उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गर्दै नेपालनेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाएको छ ।
‘विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी २ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौँ’, वार्षिकोत्सव मनाउन हिजाे आयोजना गरिएको कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भन्नुभयाे ।
एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ । फाउन्डेसनको उद्देश्यहरूमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।
एनसेलले बृहत्तर हितको पक्षमा सामाजिक कार्यहरू गरेको उल्लेखनीय ट्र्याक रेकर्ड छ । २०७२ सालको भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियाे । साथै आफ्ना परिवारजन तथा आफ्न्तहरूसँग सम्पर्कमा रहिरहन कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेवा सुविधाहरू निःशुल्क उपलब्ध गराएको थियो ।
कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड रुपैयाँ योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो । गएकाे वर्षकाे जाजरकोट भूकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो र भूकम्प प्रभावित क्षेत्रका १० वटा विद्यालयलाई कक्षाकोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो ।
त्यसैगरी एनसेलले २०७१ सालमा देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरूको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड रुपैयाँ सहयोग प्रदान गराएको थियो ।
१९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आउँदाे ५ वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलहरूमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।
‘एनसेलले टावर राख्ने, मानिसहरूलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन । सीएसआरमा दिगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिम अनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रूपमा स्थापित हुने लक्ष्यसहित अगाडि बढेको कम्पनी पनि हो एनसेल’, जाब्बोरले भन्नुभयाे ।
वार्षिकाेत्सव कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिक्स २०२४ मा नेपालका लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ ।
आफ्नो ब्रान्ड वाचा ‘आज, भोलि सधैँ सँगै’ र एनसेल फाउन्डेसनको शुभारम्भसँगै एनसेलले आफ्नो सामाजिक कार्यको धरातललाई अझै फराकिलो पार्दै समुदायको तल्लो स्तरमा सामाजिक पहलहरूका साथ धेरैभन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको छ ।
एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा भएको छ । यस पहलअन्तर्गत सातै प्रदेशबाट छानिएका १९ वटा सामाजिक कार्य कार्यान्वयन गरिनेछन् र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रूपमा सहयोग प्राप्त गर्नेछन् । गएकाे वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयनमा रहेका छन् ।
सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल) ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा शुरू गरेको थियो । त्यस बेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ ।
‘यो यात्रा हाम्रो ग्राहक, साझेदार, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस विना सम्भव थिएन । यसै साथ र भरोसालाई आउँदा दिनका लागि आत्मसात् गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोर्याउन हामी तत्पर छौँ’, एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोरले भन्नुभयाे ।
नेपालको एक ठूलो करदाताका रूपमा एनसेलले सरकारलाई आफ्नो स्थापना कालदेखि आजसम्म ३२० अर्ब रुपैयाँभन्दा धेरै कर तथा शुल्कहरू बुझाइसकेको छ र नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ ।
सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टुजी, थ्रीजी हुँदै फोरजी सेवा, वायरलेस मोबाइल ब्रोडब्यान्डदेखि प्वाइन्ट टु प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवादेखि क्लाउड र डेटा सेन्टर सेवासहित नेपाली व्यवसायलाई उनीहरूका सञ्चार आवश्यकता पूरा गर्न नवीनतम सेवाहरू प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको छ ।
१९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरू जस्तै– वृक्षरोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्पकाे आयोजना गर्नेछ । साथै एनसेल व्यवस्थापनका उच्चपदस्थ अधिकारी र अन्य कर्मचारीले ग्राहकसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टर र पोइन्ट अफ सेल्सको भ्रमण पनि गर्ने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।