जलवायु परिवर्तनको असरले नेपालमा कृषि उत्पादन घट्याे, मानिसहरू जमिन बाँझै छाडेर शहर र विदेशतिर जान बाध्य

 मंसिर १९, २०८१ बुधबार १८:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जलवायु परिवर्तनको असरका कारण नेपालको कृषि उत्पादन निकै घटेको पाइएको छ । जलवायु परिवर्तनको असरका विषयमा गण्डकी जलाधार क्षेत्रमा गरेको अनुसन्धानले तापक्रममा परिवर्तन, वर्षाको ढाँचा, खडेरी बाढी तथा पहिरो आउनेजस्ता असरले कृषि उत्पादकत्वमा असर गरेको देखाएको छ ।

अनुसन्धानले वर्षामा निर्भर खेती भएकाले कृषि क्षेत्र खडेरीबाट अत्यधिक प्रभावित भएकाे देखाएको अध्ययनको नेतृत्व गर्नुभएका त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका प्राध्यापक डाक्टर प्रेमसागर चापागाईंले बताउनुभयो ।

खडेरीको कारण कृषिबालीहरू सुक्ने समस्याले बाँझो जमिन छोड्ने प्रवृत्ति बढेको प्रतिवेदनमा उल्लेख छ । कृषि क्षेत्रमा परेको असरले धेरै मानिसहरू बसाइँसराइ तथा वैदेशिक रोजगारीमा जाने क्रम बढेको पाइएको चापागाईंले बताउनुभयो ।

अध्ययनले जलवायु परिवर्तनको असरका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा स्याउ र केही अन्न उत्पादन भने बढेको देखाएको छ ।

अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम, कृषिसम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ । तराईमा ३४ प्रतिशत, पहाडमा २२ प्रतिशत र हिमालमा ८ दशमलव ५ प्रतिशत घरपरिवारले मात्रै मौसमसम्बन्धी प्राप्त सूचनामा विश्वास गरेको पाइएको छ ।

पाँच वटा विश्वविद्यालय मिलेर दक्षिण एशिया क्षेत्रमा जलवायु परिवर्तनले कृषिमा पारेको असरका विषयमा गरेको अध्ययनपछि तथ्याङ्क सार्वजनिक गरेको हो । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग, चीनका दुई वटा विश्वविद्यालय, भारतको दिल्ली इकोनोमी अफ भूगोल विभाग र बङ्गलादेशको अध्ययन केन्द्र मिलेर अध्ययन गरेका हुन् । अनुसन्धान गण्डकी जलाधार क्षेत्रमा पर्ने रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्कीमा गरिएको हो ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया