हमासका प्रमुख नेताकाे इरानमा हत्या भएपछि मध्यपूर्वमा तनावको सम्भावना

 साउन १६, २०८१ बुधबार १८:३०:८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे, एजेन्सी

प्यालेस्टाइनको विद्रोही समूह हमासका प्रमुख नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएपछि मध्यपूर्वमा तनावको डर बढेको छ । मध्यपूर्वका धेरैजसो देशले यो हत्याले तनाव झनै बढ्ने चेतावनी दिइसकेका छन् ।

इजरायली सेनाले पछिल्लो समय हमासका नेतालाई लक्षित गरी आक्रमण गरिरहेकाले हानियाको हत्या पनि इजरायलले नै गरेको हुनसक्ने चौतर्फी शङ्का रहेको छ । तर इजरायलले भने औपचारिक प्रतिक्रिया दिएको छैन । हानियाका छोरा र नातिनातिनीलाई पनि इजरायलले यसअघि नै मारिसकेको छ ।

बीबीसीका अनुसार इजरायलले हमासका नेता हानियालाई यसअघि नै हत्या गर्न खोजेको थियो तर उनी कतारमा रहेकाले त्यहाँ हत्या गर्न सम्भव थिएन । त्यसैले हिजो इरानमा रहेको मौकामा मिसाइल प्रहार गरेर हत्या भएको हुन सक्ने जनाइएको छ । यस्तै पटक–पटक इरानमा आक्रमण गर्दै विभिन्न व्यक्तिको हत्या गरेर इजरायलले आफूविरुद्ध लाग्नेहरू कतै पनि सुरक्षित छैनन् भन्ने सन्देश दिएको खबरमा उल्लेख छ ।

हानिया इजरायलसँगको युद्धविराम र बन्धक रिहाइको वार्तामा संलग्न थिए, उनै हानियाको हत्या भएकाले अब इजरायल र हमासबीच वार्ता कसरी हुन्छ भनेर कतारले प्रश्न सोधेको छ । जोर्डनले हमासका नेताको हत्यालाई कडा शब्दमा निन्दा गर्दै यो घटनाले मध्यपूर्वमा थप तनाव र अराजकता निम्त्याउने बताएको छ । लेबनानले पनि घटनाको निन्दा गर्दै यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ ।

यस्तै आज मात्रै शपथ लिएका इरानका राष्ट्रपति मसूद पेजेस्कीयनले हानियाको हत्या गर्नेहरू पछुताउनुपर्ने चेतावनी दिनुभएको छ । उहाँले हानियाको रगतलाई कहिल्यै खेर जान नदिने पनि बताउनुभएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामिनीले पनि हानियाको हत्याको बदला लिनु तेहरानको कर्तव्य भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया