मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै, पर्यटन बोर्डले ‘आक्रामक बजारीकरण’ गर्ने

 असोज ३, २०८१ बिहीबार १२:०:५१ | रासस
unn.prixa.net

ढोरपाटन शिकार आरक्षमा पर्ने बुकीपाटनबाट देखिएको भेडाका बथान र पुथा हिमाल । तस्वीर : डम्मर बुढामगर/रासस

काठमाण्डाै – अब मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमशृङ्खला टल्किन थालेका छन् । दशैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ । मुख्य पर्यटकीय मौसम पनि शुरू भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहलपहल बढ्दै छ । मौसम खुलेसँगै सङ्घीय राजधानी काठमाण्डाै उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । उपत्यकाका डाँडा र उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खलाले शरद् ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ । यस्तो अवस्थामा अब पर्यटन क्षेत्र थप चलायमान बन्दै जाने व्यवसायीको विश्वास छ ।

मौसम खुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो मौसममा आन्तरिक पर्यटन एकदमै राम्रो छ, चाडपर्वसँगै बिदा मनाउनेहरू गन्तव्यमा निस्किएका छन् । अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।’

हानकाअनुसार अहिलेको अवस्थामा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार बनिसकेका छन् । तारे होटल र चेन होटल धमाधम थपिँदैछन् । शरद् ऋतु पदयात्राका लागि पनि उपयुक्त मौसम हो । अन्नपूर्ण, लाङटाङ, खुम्बु, मुस्ताङ, मनाङ, खप्तडलगायत गन्तव्यमा पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक निस्कन्छन् । यही सिजनमा मनास्लुलगायत हिमालको आरोहणमा आरोहीको आकर्षण हुन्छ ।

पर्यटकीय सिजन शुरू भएको र महत्त्वपूर्ण चाडपर्व नजिकिएकाले पर्यटन चलायमान बन्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताउनुभयो । ‘मौसम पनि पर्यटनमैत्री बन्दैछ, पर्यटकीय सिजन पनि शुरू भएकाले यो क्षेत्र चलायमान बन्दै गएको देखिन्छ’, उहाँले भन्नुभयो, ‘अब पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर नीतिगत सुधार र प्रवर्द्धनका कामलाई प्रभावकारी रूपमा अगाडि बढाइने छ । त्यसले पनि व्यवसायीमा थप उत्साह थप्ने विश्वास लिएका छौँ ।’

बोर्डले विदेशी पर्यटक आगमन बढोत्तरीका लागि अन्तर्राष्ट्रियस्तरमा आक्रामक रूपमा बजारीकरण गर्ने योजना रहेको जनाएको छ । ‘पर्यटक आगमन सुधार गर्न बोर्डले पहिलो प्राथमिकता 'एग्रेसिभ मार्केटिङ प्रमोशन' गर्ने हो, विद्यमान बजार मात्रै नभएर नयाँ–नयाँ गन्तव्य पहिचान गरेर प्रभावकारी बजारीकरण गर्ने योजना छ,’ बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले भन्नुभयो ।

बोर्ड र निजी क्षेत्रको सहकार्यबाट पर्यटकीय गतिविधिलाई चलायमान बनाउन लागिपर्ने उहाँले उल्लेख गर्नुभयो ।

जोशीले पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रम बनाइरहेको जानकारी दिनुभयो । होटललगायत पर्यटकीय पूर्वाधारमा ठूलो लगानी रहेको र पर्यटक आगमनमा झिनो सुधार भएकाले सन् २०२४ मा कोभिड महामारीअघिको पर्यटक आगमन अवस्थामा पुर्‍याउन लागिपर्ने उहाँले बताउनुभयो ।

हानका अध्यक्ष शाहले अहिले होटल बुकिङ राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटकीय सिजन भएकाले बुकिङ र पर्यटकको चासो राम्रो छ । पर्यटकीय पूर्वाधार, गन्तव्य प्रवर्द्धनका साथै हवाई तथा सडक यातायातलाई चुस्त र प्रभावकारी बनाउन सकिएमा आउँदा दिनमा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।’

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले पर्यटकीय सिजन शुरू भएकाले पर्यटन क्षेत्रमा चहलपहल बढेको बताउनुभयो । ‘सिजन शुरू भएको छ, ट्राभलका लागि बुकिङ बढेको छ, यसले व्यवसायीलाई उत्साहित बनाएको छ’, उहाँले भन्नुभयो, ‘पर्यटक बढाउन हवाई सेवालाई सर्वसुलभ बनाउँदै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई सबलीकरण गरेको खण्डमा पर्यटक बढ्ने छन् ।’

सरकारले चालू आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । बोर्डकाअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

मौसम खुलेकाले धुलिखेल, नगरकोट, चन्द्रागिरि हिल्स, जरसिङ्ह पौवा, सुन्दरीजल, शिवपुरी, चोभारलगायत गन्तव्यमा पर्यटकीय चहलपहल बढेको व्यवसायीले बताएका छन् । होटल व्यवसायी दिनेश बस्नेतकाअनुसार उपत्यकाका तीर्थस्थल, धार्मिक तथा पुरातात्त्विक क्षेत्रमा घुम्नेको पनि भीडभाड देखिन्छ । पशुपति क्षेत्र, स्वयम्भू, चाँगुनारायण, दक्षिणकालीलगायत धार्मिक स्थलमा तीर्थालु भक्तजनको घुइँचो लागेको छ । त्यस्तै प्रमुख पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढेका छन् ।

त्यसो त यो सिजन पदयात्रा र पर्वतारोहणका लागि पनि उपयुक्त हो । यतिखेर उल्लेख्य सङ्ख्यामा पर्यटक गन्तव्यतिर निस्केका छन् । मौसमले साथ दिएकाले पर्वतारोहण र पदयात्रा सहज भएको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाकाअनुसार मनास्लु आरोहणका लागि अहिलेसम्म २८ आरोही समूहका तीन सय आठ जना आरोहीले अनुमति लिएका छन् । मकालु र धौलागिरीमा समान एक आरोही समूहले अनुमति लिएका छन् भने अन्य हिमाल तथा चुली आरोहणमा अझै आरोहीले धमाधम अनुमति लिइरहेका छन् । सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन बाहिरिने सङ्घारमा रहेको बताउनुभयो । नेपालमा सरदर १३ जुनमा मनसुन शुरू हुन्छ । अक्टोबर २ देखि मनसुन बाहिरिन्छ । यस वर्ष भने १० जुन अर्थात् सरदर तीन दिनअघि नै मनसुनी वायु प्रवेश गरेको थियो ।

मौसमले साथ दिएकाले अहिले पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले बताउनुभयो । ‘पर्यटकीय चहलपहल राम्रै बढेको छ, बीचमा मौसमले केही समस्या आए पनि पछिल्ला दिनमा मौसम सफा रहेसँगै पर्यटकलाई आवागमन र दृश्यावलोकनलाई सहज तुल्याएको छ’, उहाँले भन्नुभयो ।

मौसम खुलेसँगै हवाई उडान विशेषगरी पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा पनि आकर्षण बढेको छ । अक्टोबर र नोभेम्बर पर्वतीय उडानका लागि राम्रो मानिन्छ । यो सिजनमा धेरै विदेशी घुम्न आउने र हिमशृङ्खला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्ने बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताउनुभयो ।

पर्यटन बोर्डलाई सक्रिय बनाउने तथा दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, राष्ट्रिय ध्वजावाहकको सबलीकरण र अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरण गरेर विदेशी पर्यटक आकर्षण गर्न सके भूकम्प, कोरोना महामारीका समयमा शिथिल बनेको पर्यटन क्षेत्र अब पूर्ण लयमा फर्किने व्यवसायीको विश्वास छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया