माथिल्लो तामाकोशीबाट पुस १० गतेभित्र बिजुली उत्पादन गर्ने तालिका, 'पिक आवर' मा चलाइने

 मंसिर १९, २०८१ बुधबार १८:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आउँदाे पुस १० गतेभित्र बिजुली उत्पादन गर्नेगरी मर्मत–सम्भार तालिका तय गरिएको छ ।

गएकाे असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेकाे माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुर्‍याएको थियो । बाँधस्थलभन्दा केही तल दायातर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो ।

दुई वटा डिस्यान्डरमध्ये बायातर्फको डिस्यान्डरको मर्मत–सम्भार आउँदाे पुस १० गतेभित्र सम्पन्न गरी बिजुली उत्पादन शुरू गर्ने तालिका तय गरिएको हो । यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने छ । यसैगरी कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ ।

दायातर्फको अर्को डिस्यान्डर मर्मत र अहिले सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने छ । यो काम आउँदाे वर्षायाम शुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मत–सम्भार सकिएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितको टोलीले बुधवार आयोजनाको स्थलगत अनुगमन गरी अहिले भइरहेको मर्मत–सम्भारको जानकारी लिएको थियो ।

टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० गतेभित्र बिजुली उत्पादन शुरू गर्ने र त्यसको १५ दिनभित्रमा बिजुली बढी माग हुने पिक समयमा चलाउने गरी मर्मत–सम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ । बिजुली कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

हिउँदयामा विद्युत् गृह चलाउन नसकेमा आन्तरिक रूपमा बिजुली माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिट्टो विद्युत् गृहलाई सञ्चालनमा ल्याउन अपनाउनुपर्ने उपायहरू तय गर्न स्थलगत अनुमगनमा गएको हो ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा बिजुली उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम बिजुली आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मत–सम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गर्नुभयो ।

‘आउँदाे मार्चसम्म दिउँसो र रातिमात्र भारतबाट बिजुली आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय) को बिजुली माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमा समेत आयात गर्न अनुमति पाएका छैनौँ, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउने छ’, घिसिङले भन्नुभयो, ‘दायातर्फको डिस्यान्डरको मर्मत–सम्भार आउँदाे वर्षायाम शुरू हुनुभन्दा पहिले नै सक्नेगरी काम अगाडि बढाऔँ, त्यसो गर्न सकिएन भने उत्पादन गर्न नसकी वर्षायाममा बिजुली खेर पाल्नुपर्ने अवस्था आउन सक्छ, यस्तो संवेदनशील अवस्थामा सबै गम्भीर भएर मर्मत–सम्भारमा लागौँ ।’

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि गएकाे असोज ११ गते साँझ ७ बजेदेखि बिजुली उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट) हरू खुला गरिएको थियो जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो ।

कम्पनीका सीईओ मोहनप्रसाद गौतमले मर्मत–सम्भारका हरसम्भव उपायहरू अवलम्बन गरी तय गरेको तालिकाबमोजिम बिजुली उत्पादन शुरू गर्नेगरी काम भइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया