ग्लोबल आईएमई बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न

 मंसिर २८, २०८१ शुक्रबार १८:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पूँजी समायोजन कोषसमेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५ दशमलव ५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरणपछि कायम हुने पूँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

साधारणसभामा अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले बैंकले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उल्लेख गर्नुभयो ।

ग्लाेबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक देशको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र छन् ।

बैंकले विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया