नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
महेश ज्ञवाली
काठमाण्डौ – दैलेखको गुराँस गाउँपालिकाका ३६ वर्षीय तीर्थबहादुर विकलाई खेतीकिसानी र मजदुरीले परिवार चलाउन धौधौ हुन थाल्यो । अरू विदेश गएको देखेपछि आफूलाई पनि विदेश जान पाए हुन्थ्यो जस्तो लाग्यो । बिस्तारै विदेशमा काम गर्ने, नयाँ संस्कृति अनुभव गर्ने र राम्रो जीवनयापन गर्ने रहर बलियो बन्दै गयो । नाै वर्षअघि उहाँ धेरै पैसा कमाउने निधो गरेर वैदेशिक रोजगारीमा जान परिवारसँग बिदा मागेर काठमाण्डौ छिर्नुभयो । काठमाण्डौ आएपछि साथीले चिनेको मेनपावरसँग सम्पर्क गरिदिए । सिकर्मीको काममा मलेसिया जाने निर्णय भयो । पहिले पनि गाउँघरमा सिकर्मी काम गरेकोले तीर्थबहादुरलाई मलेसियामा त्यही काम गर्ने त होला नि भनेर थप सीप सिक्नुपर्छ जस्तो लागेन । त्यसपछि दुई लाख रुपैयाँ ऋण खोजेर मलेसिया पुग्नुभयो ।
मलेसियाको एउटा निर्माण कम्पनीमा काम पाउनुभयो । नयाँ ठाउँ भएकाले शुरुमा काम गर्ने जोश जाँगर र बेग्लै ऊर्जा थियो । तर सीप नभएको भन्दै उहाँलाई सिकर्मीको काम गर्न दिइएन । सिकर्मीको काम भनेर मलेसिया गएको उहाँले लेबरको काम गर्नुपर्यो । दुःख गरेर विदेश गएकाले कठिनाइको सामना गर्दै निरन्तर काम गरिरहनुभयो । तर बिस्तारै काम अप्ठेरो हुन थाल्यो । नेपालमा सामान्य औजारको भरमा काम गरेको अनुभव काम लागेन । मलेसियामा नयाँ मेशिन र औजारको प्रयोग गर्न गाह्रो भयो । सीपको कमीले कम्पनी मालिकबाट दुर्व्यवहार र पिटाइसमेत खानुपर्यो ।
कम्पनीको कार्यशैलीबारे आफू गएको मेनपावरलाई गुनासो गरे पनि कुनै वास्ता गरेनन् । 'दैनिक आठ घण्टा काम गरे पनि मासिक पाँच सय चार रिङ्गिट अर्थात् उति बेलाको नेपाली १५ हजार रुपैयाँ तलब मिल्थ्यो । १२ घण्टा काम गरे पनि उति नै तलब मिल्थ्यो, जुन नेपाल छोड्दा मैले पाउनुपर्ने तलबभन्दा निकै कम थियो', तीर्थबहादुरले भन्नुभयो, 'यति न्यून पारिश्रमिकले विदेश आउनका लागि लिएको दुई लाख रुपैयाँ ऋण तिर्न पनि सकिनँ । अन्ततः सीपको कमी, कम्पनी मालिकको शोषण र अनुचित व्यवहारले एक वर्षमै कम्पनी छोडेर भागेँ ।'
नेपाल फर्केर तीर्थले पहिले गरेकै सिकर्मीको काम गर्न थाल्नुभयो । शुरुमा यही काम गरेर कमाएको पैसा आफ्नो परिवारको आवश्यकताका लागि पर्याप्त थियो । तर दुई छोरा र छोरी ठूला हुँदै गएपछि उनीहरूको पढाइ र घरायसी खर्च जुटाउने आर्थिक तनाव धेरै भयो । यसले तीर्थलाई फेरि एकपटक वैदेशिक रोजगारीका लागि कुवेत जाने कठिन निर्णय गर्न बाध्य बनायो । तर यसपालि भने पहिले जस्तो दुःख नहोस् भनेर सीप सिकेरै विदेश जाने निर्णय लिनुभयो । उहाँले विदेशमा काम गर्ने आफन्तको सल्लाहमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले प्रदान गरेको निःशुल्क सीप तालिम कार्यक्रममा भर्ना भएर सीप सिक्नुभयो । भक्तपुरको मल्टिस्किल ट्रेनिङ इन्स्टिच्युटमा ३० दिने स्क्याफोल्डिङ (फलामको खट बाँध्नेसम्बन्धी) तालिमले उहाँलाई प्राविधिक सीप मात्रै नभई आफू जान लागेको ठाउँको भाषा, नियम र सांस्कृतिक मान्यताका बारेमा पनि ज्ञान दिएको छ । यो तालिमले उहाँको आत्मविश्वासलाई निकै बढाएको छ ।
सीप सिकेर वैदेशिक रोजगारीमा जाँदा पैसासँगै पद पनि बढ्यो
इलामको माई नगरपालिकाका अर्जुन मगर वैदेशिक रोजगारीबाट बिदा लिएर नेपाल फर्किनुभएको थियो । साउदी अरबमा दुई वर्ष काम गरेपछि उहाँ तीन महिनाको बिदामा स्वदेश फर्किनुभएको थियो । स्वदेशमै बसेर राम्रो कमाइ होलाजस्तो नलागेकाले विदेशै जाने हो भन्ने उहाँको सोचाइ थियो । वैदेशिक रोजगारीमा जानुभन्दा पहिले उहाँसँग केही सीप थिएन । आवश्यक सीपविनाको कठिनाइबारे उहाँ सचेत हुनुहुन्थ्यो । दाजुभाइको सल्लाह सुनेर उहाँ सीप सिक्न काठमाण्डौ आउनुभयो । काठमाण्डौ आएर उहाँले अझै धेरै कुरा बुझ्ने मौका पाउनुभयो । त्यसै क्रममा सामीले दिएको निःशुल्क तालिमबारे थाहा पाउनुभयो र सामीको सीप तालिम प्रदायक संस्था सुसन ट्रेनिङ सेन्टरबाट स्क्याफोल्डिङ सीप सिक्नुभयो ।
'मेरो सीप प्रशिक्षण कामको बारेमा मात्र थिएन । यसले मैले काम गरिरहेको देशको राम्रोसँग परिचय गरायो । तालिममा मैले साउदीको कानुनी, सांस्कृतिक मान्यता, विदेशी शिष्टाचार र खानपानको बारेमा बुझ्ने माैका पाएँ । सम्मान र सामान्य अभ्यासहरू तालिममै सिकेँ जसले मलाई कार्यस्थलबाहिरको जीवनको समेत जानकारी दिलायो', अर्जुनले भन्नुभयाे । अर्जुनले आफ्नो सीप विदेशमा निकै मूल्यवान् भएको पाउनुभयो । नेपालमा स्क्याफोल्डिङ सिकेको प्रमाणपत्रले उहाँले साउदी अरबमा त्यही काम पाउनुभयो । तर यी सीपकाे अभावका कारण अरू धेरै कामदारले कामै नपाउने र काम पाएकाले पनि धेरै सङ्घर्ष गर्नुपरेको उहाँले बताउनुभयो । 'सीप नसिकेका अरू धेरै श्रमिकले लेबरको काम गर्थे । मैले त्यो गर्नु परेन । सीप सिक्दा प्रयोग गरेको औजार र विदेशमा काम गर्दा प्रयोग हुने औजार उस्तै हुने रहेछ । यता सिकेको कुरा उहाँ सबै मिल्ने रहेछ,' उहाँले भन्नुभयो ।
साउदीमा एक हजार रियाल अर्थात् नेपाली झन्डै २२ हजार रुपैयाँ मासिक तलबमा सम्झौता भएको थियो । सम्झौता गरेअनुसारको तलब पनि पाउनुभयो । 'सीप सिकेकै कारण तीन महिनामै मेरो बढुवा भएर ग्रुप लिडर बनेँ । तलब पनि तीन सय रियाल बढेर मासिक १३ सय रियाल पुग्यो', उहाँले सुनाउनुभयो । धेरैले वैदेशिक रोजगारीलाई कम समयमा धेरै पैसा कमाउने मार्गको रूपमा हेर्छन् । यद्यपि तयारीको कमीले कठिनाइ, शोषण र अन्ततः निराशा निम्त्याउन सक्छ । वैदेशिक रोजगारी जीवन परिवर्तन गर्ने अनुभव हुन सक्छ तर यसका लागि तयारी चाहिन्छ । त्यसैले पहिले नै सीप सिकेर जाँदा विदेशमा गएर काम गर्न सजिलो हुन्छ । अर्जुनको अनुभवले पनि यही भन्छ ।
'वैदेशिक रोजगारीमा अप्ठेरो नहोस् भनेर सीप सिकेँ'
विश्व श्रम बजारमा आतिथ्यको क्षेत्रमा पनि दक्ष जनशक्तिको माग बढ्दो छ । हाउस किपिङ, क्लिनरको क्षेत्रमा पाइला राख्न उत्सुक हुनेलाई अवसर पनि प्रशस्तै छ । साथै गार्मेन्ट क्षेत्रमा पनि धेरै युवाको अकर्षण बढ्दो छ । सजिलो र राम्रो कमाइ हुने भएकाले यी क्षेत्रमा सीप सिकेर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पनि बढेको छ ।
यस्तैमध्येकी एक हुनुहुन्छ कैलालीकाे लम्कीचुहा नगरपालिकाकी आरतीकुमारी थारु । आर्थिक कठिनाइका कारण आरतीले वैदेशिक राेजगारीका लागि जोर्डन जाने निर्णय गर्नुभयो । तर सीप नसिकी दुबईमा क्लिनरको रूपमा गएकी दिदीको सङ्घर्ष देखेपछि आरतीले कामका लागि विदेश जानुअघि योग्यता हासिल गर्नुको महत्त्व बुझ्नुभयो । कैलालीकै इलाका प्रशासन कार्यालयमा राहदानी (पासपोर्ट) बनाउन जाँदा त्यहाँ आप्रवासी स्रोत उप–केन्द्रका परामर्शकर्ताले पनि विदेश जानु पहिले सीप सिकेर जानु भनेर सल्लाह दिए र तालिमका लागि सिफारिश गरे ।
त्यसैअनुसार आरतीले गार्मेट मेशिन अपरेटरको ३० दिने तालिम लिनुभयो । दक्ष भएर मात्रै विदेश जाने उहाँको योजना छ । आरतीले आफ्नो सीप बढाउन सामीसँग ३० दिने गार्मेन्ट मेशिन अपरेटरको तालिम लिनुभएको छ । 'जोर्डनमा रहेकी दिदीले पनि सीप सिकेर जाँदा सजिलो हुन्छ भन्नुभयो । सामी कार्यक्रमको सीप तालिम प्रदायक सुवर्ण मल्टिपल ट्रेनिङ सेन्टरमा ३० दिने सीप सिकेँ । ट्रेनिङ पनि दक्ष प्रशिक्षकले दिनुभएकोले बाहिर गएर अप्ठ्यारो नहोला जस्तो लाग्छ । तालिममा जीवन उपयोगी सीप पनि सिकेकी छु', उहाँले भन्नुभयो ।
सबैलाई सीपसँग जोड्दै पालिका
देशभरका पालिकाले नागरिकलाई दक्ष, आत्मनिर्भर तथा उद्यमी बनाउन समयसमयमा विभिन्न सीप विकास कार्यक्रम गरिरहेका हुन्छन् । यसमा आधारभूत सीप विकास, सीप अभिवृद्धि र व्यवसाय शुरु गर्ने जस्ता विभिन्न प्रशिक्षण अवसर समावेश छन् । यी तालिमले निर्माण, कृषि, सेवा, कला, पर्यटन, परम्परागत शिल्प, खाद्य प्रशोधन र सूचना प्रविधि जस्ता क्षेत्र समेट्न सक्छन् । विभिन्न पालिकाले गर्ने यस्ता कार्यक्रमले श्रमिक र रोजगारदाताबीचको खाडल कम गर्ने लक्ष्य राखेका हुन्छन् । धेरै पालिकाले सीप विकास कार्यक्रम सञ्चालन गरी नागरिकलाई सशक्तीकरण गर्न सक्रिय भूमिका खेलिरहेका छन् । यी कार्यक्रममा आधारभूत सीप विकासदेखि लिएर सीप अभिवृद्धि वा व्यवसाय शुरु गर्नका विभिन्न प्रकारका प्रशिक्षण अवसर समावेश छन् ।
संविधानले पनि पालिकालाई आफ्नो समुदायभित्र रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने र कार्यक्रम सञ्चालन गर्ने अधिकार दिएको छ । अन्तर्राष्ट्रिय श्रम बजारमा पनि दक्ष जनशक्तिको माग उत्तिकै भएकाले पालिकास्तरका कार्यक्रम पनि वैदेशिक रोजगारीमा जान चाहनेका लागि उपयोगी हुने गरेका छन् । अरू पालिका जस्तै बाराको सिम्रौनगढ नगरपालिकाले पनि नागरिकलाई समयसमयमा विभिन्न सीप विकास तालिम दिने गरेको छ ।
सिम्राैनगढकी मेयर किशोरी साह कलवारका अनुसार पालिकामा हुने सीप विकास कार्यक्रममा युवाको आकर्षण बढी देखिएको छ । नागरिकको आवश्यकतालाई ध्यानमा राखेर पालिकाले बेलाबेला निःशुल्क सीप सिकाउने गर्छ । सिकर्मी, प्लम्बर र मेकानिकलसँगै, सिलाइकटाइ सिक्नेको सङ्ख्या पनि धेरै देखिन्छ । साथै पालिकाले स्थानीय तथा युवाको आवश्यकताअनुसार अन्तर्राष्ट्रिय श्रम बजारको मागलाई ध्यान दिएर उच्च माग भएका क्षेत्रमा निःशुल्क तालिम उपलब्ध गराएर नागरिकलाई रोजगार बजारमा प्रतिस्पर्धा गर्न आत्मविश्वास र योग्यता दिन खोजेको मेयर किशोरी साहले बताउनुभयो ।
३८ जिल्लामा आप्रवासी स्रोत केन्द्र
वैदेशिक रोजगारीमा अवसर खोज्ने नेपालीलाई अझ राम्रोसँग सहयोग गर्न सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले देशका ३८ जिल्लाका एक सय ५६ वटा पालिकामा काम गर्दै आएको छ । देशभरिबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने ३८ जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण गर्ने इलाका प्रशासनमा आप्रवासी स्रोत केन्द्र/उप–केन्द्र सञ्चालनमा छन् । यी केन्द्रले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई निःशुल्क परामर्श दिन्छन् । राहदानी बनाउन आएका र मुख्यगरी वैदेशिक रोजगारीमा जान चाहनेलाई परामर्शकर्ताले वैदेशिक रोजगारीमा जाँदा सीप सिकेर जानुपर्ने लगायतका विषयमा सरसल्लाह दिन्छन् । अझ महत्त्वपूर्ण कुरा, उनीहरूलाई अन्तर्राष्ट्रिय रोजगार बजारमा सबैभन्दा बढी माग भएका सीप सिक्न उत्प्रेरित गर्छन् ।
धेरै जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि परामर्श दिने काम गर्दै आएको छ । हेटौँडामा रहेको जिल्ला प्रशासन कार्यालयको कोठा नम्बर एक सय एकमा आप्रवासी स्रोत केन्द्र रहेको छ । कार्यालय समयमा परामर्शकर्ताले जिल्लाभरिबाट राहदानी बनाउन आएकालाई निःशुल्क परामर्श दिने गर्छन् । समस्यामा परेका वैदेशिक रोजगारीसँग सम्बन्धित व्यक्ति तथा तिनका परिवारका सदस्यलाई आवश्यकताअनुसार सहयोग गर्छन् ।
राहदानीको आवेदन दिने क्रममा सेवाग्राही राजस्व तिर्न बैंकमा जानुपर्छ । बैंक नजिकै आप्रवासी स्रोत केन्द्र छ । बैंकका कर्मचारीले सोधपुछ गरेर एक सय एक नम्बर कोठामा पठाइदिन्छन् ।
आप्रवासी स्रोत केन्द्रमा आएका सेवाग्राहीको आवश्यकता र उद्देश्य सोधेपछि मात्रै वैदेशिक रोजगारीमा जानका लागि कसरी इच्छा जाग्यो भन्ने कुराको जानकारी लिइन्छ । 'त्यसपछि वैदेशिक रोजगारीमा जानेलाई विभिन्न विषयको बारेमा परामर्श दिन्छौँ', आप्रवासी स्रोत केन्द्र हेटौँडाका सूचना तथा परामर्शकर्ता पार्वती विकले भन्नुभयो । उहाँका अनुसार राहदानी बनाउन आएका कतिपयलाई त सीप सिकेर विदेश जानुपर्छ भन्ने कुरा नै थाहा हुँदैन । वैदेशिक रोजगारीमा जाँदा सूचना राम्रोसँग थाहा नपाएर, प्रक्रिया नमिलेर, काम गर्ने ठाउँको बारेमा जानकारी थाहा नभएर, सीप नसिकेर दुःख पाएका पनि धेरै आउँछन् । त्यस्ता व्यक्तिको विवरण सङ्कलन गरेर सीप सिकाउने निकायसँग जोडिदिने गरिन्छ ।
राहदानी बनाउन गएकालाई वैदेशिक रोजगारीमा जानुभन्दा पहिले सीप सिक्नुपर्छ, सीप सिकेर जाँदा सुरक्षित र विदेशको काम अझै बढी फलदायी हुन सक्छ भन्ने लगायतका जानकारी दिने गरेको आप्रवासी स्रोत केन्द्र हेटौँडाका सूचना तथा परामर्शकर्ता पार्वती विकले बताउनुभयो ।
वैदेशिक रोजगारीमा सीप नसिकी जाँदा दुःख पाउने समस्या विकराल बन्दैछ । पछिल्लो समय त वैदेशिक रोजगारीमा गएर दुःख पाएको भन्ने खबर सामाजिक सञ्जालमा पनि छ्यापछ्यापती देखिन्छ । वैदेशिक रोजगारीमा दुःख पाएको गुनासोको सङ्ख्या पनि बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय गोरखामा पनि यस्ता समस्या लिएर धेरै नागरिक आउने गरेका छन् । 'विशेषगरी वैदेशिक रोजगारीमा सीप नसिकी जाँदा धेरैले दुःख पाएको गुनासो आयो । त्यसैले कार्यालयको एक सय १५ नम्बर कोठामा परामर्श केन्द्र स्थापना गरेका छौँ', जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी चुडानिधि तिवारीले भन्नुभयो, 'सीप सिकेर विदेश जाँदा सजिलो हुन्छ भनेर परामर्श दिने गरेका छौँ । समस्यामा परेको धेरै उदाहरण छन् । समस्या परेकालाई एक सय १५ नम्बरको कोठामा पठाउँछौँ ।' उहाँका अनुसार जिल्लामा अरू बेला पनि सीप सिकाउने कार्यक्रम भइरहेका छन्, राहदानी बनाउन आउने जोकोहीलाई दिने गरिन्छ । अहिले सीप सिकेर मात्रै विदेश जानुपर्छ भन्ने कुरा जानकारी भएका धेरै आउन थालेका पनि उहाँले बताउनुभयो ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । सामीअन्तर्गत धेरै पालिकामा वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई रिटर्नी स्वयंसेवकको रूपमा परिचालन गरिएको हुन्छ । जसले आफ्नो क्षेत्रमा घरघरमा गई वैदेशिक रोजगारी र सीपसम्बन्धी सूचना दिन्छन् । सामी कार्यक्रमले कार्यान्वयनको विभिन्न चरणमा नेपालीको प्रमुख श्रम गन्तव्य देशमा माग भएका विभिन्न विषयमा तालिम सञ्चालन गर्यो । कार्यक्रमले यसका लागि विभिन्न समयमा तालिम प्रदायक संस्था खरिद गरेर काम गरेको छ ।
त्यसैमध्येको एक हो बुटवल उपमहानगरपालिकामा रहेको जयन टेक्निकल कलेज अफ टेक्नोलोजी । यो संस्थानले तीन वर्ष निरन्तर सामीसँग साझेदारी गर्यो र वैदेशिक रोजगारीमा जानेलाई औद्योगिक इलेक्ट्रिशियनको तालिम दियो । निर्माण क्षेत्रमा बढी प्राथमिकता र यसै क्षेत्रमा लामो समयको अनुभव भएकाले सामीसँग औद्योगिक इलेक्ट्रिशियनका लागि सहकार्य भयो । स्वदेशसँगै विदेशमा पनि दक्ष कामदारको राम्रो माग छ । त्यसैले तालिम लिनेको सङ्ख्या धेरै हुन्छ । नयाँ घर बन्ने क्रममा यो क्षेत्रमा दक्ष कामदारको माग बढेको छ । औद्योगिक इलेक्ट्रिशियनले उद्योगमा प्रयोग हुने विद्युतीय प्रणालीलाई जनाउँछ । केन्द्रले इलेक्ट्रिकल विषयमा डिप्लोमा गरेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट लेभल तीन पास गरेको, वैदेशिक रोजगारीमा पनि पाँच वर्षसम्मको अनुभव भएको प्रशिक्षकबाट तालिम दिने गरिएको संस्थानकी प्रबन्ध निर्देशक नम्रता थापाले बताउनुभयो ।
सीपमा पहुँच बढाउन सामीले के गर्यो ?
धेरै नेपाली स्वदेशमा सीमित रोजगारीका अवसर भएको र राम्रो आम्दानीको चाहनाले वैदेशिक रोजगारीमा जान्छन् । सीप अभाव र कमजोर आर्थिक अवस्थाले गर्दा धेरै श्रमिक खाडी देशमा जाने गरेका छन् । सामीले यी श्रमिकलाई वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सीप प्रदान गर्ने अवधारण अघि ल्यायो । यस्ता तालिमले सीपसँगै, तालिम प्राप्त व्यक्तिको कमाइ क्षमतामा वृद्धि, कार्यस्थलमा सुरक्षा तथा तलब तथा सेवा सुविधामा वृद्धि हुने तथ्यलाई स्थापित गर्यो । साथै कार्यक्रमको तेस्रो चरणमा वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रदान गर्ने तालिम कार्यक्रममा सघाउन आवश्यक जनशक्ति सचिवालयलमा नै व्यवस्था गर्यो । जसअन्तर्गत कार्यक्रमले १३ भन्दा बढी वैदेशिक रोजगारीको माग सम्बोधन हुने सामग्रीसहित पाठ्यक्रम निर्माण तथा अद्यावधिक गर्न सहयोग गर्यो ।
त्यसैगरी तालिम अनुगमनका लागि आवश्यक निर्देशिका, चेकलिस्ट, आवश्यक फारम तथा सूचना तथा तथ्याङ्क प्रणाली निर्माणलगायतका काममा सहयोग गर्यो । सामी कार्यक्रम 'स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ' भन्ने मूल मर्मका साथ वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा उपलब्धिमूलक बनाई वैदेशिक रोजगारीमा रहेका श्रमिक र तिनका परिवारको उचित संरक्षण गर्ने, गन्तव्य देशमा सुरक्षित र सम्मानजनक रूपमा काम गर्न सक्ने गरी श्रमिकलाई सूचना, सीप, परामर्श सहयोग गर्ने लगायत उद्देश्य लिएर २०११ मा शुरु भयो । कार्यक्रमको तेस्रो चरणको अन्त्यसम्म आउँदा कार्यक्रमको गएकाे १० महिनाको तथ्याङ्कसहित कुल सात हजार नाै सय २० (एक हजार आठ सय ४९ महिला) वैदेशिक रोजगारीमा जान चाहने व्यत्तिलाई ३० दिने निःशुल्क आवासीय सीप तालिम प्रदान गरेको छ ।
कार्यक्रमले स्काफोल्डिङ अर्थात् फलामको खट बनाउने विषयमा अन्तर्राष्ट्रिय सीप प्रमाणीकरण पनि सञ्चालन गर्यो । यसरी सीपको अन्तर्राष्ट्रिय प्रमाणीकरण हुँदा श्रमिकले राम्रो कम्पनीमा आकर्षक सेवा सुविधासहित कम लागतमा कामको अवसर पाउने रहेछन् भन्ने सिकाइ भएको छ । तालिम अन्तर्राष्ट्रिय श्रम बजारको आवश्यकतामा अनुभव भएका निजी प्रशिक्षण व्यवस्थापन संस्थान (टीएमआईएस) सँग साझेदारीमा प्रदान गरियो । सामीले तालिम दिएको विषयमा स्प्रे पेन्टिङ, गार्मेन्ट मेशिन अपरेटर, हाउसकिपिङ/क्लिनर, औद्योगिक इलेक्ट्रिशियन, किचन हेल्पर, मेसन, पाइप फिटर, प्लम्बिङ, म्यासन, शटरिङ र सिकर्मी, स्टिल फिक्सर (बार बेन्डर), स्काफोल्डिङ, वेल्डर लगायत पर्छन् ।
कार्यक्रमले स्काफोल्डिङ अर्थात् फलामको खट बनाउने विषयमा अन्तर्राष्ट्रिय सीप प्रमाणीकरण पनि सञ्चालन गर्यो । विदेशमा स्काफोल्डिङमा नै काम गरेकाहरू यसमा सहभागी हुन पाउने व्यवस्थाअनुसार सात सय ९० जनाले यस्तो प्रमाण लिए । यसरी सीपको अन्तर्राष्ट्रिय प्रमाणीकरण हुँदा श्रमिकले राम्रो कम्पनीमा आकर्षक सेवा सुविधासहित कम लागतमा कामको अवसर पाउने रहेछन् भन्ने सिकाइ भएको छ ।
वैदेशिक रोजगारीमा जानुअघि सीप सिक्न किन आवश्यक ?
अन्तर्राष्ट्रिय श्रम बजार सबै श्रमिकका लागि चुनौतीपूर्ण हुन्छ । परदेशको नयाँ ठाउँ, संस्कृति, वातावरण र त्यहाँका फरक नियम कानुनले समस्यामा पर्न सकिन्छ । ती ठाउँको अवस्थाबारे जानकारीसँगै सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जाँदा सजिलो हुन्छ । सीप नसिकी जानेहरूको कामको प्रकृति निर्धारण हुँदैन । विदेशका गएर जस्तो पनि काम गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा आफू कसरी सुरक्षित रहने भन्ने विषयको ज्ञान हुँदैन जसले गर्दा दुर्घटनाको जोखिम बढी हुन्छ । सीप सिकेर विदेश गएकाको निर्धारित सीप हुन्छ, तलब पनि बढी हुन्छ । उसलाई सुरक्षाका उपाय कसरी प्रयोग गर्ने भन्ने कुराको जानकारी हुन्छ र तालिम नलिएको व्यक्तिभन्दा सुरक्षित हुन्छ । त्यसैले सामीले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सीप सिकाउन पहल गरेको हो ।
(सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरूको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।