झापाको शिवसताक्षीका चार वडा ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा

 पुष २, २०८१ मंगलबार १२:१२:३० | रासस
unn.prixa.net

झापा – झापाको शिवसताक्षी नगरपालिका परम्परागत धानको संरक्षणमा जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । वडा नम्बर १, ४, ७ र १० लाई कालो नुनिया धानको पकेट क्षेत्र घोषणा गरिएको हो ।

अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको छ । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ ।

शिवसताक्षी वडा नम्बर ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य गरेर नगरपालिकाले नुनिया धानलगायत परम्परागत धानको बीउ संरक्षण र खेतीका लागि अभियान सञ्चालन गर्दै आएको शिवसताक्षी नगरपालिकाकी उपमेयर नरमाया कार्कीले बताउनुभयो ।

उहाँले नुनिया धानको खेती गर्ने किसानलाई धानखेती गरेको जमिनको मात्राका आधारमा आर्थिक अनुदानसमेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

कालो नुनिया धानको भात मिठो हुने र प्रतिमन चार हजार रुपैयाँका दरले बिक्री हुने जैविक विविधता संरक्षण समितिका अध्यक्ष डिल्ली पौडेल बताउनुभयो । समितिले किसानलाई कालो नुनियाको खेती गर्न प्रोत्साहित गरिरहेको हुँदा यसको खेती  वर्षेनि विस्तार हुँदै गएको दाबी गर्नुभयो ।

पछिल्लो समय कालो नुनिया धानको माग अत्यधिक बढेको हुँदा किसानले पनि खेतीमा चासो बढाएको उहाँको भनाइ छ । समितिले यसपालि किसानलाई सात टन कालो नुनियाको बीउ बिक्री गरेको जनाएको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया