आज सुदूरपश्चिम र कर्णाली तथा भोलि काठमाण्डौसहित अरु ठाउँमा ह...
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुलाई विभिन्न चार शीर्षकमा रकम सापटी दिने भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम लगानी गर्ने सम्बन्धी व्यवस्था रहेको छ । त्यही व्यवस्थालाई कार्यान्वयन गर्न गएको मंसिर १० मा ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ स्वीकृत भएसँगै यी सुविधा अघि सारिएको कोषले जनाएको छ । योगदानकर्ता सापटी अन्तर्गत योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी प्राप्त गर्न सक्नेछन् ।
योगदान रकमको आधारमा वित्तीय आवश्यकता पुरा गर्न विशेष सापटीको व्यवस्था गरिएको हो । योगदान रकमको आधारमा समितिले तोकेको मापदण्ड अनुसार यो सापटी प्रदान गरिनेछ । आवास निर्माणका निम्ति धितोमा आधारित भएर योगदानकर्तालाई घर निर्माण गर्न, घर खरिद गर्न, संयुक्त आवासमा यूनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न ७५ लाख रुपैयाँ अथवा १५ वर्षको तलब रकम जुन कम हुन्छ त्यही बराबर घर सापटी प्रदान गरिने व्यवस्था गरेको छ ।
यस्तै धितोमा नै आधारित रहेर योगदानकर्ता आफैँ वा निजको पति/पत्नी, छोरा/छोरीको लागि स्वदेश वा विदेशमा उच्च शिक्षा अध्ययन गर्न ३५ लाख रुपैयाँ बराबरको शैक्षिक सापटीको व्यवस्था गरिएको कोषले जनाएको छ ।
कोषले योगदानकर्तालाई भइपरि आउने सामाजिक कार्यको लागि भनेर पाँच लाख रुपैयाँ बराबरको सामाजिक कार्य सापटीको व्यवस्था समेत गरेको छ ।
योगदानकर्ता विशेष सापटी लगायत अन्य सबै सापटीहरुको कूल योग एक करोड रुपैयाँ वा १५ वर्षकाे तलब बराबरको रकममध्ये कम हुने रकम सीमा भित्र रही धितोले खामेसम्म र कर्जा भुक्तानीको आधारमा पर्याप्त भएको हुनुपर्ने कोषले जनाएको छ ।
यस्तै सापटीका लागि कोषमा कम्तिमा पनि तीन वर्षसम्म लगातार योगदान गरेको हुनुपर्ने तर स्वाप गरेको अवस्थामा समयाको हद नलाग्ने व्यवस्था लगानी कार्यविधिले गरेको छ ।
यस्तै परियोजना कर्जा अन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सह वित्तीयकरण कर्जा रहेका छन् । यसैगरी लगानीका अन्य क्षेत्रहरुमा सरकारी ऋण पत्रमा लगानी, मुद्दती निक्षेपमा लगानी, शेयरमा लगानी, डिवेन्चरमा लगानी, म्युचुअल फण्डमा लगानी तथा स्थिर सम्पत्तिमा लगानी गरी लागानीका क्षेत्रहरु पहिचान गरिएको कोषले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।