प्रहरी समायाेजन नहुँदा कार्यसम्पादनमा समस्या भएकाे प्रदेश सरकारका मन्त्रीहरूकाे गुनासाे

 मंसिर २८, २०८१ शुक्रबार १८:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश सरकारका मन्त्रीहरूले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्यसम्पादन गर्न समस्या भएको बताएका छन् । काठमाण्डाैमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय गोष्ठीमा बोल्दै प्रदेश सरकारका मन्त्रीहरूले प्रहरी समायोजन नहुँदा अपराध नियन्त्रण, शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा काम गर्न समस्या भएको बताएका हुन् ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी अध्यादेशबाटै भए पनि ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्ने बताउनुभयो ।

यस्तै मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सङ्घ सरकार र राजनीतिक नेतृत्वले प्रदेश सरकारका लागि गर्नुपर्ने कर्तव्यहरू पूरा नगरिरहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले प्रहरी समायोजनको बहस २००७ सालदेखि सुनिरहेको भए पनि अझै कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

यस्तै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम सरकार सधैं सङ्घ सरकारको उपेक्षामा परेको गुनासो गर्नुभयो । उहाँले सबै प्रदेश सरकारहरूलाई अधिकार सम्पन्न बनाए मात्र देशको विकासमा टेवा पुग्न बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री यमलाल कँडेलले वित्तीय सङ्घीयतामा भएका समस्याहरूलाई समाधान गर्न जरुरी रहेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया