामा कैदी व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई अन्तिम चरणमा पुर्‍याइएको अधिकृत खतिवडाले बताउनुभयो ।

नुवाकोटको कारागारमा केन्द्रीय कारागार (जगन्नाथदेवल), नक्खु कारागार ललितपुर, डिल्लीबजार कारागारका क्षमताभन्दा धेरै हुन आउनेमध्येका कैदीबन्दी स्थानान्तरण भइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाण्डौ उपत्यकाका कारागारसहित आसपासका जिल्ला रसुवा, धादिङ, गोरखाका क्षमताभन्दा बढी हुन आउने सङ्ख्याका कैदीबन्दी ल्याएर पूर्ण क्षमतामा सञ्चालन गरिनेछ ।

केन्द्रीय कारागारलाई आधुनिक एवम् औद्योगिक कारागारका रूपमा स्थापित गराउन आवश्यक संरचना क्रमशः निर्माण गर्दै अघि बढ्ने सरकारको योजना छ । तेस्रो चरणको भौतिक संरचना निर्माण अघि बढाउन गृहकार्य भइरहेको छ ।

महानिर्देशक भट्टराईले भन्नुभयो, ‘देशभर १३ हजार कैदीबन्दी क्षमताको कारागारमा अहिले २८ हजार जनाभन्दा बढी रहेकाले नुवाकोटको केन्द्रीय कारागारलाई जतिसक्दो चाँडो पूर्णता दिन सरकार प्रतिबद्ध छ ।’

काठमाण्डौमा रहेको केन्द्रीय कारागारलाई २०७० साल चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले विदुर नगरपालिका–६ मा रहेको खम्पा क्याम्पमा स्थानान्तरण गर्ने निर्णय गरेकाे थियाे । त्यही निर्णयअनुरूप निर्माण गरेको यो कारागारको गुरुयोजनाअनुरूप पाँच चरणमा काम सम्पन्न गर्ने उल्लेख छ ।

तेस्रो चरणमा पहिलो युनिटका लागि चाहिने १० वटा ब्लकमा एक हजार तीन सय ७० जना कैदीबन्दी राख्न भौतिक संरचनाको निर्माण, प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा युनिट बस्ने संरचना निर्माण गरिएका छन् ।

केन्द्रीय कारागार निर्माणको गुरुयोजनाअनुरूप तेस्रो चरणको भौतिक संरचना निर्माणका लागि विभाग जुटेको छ । तर यसका लागि यसअघि लगाएको ठेक्का प्रक्रियामा आर्थिक स्रोतको सुनिश्चित नहुँदा त्यसका लागि पहल भइरहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । त्यस्तै ओद्याैगिक कारागारका रूपमा स्थापना गर्ने सरकारको लक्ष्यअनुरूपका अन्य संरचना बनाउन बाँकी छ ।

कारागारका लागि आवश्यक भौतिक संरचनाको निर्माण र व्यवस्थापन केन्द्रीय सरकारमार्फत सञ्चालन गरिने छ भने सीप प्रवर्द्धनसहितका कार्यक्रममा प्रदेश सरकारको सहभागिता जुटाउन थालिएको छ ।

यस्तै ढल प्रशोधन र बायोग्यास प्लान्ट सञ्चालन र व्यवस्थापनसहितका कार्यमा स्थानीय सरकारको साझेदारी खोजिएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया