मधेशमा चुलिँदो पानी संकट

 भदौ ५, २०८१ बुधबार १६:२०:१० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

सिरहाको लहान नगरपालिका वडा नम्बर २ मटियरवाकी संगीतादेवी सदायको घर चुरेको फेदीमा छ । उहाँको ६ जनाको परिवार छ । मजदुरी गरेर जिन्दगी चल्छ । केही वर्ष अघिसम्म भोक मेटाउने अन्नको जोहो गर्न समस्या रहेकोमा अहिले तिर्खा मेट्ने पानी जोहो गर्ने समस्या पनि थपिएको छ ।

उहाँ भन्नुहुन्छ, ‘घरमा रहेको चापाकलमा केही वर्ष अघिसम्म सजिलै पानी आउँथ्यो तर अहिले मोटर लगाउँदा पनि आएको छैन, घरभन्दा टाढा रहेको चापाकलबाट पानी निकालेर ल्याउनुपर्छ, अरू काम गर्नुपर्ने समय पानीको जोहो गर्दै बित्छ । चापाकलमा लामो लाइन हुन्छ, चाहिने जति पानी भर्नै पाइँदैन ।’

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ३ का नन्दकिशोर रामको परिवारले पनि पानीको संकट बेहोरिरहेको छ । गाउँका केही बाहेकका चापाकलमा पानी सुकेको छ । पानी आउने चापाकलमा लामो लाइन लाग्छ । तराई क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन चापाकल हो । जेठदेखि शुरू भएको चापाकल सुक्ने समस्या साउनमा विकराल बनेको छ ।
नन्दकिशोर राम भन्नुहुन्छ, ‘पानी संकटको कुरा गरी साध्य छैन, घरको इनारमा फोहोर पानी आउँछ, खानयोग्य पानी आउने चापाकल सुकेको छ । वर्षायाममै पानीको संकट बेहोर्नुपरेको छ ।’

पिउनयोग्य पानी आउन छाड्यो

एक सय फिटभन्दा कम गहिरो चापाकल र इनारमा धेरै ठाउँमा पानी आउँछ । तर त्यो पानी पिउनयोग्य छैन । खानका लागि योग्य पानी आउने गहिरो चापाकलमा पानी नै छैन । पिउनयोग्य पानी आउने गहिरा चापाकल प्रायः सुकेका छन् । मधेश प्रदेशका प्रायः सबै जिल्लामा चापाकलमा पानीको तह घट्ने वा सुक्ने समस्या देखिएको सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ३ का ज्ञानेश्वर मण्डल बताउनुहुन्छ । तराईमा घरायसी प्रयोजन तथा सिँचाइमा जमिनमुनिको पानी प्रयोग हुँदै आएको छ ।

पानीको संकट बढेपछि अघिल्लो वर्षको साउन ६ गते जिल्ला समन्वय समिति पर्सामा बसेको सर्वदलीय बैठकले समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ । पर्साका सांसदहरू प्रदीप यादव र विना जयसवालले पानी संकटबारे संघीय संसद्मा ध्यानाकर्षण गराउनुभएको छ । यी कुराले पनि तराई मधेशमा बढ्दो पानीको संकटबारे थाहा हुन्छ ।

प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा तथा रौतहट जिल्लाका उत्तरी भेगमा खानेपानीको गम्भीर समस्या उत्पन्न भएको छ । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भएका इनार तथा चापाकलहरूमा पानी आउन बन्द भएपछि पानीको ठूलो संकट उत्पन्न भएको हो । धनुषाको पूर्व–पश्चिम राजमार्गमा पाँच/सात वर्षअघि सम्म ५०–६० फिटमा पानीको सतह पाइन्थ्यो । अहिले त्यहाँ सय फिटमा पनि पानी भेट्टाउन मुश्किल हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

चुरे विनाश, उत्खनन र मानवीय चाप

चुरे जलाधार क्षेत्र तराई मधेशको पानीको मुख्य स्रोत हो । जलाधार क्षेत्रबाट आएको बालुवा र गेग्रान तराई क्षेत्रमा थुप्रिनाले मानव बस्ती र कृषियोग्य जमिन मासिँदै गएको छ । अर्कोतर्फ बढ्दो जनसंख्या, अव्यवस्थित शहरीकरण, सिमसार क्षेत्रको संकुचनलगायत कारणले तराई क्षेत्रको जमिनमुनिको पानी घट्दै गएको छ । नदी मुहानमा हुने अत्यधिक दोहन र चुरेको जंगल मासिनुले जमिनमुनिको पानी घटिरहेको छ ।

जलस्रोतविद् अजय दीक्षित जमिनमुनिको पानीको स्रोत रित्तिँदै जानु मधेशका लागि खतराको घण्टी भएको बताउनुहुन्छ । भू–जलस्तरमा ह्रास आएपछि तराईका फाँट सुकेर मरुभूमिमा परिणत हुने अवस्था छ ।  उहाँका अनुसार प्राकृतिक पुनर्भरणभन्दा बढी पानी निकाल्नु, शहरीकरण लगायतका थुप्रै कारणले पानीको सतह घट्नुमा भूमिका खेलिरहेका छन् । पानीको सतह घटबढ हुनुमा चुरे तथा भावर क्षेत्रमा हुने वर्षाको परिमाण, जमिनको सोस्ने क्षमता, गिट्टी–बालुवाको उत्खननको परिणाम र प्रक्रिया लगायतको प्रभाव रहन्छ ।

यस्तै अन्नभण्डार मानिने मधेशमा हिमाल र पहाडबाट बसाइँसराइ गरेर आउने क्रम तीव्र देखिन्छ । बसाइँसराइको क्रमले तराईमा स्रोत, साधनको उपयोगमा चाप परेको छ । जनघनत्व वृद्धिसँगै भौतिक विकासका क्रममा कंक्रिटको संरचना निर्माण तीव्र हुँदा जमिनको पुनर्भरणमा अवरोध बढ्दै गएको पाइन्छ ।

अवैध धन्दा रोकिनुपर्छ : अभियान्ता सुनिल यादव

चुरेमा भइरहेको अत्यधिक दोहनका कारण पानीको संकट बढिरहेको भन्दै चुरे तथा वनजंगल संरक्षण अभियानले त्यसलाई रोक्न माग गरेको छ । अभियानले मधेशबाट २५ दिन पैदल हिँडेर काठमाण्डौको माइतीघर मण्डलामा ७७ दिन प्रदर्शन पनि गर्‍याे । २५ दिनको यात्रा र ७७ दिनको धर्ना गरी एक सय दुई दिने आन्दोलनलाई पनि सरकारले वास्ता नगरेको संयोजक सुनिल यादव बताउनुहुन्छ ।

अभियानले मधेशमा बढ्दो पानीको संकट कम गर्न तीन वटै तहका सरकारले काम गर्नुपर्ने बताएको छ । अभियानकर्मीका अनुसार मधेशमा पानीको संकट बढ्नुमा मानवीय क्रियाकलाप नै जिम्मेवार छन् । संयोजक यादव पुनर्भरणको मुख्य स्रोत चुरे क्षेत्रमा जथाभाबी क्रसर उद्योग सञ्चालनमा रहेका र जंगल विनाश भइरहेको बताउनुहुन्छ ।

बढ्दो शहरीकरणले भूमिगत पानीको स्रोत कम भइरहेको छ । उपभोग भने दिनानुदिन बढिरहेको छ । मधेशको जीवन जोगाउन चुरे क्षेत्रको संरक्षण अपरिहार्य छ भन्ने तथ्य तीनै तहका सरकारले थाहा पाएर पनि नपाएको जस्तो गरिरहेका यादवको गुनासो छ । चुरे जोगाउने अभियान चलाइए पनि यसको दोहनबाट फाइदा लिइरहेकाहरूले सधैँ राजनीतिक संरक्षण पाइरहेका यादव बताउनुहुन्छ ।

चुरे क्षेत्रमा भइरहेको वन विनाश, प्राकृतिक स्रोतको अनियन्त्रित दोहनको असर तराई मधेशमा परिरहेको छ । यसमा जलवायु परिवर्तनको असर समेत थपिँदा पानीको संकट चुलिँदो छ । पछिल्लो दशकमा अत्यधिक खेप्नुपरेको पानीको संकट वर्षेनि बढिरहेकोले अवस्था भयावह बन्दै गएको स्थानीय बासिन्दा बताउँछन् ।

समस्याको पहिचानभन्दा अवसर ठान्नेहरू धेरै भए : चन्द्रकिशोर, वरिष्ठ पत्रकार

वरिष्ठ पत्रकार चन्द्रकिशोर तराईमा बसेर पत्रकारिता गर्नुहुन्छ । तराईका समस्या र त्यसले पार्ने दीर्घकालीन असरका विषयमा विश्लेषण गर्दै आउनुभएका चन्द्रकिशोर त्यहाँ बढ्दै गएको पानीको संकटलाई सामान्य ठान्न नहुने बताउनुहुन्छ । पहिलो कुरा यो समस्यालाई बजारको अवसर नठानी कारण पहिल्याउनुपर्नेमा उहाँको जोड छ । प्रस्तुत छ उहाँसँगको कुराकानीको सम्पादित अंश :

पहिले मानिसलाई लाग्थ्यो पानीको संकट पहाडमा मात्रै हुन्छ । तर पछिल्ला वर्षहरूमा गंगाको मैदानी भू–भाग भनेर चिनिने तराईमा पनि देखिन थालेको छ । पहिले पनि वैशाख, जेठतिर अलिअलि समस्या देखिन्थ्यो तर अहिले जाडोयाममा पनि पानीको संकट देखिन थालेको छ । नदीहरूमा पानीको बहाव कम हुने, इनार पोखरीमा पानीको सतह निकै तल हुने अवस्था आउन थालेको छ । अहिले दैनिक उपयोगमा आउने पानीको मात्रा कम भएको छ । सरकारको खानेपानी संस्थानबाट वितरण हुने पानीमा पनि कमी आएको छ । तराईमा प्रयाेग भइरहेकाे भूमिगत जलको अभाव, अपुग र कमी हुन थालेको छ । भावर क्षेत्रमा पानीको समस्या पहिले पनि थियो । पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरतर्फको भू–भागमा डेढ दशक अघिदेखि नै पानीको संकट देखिएकोमा अहिले दक्षिणतर्फ दशगजाको छेउमा पनि पानीको संकट देखिन थालेको छ । पानीको मात्रा कमी हुन थालेपछि बस्तीहरूमा कोलाहल हुन थालेको छ ।

तराई मधेशमा अहिले देखिएको पानी संकटलाई अवसरका रूपमा लिनेहरू धेरै भए । पानीका विज्ञहरूले आफ्नो दोकान खोलेका छन् । सरकारले बोरिङ गरिरहेको छ वा तत्कालीन संकट टार्न अरू ठाउँबाट किनेर ल्याइरहेको छ । पानीको कारोबार गर्नेहरूले बोतलबन्द पानीको कारोबार शुरू गरे । सबैले यसमा अवसर र बजार हेरिरहेका छन् । तर तत्कालमा यो समस्यालाई सामसुम पारे पनि दीर्घकालमा यो क्षेत्रमा पानीका कारण ठूलो द्वन्द्व हुनेवाला छ । जसको बारेमा पानी विज्ञहरूले पनि अनुमान गर्न सकेका छैनन् । अझ भनौँ– विज्ञहरू दाताको चाहनाअनुसार प्रकट भइरहेका छन् । तराईमा पानीको संकट हुनुका कारण चुरे दोहन हो कि ? चारकोशे झाडी फँडानी भएर हो कि ? जलवायु परिवर्तनका कारण हो कि ? जलाधार क्षेत्रको पारिस्थितिकीय प्रणालीमा आएको फेरबदलका कारण हो कि ? नदीजन्य वस्तुको दोहनका कारण हो कि ? वास्तविकता के हो ? एउटा गाउँमा पानीको संकट धेरै छ तर सँगैको अर्को गाउँमा तुलनात्मक रूपमा कम छ । त्यो किन भइरहेको छ ? कसैसँग तर्क छैन । पहिले यो किन भयो भन्ने कुराको यकिन गर्नुपर्छ । पारम्परिक ज्ञान भएका बुढापाकाहरू के भन्नुहुन्छ भने पहिले परम्परागत पोखरीहरू थिए, इनारहरू थिए, यिनीहरूले जलचक्रलाई सन्तुलनमा राख्थे । २०४६ सालमा प्रजातन्त्र आएर पालिकामा पहिलो पटक चुनाव हुँदासम्म इनार र कुवाहरूको मर्मत भएको छ । त्यसपछि इनार र कुवा मास्ने काम भयो । यही कारण तराईमा पानीको संकट बढ्दै गएको हो ।

पानीको संकटका कारण उत्तरी सीमा क्षेत्र नजिकका बस्तीहरू रित्तिँदै जाँदा हाम्रो सार्वभौमिकतामाथिको प्रश्नहरू छन् । त्यहाँबाट भइरहेको बसाइँसराइका कारण तराईमा जनसंख्याको चाप बढिरहेको छ । अब तराईमा पनि पानीको संकट पर्‍याे भने यो जनसंख्या कहाँ जाने ? जसको बारेमा न त पहाडको राजनीति गर्नेहरूले हेक्का राखेका छन् न त तराईमा राजनीति गर्नेहरूले । सबै तत्कालीन सामसुममा लागेका छन् । अर्को कुरा– सबैसँग समाधानको उपाय नै छैन । दिगो रूपमा समस्या के हो ? समस्या किन देखिएको छ र यसको समाधान के हुन सक्छ ? कसैलाई मतलब छैन । यसमा सबैभन्दा बढी दोषी नेपालको नीति निर्माणमा प्रभाव पार्न सक्ने पानीका विज्ञहरू हुन् । उनीहरूले दातालाई खुशी पार्नेभन्दा पनि यथार्थ कुरा गरेर नीति निर्माण गर्नेहरूलाई झकझकाउने वा बाटो देखाउने काम गर्नुपर्छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया