उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
धनकुटा – धनकुटाको शहीदभूमि गाउँपालिकाकाे खाल्सा क्षेत्रमा बसोवास गर्दै आएका राई जातिको पापानी चाड शुरू भएको छ । स्थानीय राई जातिले नयाँ बाली भित्र्याउने खुशीयालीमा पापानी चाड मनाउने गर्दछन् ।
राईहरूले स्थानीय बाजागाजासहित नाचगान तथा इष्ट देवताको पूजाआराधना गरी यो पर्व मनाउने गर्दछन् । कार्तिक शुक्लपूर्णिमापछिकाे पहिलाे मङ्गलवारदेखि शहीदभूमि गाउँपालिका–३ काे साकेन्वा थानमा जम्मा भएर पूजा गरी यो पर्व मनाउन शुरू गरिन्छ । नयाँ बाली भित्र्याएको खुशीयालीमा ६ दिन, ६ रातसम्म नाचगान गरी एकआपसमा खुशीयाली साटासाट गर्दै पापानी पर्व मनाउने गरिएको शहीदभूमिका स्थानीयवासी नरेन्द्र कश्चित राईले बताउनुभयाे ।
पापानी पर्वमा किराँत राईहरूले कुलदेवताको पूजाआराधना गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाचगान गर्ने गर्दछन् । पापानी नाच नाच्दा सबै जना एकआपसमा गोलो घेरा हालेर खुट्टा तीन कदम अगाडि र पछाडि सार्दै नाच्ने गरिन्छ ।
छिन्ताङ, आँखिसल्ला र खोकुका राई जातिको सांस्कृतिक धरोहरका रूपमा रहेको पापानी नाच पछिल्लो समय लोप हुँदै गएको छ । यसको संरक्षण र प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको शहीदभूमिका अध्यक्ष मनोज राईले बताउनुभयाे ।
चाडको अवसर पारेर पालिकाले हरेक वर्ष दुई दिन स्थानीय बिदा दिँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।