चर्को खडेरीले अमेजन बेसिनका ४ लाख जनाभन्दा धेरै बालबालिका भोकमरी र कुपोषणको सङ्कटमा

 कात्तिक २२, २०८१ बिहीबार १८:१:२० | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

चर्को खडेरीका कारण अमेजन बेसिनका चार लाख २० हजार जनाभन्दा धेरै बालबालिका भोकमरी र कुपोषणको सङ्कटमा परेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) का अनुसार अमेजन बेसिनमा चार लाख २० हजार जनाभन्दा धेरै बालबालिका पानीको अभाव र खडेरीको खतरनाक स्तरबाट प्रभावित भएका छन् । ब्राजिल, कोलम्बिया र पेरुमा रेकर्ड तोड्ने खडेरीका कारण बालबालिका भोकमरी, कुपोषणबाट प्रभावित छन् भने शिक्षा र स्वास्थ्यबाट वञ्चित भएका छन् ।

युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले अमेजनको बेसिनमा आफूहरू एउटा अत्यावश्यक पारिस्थितिकीष प्रणालीको विनाशको साक्षी बनेको उल्लेख गर्दै धेरै बालबालिकालाई पर्याप्त खाना, पानी, स्वास्थ्य सेवा र विद्यालयकाे पहुँच नभएको उल्लेख गर्नुभएको छ । आजका बालबालिका र भावी पुस्ताको सुरक्षाका लागि चरम जलवायु सङ्कटको प्रभावलाई कम गर्नुपर्ने भन्दै उहाँले अमेजनको पारिस्थितिकीय प्रणालीमा समस्या आएमा विश्वभर नै असर देखिने चेतावनी दिनुभएको छ ।

ब्राजिल, पेरु र कोलम्बियामा पिउने पानीको अभावले बालबालिकामा सङ्क्रामक रोगहरू बढेका छन् । ब्राजिलको अमेजन क्षेत्रमा मात्र १७ सय वटाभन्दा बढी विद्यालय र सात सय ६० वटा मेडिकल क्लिनिक बन्द भएका छन् । कोलम्बियाको अमेजनमा पिउने पानी र खानाको अभावले एक सय ३० वटा विद्यालयले कक्षा स्थगित गर्न बाध्य भएका छन् ।  पेरुमा ५० वटाभन्दा बढी क्लिनिक बन्द भएका छन् ।

चर्को खडेरी र नदी सुक्दा जङ्गलमा आगलागी बढेको छ, जलविद्युत् उत्पादनमा ठूलो कमी आएको छ । ब्राजिल, बोलिभिया, कोलम्बिया, इक्वेडर, पेरु र भेनेजुएलाका केही भागमा बाली सुकेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया