उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
नेपाल र छिमेकी राष्ट्र भारत सम्बन्धमा प्रत्येक नेपाली नागरिकले सुन्दै र पढ्दै आएका भए–गरेका अनेकौँ विषय मध्ये दुई देशका सरकारबीच नारायणी नदीमाथि भारतीय पक्षले ब्यारेज निर्माणका लागि गरिएको ‘गण्डक सम्झौता’ पनि पर्दछ । दुई देशबीचको सीमामा अवस्थित नेपालतर्फ नवलपरासी जिल्लाको सुस्ता क्षेत्रमा छिमेकी मित्रराष्ट्र भारत सरकारका तर्फबाट आफ्नो भूमि र जनतालाई सुविधा र सुरक्षा दिन नेपाली भूमि र जनतामाथि अन्यायपूर्ण व्यवहार गरिएको बारेमा धेरैले श्रम, सीप, समय साथै सोच खर्च गरिसकेका छन् । तर भारत सरकार त्यस्ता सबै कार्यलाई आफ्नो हितविपरीत भएको ठान्दछ शायद, सुनुवाइका लागि चासो दिने गरिएको छैन ।
त्यो सम्झौता थिएन, अन्यायपूर्ण रूपमा हस्ताक्षर गरिएको दस्तावेज हाे
विक्रम सम्वत् २०१६ साल मङ्सिर १९ गतेका दिन दुई देशबीच काठमाण्डौमा हस्ताक्षर गरिएको र त्यसको ५ वर्षपछि तत्कालीन राजा महेन्द्र शाह र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले संयुक्त रूपमा उद्घाटन गरिएको भनिएको गण्डक नहर वर्तमानमा जुन अवस्थामा छ त्यसबाट नेपाली पक्ष जो–कोही पनि सन्तुष्ट नहुनु स्वाभाविक मानिन्छ । विज्ञहरूले नेपालका लागि नारायणी नदीमाथि भएको ‘अभिसप्त इतिहास’ भन्ने गरिएको गण्डक सम्झौता र त्यसमाथि बनाइएको गण्डक ब्यारेज पढ्ने र स्थलगत रूपमै देख्ने जोकसैले यसलाई ‘असमान’ भन्ने गरेका छन् । जसलाई दशकौँदेखि भारतीय पक्षले चुपचाप सुनेर मात्रै बसिरहेको भन्ने गरिएको छ ।
इतिहासविद् प्रा. डा. गोविन्दमान सिंह कार्की गत महिना गण्डक ब्यारेजमै पुगेर उक्त बाँधको निरीक्षण गरेर फर्कनुभएको थियो । त्यहाँ पुगेर उहाँले पनि नारायणी नदीमाथि भएको दुई देशीय सम्झौता नेपालका लागि अन्यायपूर्ण भएको स्पष्ट विचार आफूसँग गएको टोलीसामु राख्नुभयो । राजनीतिक विश्लेषण गर्नेहरूले भन्ने गरेका छन् कि गण्डक सम्झौता र त्यस बाँधको निर्माण तत्कालीन नेपालको राजनीतिक परिस्थितिमा पहिले प्रधानमन्त्री वीपी कोइरालालाई र पछि राजा महेन्द्रलाई बाध्यतामा पारेर गरिएको सम्झौता थियो । देशमा पहिलो पटक बहुदलीय संसदीय व्यवस्था अन्तर्गत आमनिर्वाचनबाट दुईतिहाइ बहुमत प्राप्त नेपाली काङ्ग्रेसका नेता वीपी कोइरालाको नेतृत्वमा सरकार बनेको अवस्थामा चेतावतीपूर्ण दबाब दिइएको र पञ्चायती व्यवस्थाको शुरुवातसँगै निर्माण सम्पन्न गरिएको गण्डक बाँध र नहरमा पुगेर देखेका आममानिसले भन्ने गरेका छन् कि त्यो सम्झौता थिएन, सरासर अन्यायपूर्ण रूपमा हस्ताक्षर गरिएको दस्तावेज हो ।
नेपालको तर्फबाट बेवास्ता, जिम्मेवार पक्षको लज्जास्पद व्यवहार
वास्तवमा बाँध निर्माणमा मात्रै अन्याय भएको थिएन, मर्मत सम्भारमा समेत नेपालतर्फको भागमा बेवास्ता गरेर सम्बन्धित जिम्मेवार पक्षले लज्जास्पद व्यवहार गरिरहेको स्थानीयले अहिले पनि भोगिरहेका छन् । बर्सेनि वर्षाको मौसममा बाढीले डुबानमा पार्ने गरेका आफ्ना जनतालाई मात्रै सुरक्षित राख्न साथै आफ्ने भूमिमा मात्रै कृषि उत्पादन बढाउन सिँचाइका लागि नेपालको भूमिमा बाँध बनाएर लगिएको पानीले छिमेकी भारतलाई समृद्ध बनाउन मद्दत गरेको छ, नेपाली जनताको मन भने कुँडाइरहेको छ । तीनतिरबाट घेरेर नेपालबाट बग्ने पानीमाथि गरिएको एकतर्फी संरचना निर्माणबाट भारतले अत्यधिक लाभ लिएको त छर्लङ्गै छ, नेपालीमाथि यति धेरै अन्याय पनि गर्नु हुँदैनथ्यो भनेर भारतीय पक्षले कहिल्यै विचार नपुर्याएकोमा आमनेपालीको चित्त दुःखिरहेको पाइन्छ ।
भेदभावपूर्ण अवस्थामा बाँच्नुपर्ने बाध्यता
वर्तमानमा सुस्ता क्षेत्रको आफ्नै बाध्यता छ । गण्डकको आफ्नै पीडा । त्यहाँका बासिन्दालाई नेपाली नागरिक भएकै कारण भेदभावपूर्ण अवस्थामा बाँच्नुपर्ने अवस्था रहेकोमा पीडा छ । यो स्थानीयको बाध्यता पनि हो भन्छन् स्थानीय ३५ वर्षीय सोजन पाण्डे । उनी जस्तालाई सहानुभूति दिने पनि कोही नपाइनु बिडम्बना हो भन्नु पर्दछ । गण्डक नहरको मुख्य भाग अङ्कित बोर्ड नाम मात्रको देखिन्छ । त्यसमा लेखिएका अक्षरहरू केही बुझिने अवस्थामा छैन । देखिन्छ, उक्त बोर्ड लगाएदेखि नै प्रयोगविहीन छ । बोर्ड लगाइएको स्थानसँगै बाँधतर्फका बारहरू भत्किएका छन् । त्यहाँ कुनै पनि बेला अप्रिय दुर्घटना हुन सक्ने सम्भावना देखिन्छ । त्यहीँ नजिक स्थानीय तह त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को ब्यारेज पुल ‘सूचना पाटी’ पनि राखिएको छ । त्यसमा पनि कुनै ‘सूचना’ छैन । लाग्छ, ब्यारेजमा पुग्नेलाई ब्यारेजबारेमा कुनै सूचना दिने आवश्यकता नै ठानिएको छैन । किन यति गैरजिम्मेवार भयो होला ब्यारेज सञ्चालक र स्थानीय प्रशासन ? यो प्रश्न त्यहाँ पुग्ने जो कसैले गर्ने गरिरहेका छन् र जवाफ कतैबाट पाइँदैन । खुला नेपाल–भारत सीमाको चर्चा गर्दै जाँदा यी दुई देशबीचको ‘संसारमा अन्यत्र कतै नभएको’ मित्रवत् सम्बन्धका बारेमा पनि अत्यन्तै महत्त्वकासाथ उल्लेख गर्ने गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रका अन्य सबै जिल्लासरह नवलपरासी जिल्लामा पनि सीमावर्ती समस्या थुप्रै भएर पनि सदा खट्किरहेका सुस्ता क्षेत्र र गण्डक पीडाले त्यस भूमि भएर हिँड्ने जोकसैलाई इतिहासमा पछाडि फर्केर हेर्नुपर्ने गरी झस्काइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।