जुलाई महिनामा भारतमा औसतमा ९ प्रतिशत धेरै वर्षा

 साउन १७, २०८१ बिहीबार १५:१५:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

हिजो सकिएको जुलाई महिनामा भारतमा औसतमा ९ प्रतिशत धेरै वर्षा भएको छ । कतै कतै सुक्खा र कतै कतै निकै ठूलो वर्षा हुँदा देशभर औसतमा ९ प्रतिशत धेरै पानी परेकाे समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस पटक भारतमा औसत समयभन्दा चाँडै मनसुन शुरू भएकाले देशभर वर्षा भएको थियो । यस पटकको मनसुनमा भारतका मध्य र दक्षिणी राज्यहरूमा निकै धेरै वर्षा भएको मौसम विभागको तथ्याङ्कले देखाएको छ ।

भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार जुलाई महिनामा देशको दक्षिणी र मध्य क्षेत्रमा औसतभन्दा झन्डै एक तिहाइ धेरै वर्षा भएको छ भने पूर्वी र उत्तर–पूर्वी क्षेत्रमा २३ दशमलव ३ प्रतिशत कम वर्षा भएको छ । यस्तै उत्तर–पश्चिमी भागमा औसतभन्दा १४ दशमलव ३ प्रतिशत कम वर्षा भएको छ ।

भारतमा जुन १ को आसपास दक्षिणी क्षेत्रबाट शुरू हुने मनसुन जुलाई ८ तारिखसम्म देशव्यापी रूपमा फैलिन्छ । भारतमा वर्षभरिमा हुने कुल वर्षाको ७० प्रतिशत वर्षा मनसुनमै हुने गरेको छ ।

भारतको अर्थतन्त्र पनि मनसुनमै निर्भर रहेकाले कति पानी पर्‍याे भन्ने विषयले भारतीय अर्थतन्त्रसँग पनि प्रत्यक्ष सम्बन्ध राखेको हुन्छ । सिँचाइ र विभिन्न प्रयोजनका लागि जलाशय र जलभण्डारको पुनर्भरणका लागि पनि भारत मनसुनमै निर्भर रहेको छ । विश्वको दोस्रो ठूलो धान, गहुँ र चिनी उत्पादकको रूपमा रहेको भारतमा सिँचाइको सुविधा गतिलो नहुँदा लगभग आधा कृषि भूमि मनसुनी वर्षामा निर्भर हुने गरेको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया