कोरोना परीक्षणको रिपोर्ट आउन ढिलो भएको भन्दै क्वरेण्टीनमा बसेकाहरुको आन्दोलन

 असार ९, २०७७ मंगलबार ८:४७:३४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै क्वरेण्टीनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् । 

घोराही उपमहानगरपालिका–१८ मा रहेको रझेना माध्यामिक विद्यालयको क्वरेण्टीनमा बसेकाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै प्रतिष्ठानको गेटमै आन्दोलन गरेका हुन् । स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी  समय बित्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएको भन्दै उनीहरुले सोमबार साँझ प्रतिष्ठानको गेटसम्म पुगेर नाराबाजी गरेका थिए ।

‘कि हामीलाई रिपोर्ट दे, कि घर जान दे’, ‘मान्छेलाई पशुसरह व्यवहार नगर’, क्वरेण्टीनलाई व्यवस्थीत गर’, ‘समस्या समाधानका लागि वडाध्यक्ष पहल गर’ भन्दै नाराबाजी गरेका थिए ।

भारतबाट फर्किएको महिना दिनभन्दा बढी समय क्वरेण्टीनमा बस्दा पनि कोरोना परीक्षणको रिपोर्ट नदिएको भन्दै ४० देखि ५० जनाको समूह आन्दोलन गर्दै प्रतिष्ठानको गेटसम्म आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुमित खड्काले बताउनुभयो ।

रझेनामा रहेको क्वरेण्टीनबाट निस्केर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट आइपुगेका उनीहरुलाई प्रहरीले सम्झाई बुझाई गरेर पुनः क्वरेण्टीनमा पठाएको समेत उहाँले बताउनुभयो । आफूले सम्झाई बुझाई गरे पनि उनीहरु नमानेर प्रतिष्ठान गएको घोराही उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष भरतमणि अर्यालले बताउनुभयो ।

'क्वरेण्टीन बसेको महिना दिन पूरा भएको र स्वाब संकलन गरेको दुई हप्ताभन्दा बढी भैसक्दा पनि रिपोर्ट नआएपछि उनीहरु प्रतिष्ठान गएका हुन्’, वडा अध्यक्ष अर्यालले भन्नुभयो, ‘क्वरेण्टीनमा बसेकाहरु समयमै रिपोर्ट नआउँदा आक्रोशित भएका छन्, मैले जति सम्झाउँदा पनि मानेनन् ।’ 

स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यका अनुसार प्रतिष्ठानमा अझै परीक्षणको प्रक्रियामा तीन हजार ४ सय ९२ स्वाबहरु रहेका छन् । 

प्रतिष्ठानमा दुई वटा पीसीआर मेसिन सञ्चालनमा आए पनि ल्याबमा काम गर्ने जनशक्ति बिरामी भएका कारण कोरोना परीक्षणमा ढिलाई भएको प्रतिष्ठान स्रोतले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया