काठमाण्डाै उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेल...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – पोखराको फेवातालमा सबैभन्दा धेरै पाइने माछा टिलापिया हो । अफ्रिकाको नाइल नदीको रैथाने माछा थाइल्यान्ड हुँदै नेपाल आइपुगेर यहाँका प्राकृतिक जलप्रणालीमा पनि प्रभुत्व जमाइरहेको छ ।
सन् १९८० को दशकमा राजा वीरेन्द्रलाई थाई नरेशले यो माछा उपहारमा दिएका थिए । अनुसन्धान प्रयोजनमा सरकारी स्तरबाटै भुरा उत्पादन गरिए । तिनै भुरा फेवासम्म पुगेर ठूलो सङ्ख्यामा विस्तार भएको मत्स्य वैज्ञानिक एवम् राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्र गोदावरी ललितपुरकी प्रमुख उमिता साह बताउनुहुन्छ ।
मत्स्य अनुसन्धान केन्द्र पोखराको अध्ययनअनुसार टिलापियाको सङ्ख्या फेवातालमा ६६ प्रतिशत, बेगनासमा ५० प्रतिशत र रूपामा ४४ प्रतिशत पुगेको छ । टिलापिया बढ्दै जाँदा फेवा र आसपासका तालमा बाम, सहर, रहु, नैनी, फगेटा, भ्याकुर, कत्ले लगायतका रैथाने माछाको सङ्ख्या निकै घटेको छ ।
यो माछाले आक्रमण गरेर नभई आफ्नो वंश विस्तार गरेर रैथानेलाई विस्थापित गरेको टिलापियाबारे अध्ययन गर्नुभएका कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनका उपप्राध्यापक राहुल रञ्जन बताउनुहुन्छ ।
यसले अरू जिउँदा माछा वा माछाका अण्डा खाँदैन । तर मरेका माछा लगायत पानीमा पाइने सबै किसिमका खानेकुरा खाने भएकोले फैलन सजिलो छ । प्रजनन दर पनि उच्च रहेकोले टिलापिया माछा चाँडो विस्तार भएको उपप्राध्यापक राहुल रञ्जन बताउनुहुन्छ । उहाँ भन्नहुन्छ, ‘सानै उमेरमा प्रजननयोग्य हुने यो माछाले एकै वर्षमा धेरै पटक अण्डा पार्छ । यस्तै अण्डा र भुरालाई मुखमा लुकाएर राख्न सक्ने भएकोले प्रजनन सफल हुने दर उच्च हुन्छ ।’
रैथानेमा बढ्दो सङ्कट
टिलापिया माछाको सङ्ख्या बढे पनि स्वादिलो र काँडा कम हुने भएकोले यसबारे धेरै चिन्ता सुनिँदैन । तर नेपालमा प्राकृतिक ताल तथा खोलानालामा खानयोग्य नभएका अति मिचाहा माछा बढ्न थालेका छन् । एउटा उदाहरण– झापा, मोरङ लगायतका जिल्लामा फैलन थालेको 'भर्मिक्युलेटिड सेल्फिन क्याटफिश' हो । मध्य र दक्षिण अमेरिकामा पाइने यो माछा पूर्वी नेपालका खोलाहरूमा फैलन थालेको 'बायोइन्भेजन्स रेकर्ड्स' नामक युरोपेली जर्नलमा प्रकाशित एउटा शोधपत्रमा उल्लेख छ ।
चीनको एक विश्वविद्यालयबाट गैररैथाने माछाबारेमा विद्यावारिधि गरिरहेका जसहाङ लिम्बुको नेतृत्वमा भएको अनुसन्धानको निष्कर्षमा यो माछा अति मिचाहा प्रकृतिको भएकाले यसले नेपाली जलक्षेत्रको जैविक विविधता र पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पार्ने उल्लेख छ । यो माछा खानयोग्य छैन भने यसले अरू माछाका भुरा र अण्डा खाएर आफ्नो वर्चस्व विस्तार गर्छ ।
मत्स्य वैज्ञानिक एवम् राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्र गोदावरी ललितपुरकी प्रमुख उमिता साह मिचाहा प्रजातिका माछाले रैथाने माछाका भुरा र अण्डासहित उसका खानेकुरा खाइदिने भएकोले रैथाने माछाका लागि सङ्कट आउने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘हाम्रो पानी प्रणालीमा सदियौँदेखि रैथाने माछाहरूसहितको पारिस्थितिकीय प्रणाली छ । जसले पानीमा हुने अरू जलचर, वनस्पतिसँगै पानीको गुणस्तर कायम राख्न पनि भूमिका खेलिरहेका छन् । तर जब मिचाहा प्रजाति प्रवेश गर्छ यसले रैथाने माछासँगै त्यहाँको पारिस्थितिकीय प्रणाली पनि जोखिममा पार्छ ।’
जलवायु परिवर्तनले मिचाहालाई सहज
जलवायु परिवर्तनका कारण रैथाने माछामा समस्या बढिरहेको छ । तर मिचाहा यसैमा रमाएको देखिन्छ । पानीको तापक्रम, अक्सिजनको मात्रा लगायतले रैथाने माछालाई समस्यामा पारे पनि मिचाहा माछा भने त्यस्ता परिवर्तनमा पनि बाँच्न र फैलन सक्ने देखिएको साह बताउनुहुन्छ ।
साह भन्नुहुन्छ, ‘तापक्रम बढी हुँदा पनि मिचाहाको प्रजनन तथा वृद्धिमा असर परेको पाइँदैन । तर रैथानेलाई समस्या छ । यस्तै तापक्रम बढ्दा आहारामा पनि परिवर्तन आउँछ । मिचाहा प्रजाति अरू माछासँगै पानीमा पाइने सबै किसिमका खाना खाने हुँदा उसलाई सजिलो छ ।’
माछाबारे अध्ययन गर्नुभएका कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनका उपप्राध्यापक राहुल रञ्जन पनि जलवायु परिवर्तनले रैथाने माछामा सङ्कट ल्याइरहेको बताउनुहुन्छ । यही मौकामा मिचाहा माछा फैलने क्रम तीव्र बन्ने उहाँको भनाइ छ ।
मिचाहा रोक्न आवश्यक
विशेषगरी दुई किसिमबाट मिचाहा प्रजाति हाम्रो प्राकृतिक पानी प्रणालीमा भित्रने गरेका छन् । एउटा प्राकृतिक बाटो हो । छिमेकी देशहरूमा मिचाहा प्रजाति फैलिएकाले त्यहाँबाट प्राकृतिक बाटोबाटै नेपालमा आउने गरेका छन् । यसलाई रोक्न कठिन छ ।
अर्को विभिन्न माध्यमबाट मानिसले नै नेपालमा ल्याएका माछालाई प्राकृतिक पानीमा छाड्नु हाे । विदेशबाट व्यावसायिक पालन र सजावटका लागि माछा ल्याउने गरिन्छ । ती दुवैथरी माछा मानिसकै कारण प्राकृतिक पानीमा पुग्छन् । यसरी माछालाई प्राकृतिक पानी प्रणालीमा पुर्याउनबाट रोक्न जनचेतना अभिवृद्धिसँगै कानूनी व्यवस्था पनि गर्नुपर्ने साह बताउनुहुन्छ ।
कतिपयले सजावटका लागि घरमा पालेका माछा पानीमा छाडिदिन्छन् । त्यसरी छाड्न दिन हुँदैन । कतिपयले धार्मिक विश्वासमा नदीमा माछा छाड्ने गरेको पाइएको छ । त्यसरी छाड्नेहरूलाई रैथाने प्रजातिकै माछा छाड्न प्रेरित गर्नुपर्छ ।
यस्तै कतिपय अनुसन्धान केन्द्र तथा व्यावसायिक पोखरीहरूबाट पनि भुलवश वा जानीजानी प्राकृतिक नदी प्रणालीमा माछा छाड्ने गरेको पाइएको साह बताउनुहुन्छ ।
नेपालमा १६ प्रजातिका विदेशी माछा
नेपालमा पाइने दुई सय ५२ प्रजातिका माछामध्ये दुई सय ३६ प्रजाति रैथाने हुन् । १६ वटा आयातित प्रजातिमध्ये विकासे माँगुर, सरक फिस, टिलापिया, क्याटफिश, सिसा माछालगायत अति मिचाहा रहेका मत्स्य वैज्ञानिक एवम् राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्र गोदावरी ललितपुरकी प्रमुख उमिता साह बताउनुहुन्छ ।
आयातित माछाबारेमा विस्तृत अध्ययन भएको पाइँदैन । वनस्पतिमा वनमाराले जस्तै मिचाहा माछाहरूले रैथाने माछालाई सङ्कटमा पारिरहेका छन् । मिचाहाका कारण रैथाने प्रजातिहरूको महत्त्व थाहा हुनुअघि नै लोप हुने खतरा रहेको मत्स्य विज्ञ एवम् उपप्राध्यापक राहुल रञ्जन बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।