काभ्रेको पनौतीमा बाढीले क्षति पुर्‍याएकाे कुलो पुनर्निर्माणका लागि १७ सय जनाकाे श्रमदान

 मंसिर ५, २०८१ बुधबार १५:५:२३ | रासस
unn.prixa.net

तस्वीर : रासस

काभ्रे – काभ्रेको पनौती नगरपालिकामा रहेको सिँचाइ आयोजनाको कुलो पुनर्निर्माणका लागि एक हजार सात सय जनाभन्दा धेरैले श्रमदान गरेका छन् ।

असोज दोस्रो हप्ताको बाढीले क्षति पुर्‍याएको कुलो मर्मतका लागि स्थानीय किसान, महिला कृषि सहकारी, विभिन्न युवा क्लब, महिला समूह, आमा समूह, विद्यार्थी, शिक्षकलगायतले श्रमदान गरेका पनौती–४ का वडाध्यक्ष दीपकप्रसाद दाहालले जानकारी दिनुभयो ।

तीन हप्ताअघि शुरू भएको कुलो पुनर्निर्माणको काम झन्डै ९० प्रतिशत सकिएको छ । श्रमदान अभियानमा स्वतःस्फूर्त सहभागिता रहेकाले पनौतीको फाँटमा सिँचाइ ल्याउन सकिने आत्मविश्वास बढेको वडाध्यक्ष दाहालले बताउनुभयो । कुलोको क्षति भएको ठाउँ बनाउन बाग्मती प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपैयाँ खर्च भइरहेको र कुलो सफाइका लागि श्रमदान अभियान सञ्चालन गरेको वडाध्यक्ष दाहालले बताउनुभयो ।

आयोजनाको २० प्रतिशत संरचना नयाँ बनाउनुपर्ने भएको छ भने ८० प्रतिशत क्षेत्रमा कुलोमा थुप्रिएको माटो निकाल्नुपर्ने अवस्था थियो । झन्डै ६ किलोमिटर कुलो सरसफाइ श्रमदानबाटै सकिने अवस्थामा पुगेको छ । आयोजनाको पुनर्निर्माण सकिएपछि पनौतीको झन्डै ६ हजार रोपनी जमिनमा पुनः सिँचाइ सुविधा पुग्ने छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया