पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताक...
मंसिर १४, २०८१ शुक्रबार
पर्वत - पर्वतको फलेवास नगरपालिका वडा नम्बर २ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया गर्भवती श्रीमती मुना नेपालीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । आइतबार बिहान घरमा नै शिशु (छोरा) लाई जन्म दिएकी मुनालाई राति ९ बजेको समयमा मदनले चिर्पट प्रहार गरेर घाइते बनाएका हुन् ।
घाइते मुनालाई आइतबार राति नै छिमेकीको सहयोगमा मुनालाई जिल्ला अस्पताल पर्वत लगिएको थियो । त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि सोमबार दिउँसो नै उहाँलाई पोखरा पठाइएको छ । उहाँको टाउकोमा गहिरो चोट रहेको र ३१ वटा टाँका मारिएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताउनुभयो ।
मदनले मदिराको नशामा सुत्केरी श्रीमती माथि हातपात गरेका हुन् । रक्सीले मात्तिदै घरमा आएको र एक्कासी आफूमाथि हातपात गरेको पीडित मुनाले बताउनुभयो । घटनाको बारेमा छिमेकीले तत्कालै थाहा पाएका कारण छिमेकीको सहयोगमा मात्रै आफू बँचेको पीडित महिलाले बताउनुभयो ।
छिमेकीकै सहयोगमा फलेवास नगरपालिका-१, कार्कीनेटा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मदनलाई आइतबार राति नै नियन्त्रणमा लिएको छ । मदन अहिले पर्वत जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेका छन् । पीडितबाट लिखित रुपमा उजुरी नआइसकेकोले कानुनी प्रक्रिया अघि बढाउन नसकिएको र आफन्तहरुसँग सम्पर्क भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
पीडित महिलाको माइती पक्षका आफन्तहरु कोही नभएका कारण छिमेकी युवा दिपेन्द्र कुँवरलगायतका व्यक्तिहरुले उनलाई अस्पतालमा सहयोग गरिरहेका छन् ।
मजदुरी गरेर खाने परिवारका भएका कारण आफूहरुसँग उपचारका लागि आवश्यक रकम समेत नभएका कारण सहयोग गरिदिन उहाँले आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।