राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
मोरङ – बाँसको भाटाले बारेको घर । घाम पानी नछेक्ने फुसको छानो । दर्केर पानी परेको बेला त थालमा पस्केको भातभरी आकाशको पानी हुने ।
श्रीमानको कमाइले कतिवटा भ्वाङ टाल्नु ? मोरङकी २६ वर्षीया उमा विश्वकर्मालाई लाग्यो, बरु आफैं विदेश जान्छु । वर्खायाममा रातभरी जागा बस्नुभन्दा दुई वर्ष विदेश बसेर केही गर्न नसके पनि घरको छानो फेर्छु ।
तर घरको छानो फेर्ने सपनाले उहाँलाई नर्कजस्तै देशमा पुर्यायो । उमाको भोगाइमा विदेश त मानवरुपी राक्षस बस्ने देश हो । जहाँ उहाँलाई त्यहाँका मान्छेले मान्छेको जस्तो व्यवहार नै गरेनन् । दुई वर्ष कुवेतमा धेरै हण्डर खेपेर फर्किएकी उमा अहिले मोरङको पथरीमा रहेको घरमा तङग्रिंदै हुनुहुन्छ ।
१३ वर्षको उमेरै बिहे भयो । त्यसको दुई वर्षपछि १५ वर्षको उमेरमा छोरा जन्मियो । बालबच्चा भएपछि श्रीमान् कमाउन साउदी लागे । तर कमाइ राम्रो हुने काम परेन ।
बिहान बेलुकाको हातमुख जोर्न पनि धौधौ हुने । घरको छानोले घाम र पानी नछेक्ने । पानी पर्दा चुल्होमै भल बग्ने । हात मुख जोर्नै मुश्किल पर्ने कमाइले चुहिएको छानो टाल्न सकिएन ।
उमाका दिदी र आमा पनि कुवेतमा काम गर्थे । दुःखमा पिल्सिएकी उमालाई लाग्यो, बरु विदेशै जाउँ । तर काखे छोरो छाडेर विदेश कसरी हिँड्नु । उमासँग सपना पनि उति साह्रो ठूला थिएनन् । कम्तीमा एउटा छानो नचुहिने घर होस्, बिहान बेलुका हातमुख जोर्न पुगोस् ।
गरिबीले थिचेको उमाको सपनालाई साकार पार्न गाउँकै जेठाजुले सघाउने भए । कुवेत जाने बन्दोबस्तो मिलाइदिए । दिदी र आमाले काम गरिरहेको देशमा जान तयार हुनुभयो उमा ।
‘आमा र दिदीले कमाएकै थिए, बेलाबेला घरमा पैसा पठाएकै थिए, मलाई केही नराम्रो कुरा सुनाएका पनि थिएनन्’ उमा भन्नुहुन्छ ।
त्यतिबेला विदेश जानु थियो, अरु कुरा सोच्ने र बुझ्ने मेसो थिएन । उमा अहिले थकथक मान्दै भन्नुहुन्छ, ‘अहिले जस्तो थाहा भएको भए त किन जान्थें र ? त्यतिबेला गाउँकै जेठाजु पर्ने मानिसले भनेको कुरामा अविश्वास पनि कसरी गर्नु र भन्ने भयो ।’
पासपोर्ट बनाउन पनि जेठाजुले नै सघाएका थिए । ‘तिम्रो त आमाले पनि राम्रो कमाइ गरिरहनुभएको छ, म तिमीलाई पनि राम्रो काम लगाइदिउँला,’ भन्दै जेठाजु पर्ने दलालले फकाएका थिए ।
‘नेपालबाट बन्द छ, भारतमा गएर भिसा लगाउन पर्छ,’ दलालले यसो भनेपछि उमाले पनि पत्याउनुभयो । दलालले जे जे भने, मान्दै जानुभयो । पाँच वर्षअघि २०७० सालमा सात वर्षे छोरालाई सासुको साथमा छाडेर उहाँ कुवेतको बाटो लाग्नुभयो ।
काकडभिट्टा नाका हुँदै दिल्ली पुग्नुभयो । दिल्ली पुगेपछि दलाल को हुन् को चिन्नुभएन । उहाँजस्तै कमाउने आश पालेर थुप्रै महिला हिँडेका थिए, परदेश ।
कुवेत पुग्नुभयो । काम पनि मिल्यो । तर घरको काम । उमालाई सुरुमा त लाग्यो – ‘लेखपढ नभएको मान्छेलाई राम्रै काम लगाइदिए, घरकै काम त गरिरहेकै हो नि ।’
तर मोरङको घरमा गरेको जस्तो किन हुन्थ्यो र !
‘बच्चा हेर्नुपर्ने मुख्य काम, अनि खाना बनाउने र सरसफाइ गर्नुपर्ने । खाना बनाउने र सफा गर्ने काम गर्न त के गाह्रो मान्नु र ! भगवान, त्यहाँका बच्चा हेर्न त साह्रै गाह्रो,’ उमाले आफ्नो भोगाई सुनाउनुभयो ।
साहुले बेलाबेला धम्क्याउँथ्यो । भन्थ्यो, ‘मेरो बच्चालाई केही भयो भने, तँलाई पनि सजायँ त्यस्तै हुन्छ ।’ यस्तो धम्की सुनेर उमालाई साह्रै डर लाग्थ्यो । ‘मलाई त यस्तो डर लाग्थ्यो कि केही गरी उसको छोरा मर्यो भने मलाई पनि मार्ने रहेछन् जस्तो लाग्थ्यो’ उमाले भन्नुभयो ।
जानी जानी त कसले पो नराम्रो काम गर्ला र ? त्यो पनि एक आमाले । उमालाई साहुका व्यवहारले खुबै नरमाइलो लाग्थ्यो । एक महिना जस्तो त राम्रैसँग बित्यो । एक महिनापछि उहाँका दुर्दिन शुरू भए । बिहान जुरुक्क उठेर घरधन्दा थाल्नुपर्ने, दिउँसो ३ बजेसम्म जीउ ठाडो पार्न नपाइने ।
तीन बजेतिर गाँस च्याप्यो । त्यो पनि कहिल्यै खाना खाउ भनेर नभन्ने । दुःखको छिनोमा कुँदिएको ज्यान, यतिको दुःख सहनु पनि हुन्थ्यो । तर क्रमशः यातना पनि बढ्न थाल्यो । साहुको छोरा अत्यन्त झगडालू । जतिखेर पनि रोइ मात्रै रहने । जसो गरे पनि नमान्ने ।
साहुलाई चाहिँ त्यो बालक रोएको सुन्नै नहुने, बाघलेझैँ झम्टन्थे र चुल्ठो तान्न आइहाल्थे । जसो गरे पनि जस नमिलेपछि उहाँले त्यो घर छाड्ने निर्णय गर्नुभयो ।
तर साहुले पैसा तिरेर ल्याएको भन्दै धम्की दिए । ‘पैसा तिरेर ल्याएको हुँ, त्यसै जान कहाँ पाइन्छ, तलाईँ त मारे पनि थाहा हुन्न यहाँ कसले खोज्ने भन्ने,’ साहुका ती धम्की सम्झँदा उमाको मुटु अहिले पनि काँप्छ ।
कुवेतमा काम लगाइदिने दलाललाई फोन गर्नुभयो । र आफ्ना पीडा सुनाउँदै काम गर्न नसक्ने भनेर सिधा भन्नुभयो ।
‘कुवेतमा मलाई काम लगाइदिने दलाललाई फोन गरेर मैले यो घरमा काम गर्न सक्दिनँ भने, साहुसँग पनि काम गर्न सक्दिनँ भनेर काम गर्नै छाडिदिएँ, त्यसपछि दलालको अफिसमा पुर्याइदिए,’ उमा भन्नुहुन्छ ।
घर मालिकले नराम्रो व्यवहार गरे भने अर्को घर परिवर्तन गर्न पनि सजिलो छैन । दलालले पनि अर्को घरमा काम लगाइदिन गाह्रो मान्छन् ।
उमा भन्नुहुन्छ, ‘एउटा घर मालिकले १३ सय दिनार कि कतिमा किनेको हुँदोरहेछ, मैले त्यो घरमा काम गरिनँ भने उनीहरुले पैसा पनि फिर्ता लैजाने रहेछन् ।’ उमाले पाँच वटा घर परिवर्तन गर्नुभयो । प्रत्येक पटक घर सरे, तर दुःख र यातना सरेनन् ।
एउटा घरका मालिकले त उमालाई कुवेतबाट साउदीको घरमा काम गर्न लगे । यो कुरा उहाँले घरमा काम गर्न थालेपछि मात्रै थाहा पाउनुभयो ।
‘गाडीमा बस भने, भनेको मान्नै पर्यो कहाँ लगे भनेको त कुवेतको साहुनीको माइती साउदी रहेछ, मलाई त त्यहाँ पो लगेछन्, त्यो घरमा पुगेर काम गर्न थालेपछि मात्रै थाहा पाएँ,’ उमा सुनाउनुहुन्छ । साउदी कुवेतभन्दा कडा देश हो भन्ने थाहा थियो उमालाई ।
त्यसैले साउदीबाट कुवेत फर्किने उपाय लगाउनुभयो । बिरामी भएको अभिनय गर्नुभयो । साउदी पुगेको थाहा पाएको दिनदेखि टाउको दुख्यो भन्दै सुत्नुभयो । काम नै गर्नुभएन । काम नगर्ने कामदारलाई साहुले किन राख्थे र ? १० दिन पछि कुवेत नै फर्काइदिए ।
कुवेत फर्किएपछि पनि उहाँको काम र तनाव उस्तै भयो ।
साउदीबाट फर्किएपछि कुवेतको घरमा पाएको काममा त झन् उहाँले कल्पनै नगरेको आरोप र व्यवहार सहन पर्यो । घरबाट बाहिर निस्कने अनुमति थिएन । के खाने, कहाँ जाने, सुत्ने उठ्ने समय घर मालिककै हातमा थियो ।
त्यति मात्रैमा सीमित रहेन उमाको दुःख । एक दिन साहुको कोठा सफा गर्दै हुनुहुन्थ्यो । ‘के भयो सन्चो भएन हो’ भन्दै साहुले निधार छामे । उमा बिरामी त हुनुहुन्थ्यो, तर उमाले भन्नुभएको थिएन । साहुले किन त्यसरी माया देखाए, थाहा छैन उमालाई । तर उमाले त्यसको बदलामा बिभिन्न आक्षेप सहन पर्यो ।
‘साहुनीले मेरो बुढासँग कहिलेदेखि लागिस् भन्दै चुल्ठो समातिन्, म धुरुधरु रोएँ, ज्वरोले ज्यान गलेको थियो, मैले केही सोच्नै सकिनँ ’ उमालाई त्यो बेला साहुनीले चुल्ठो तान्दाको पीडाले भन्दा पनि आरोपले बढी दुख्यो ।
त्यो दिनदेखि साहुनीले राम्रो व्यवहार गर्न छाडिन् । देख्यो कि सके हातले नसके व्यवहारले ठुङ्थिन् ।
उमा निकै बिरामी पर्नुभयो । काम गर्न त परको कुरा, खाना खान पनि नसक्ने हुनुभएको थियो । तर उपचार पाउनुभएन । घरको काम र बालबच्चा नहेरी सुखै थिएन ।
परदेशमा यसरी दुःख खेप्नुपर्दा उमालाई निकै पछुतो लाग्थ्यो । ‘कमाउने आशमा नर्कको बास होला भन्ने सोचेको भए छोरा छाडेर किन जान्थें र ? छोरो तोते बोल्थ्यो, उसको बोली र उसले गाएको गीत मोवाइलमा रेकर्ड गरेर लगेकी थिएँ, त्यो सुनेर रुँदै रात कटाउथें,’ उमा कुवेतका पीडा सुनाउनुहुन्छ ।
काम गर्ने घरमा फोन चलाउने अनुमति थिएन । उमा छोराको त्यही बोलीको मायाले फोन लुकाएर लाख्नुहुन्थ्यो ।
सुत्ने बेलामा ओढ्नेले मुख छोपेपछि मात्रै मोबाइल खोल्नुहुन्थ्यो । ‘त्यसरी छोराको आवाज सुन्दा मेरो छोरो यहीँ छ जस्तो लाग्थ्यो, दिनभरीको थकाइ रोएपछि कम हुन्थ्यो,’ छोरा छाड्दाको पीडा र याद सुनाउँदा उमा भक्कानिनुभयो ।
घरमा रहेका छोरासँग मुस्किलले कुरा हुन्थ्यो फोनमा । एकातिर साहुनीको टोकसो, अर्काेतिर छोराको याद । एकदिन फोनमा उमाले आफूलाई सम्झेर छोरा असाध्यै रुन्छ भन्ने खबर पाउनुभयो ।
‘छोरा म बिना रोएको छ, म भने यहाँ कमाइ न धमाइ अरुको घरमा खटिएकी छु, छोरो छाडेर बेकारमा आएछु,’ भन्ने सम्झेर पछुतो लाग्यो उहाँलाई ।
त्यसपछि उहाँलाई त्यो ठाउँमा एकछिन पनि बस्न मन लागेन । उमा भन्नुहुन्छ ‘जे कुराका लागि काखे छोरालाई एक्लै बनाएर आएँ, त्यो नै नभएपछि किन बस्नु कुटाइ र आरोप सहेर भन्ने लाग्यो’ ।
काम गरे पनि साहुनीले छड्के नजरले चियोचर्चो गर्न थालिन् । अरुको आँखामा धुलो भएर बस्नुभन्दा खान नपाएर आफ्नै घरमा मर्न बेश लाग्यो उहाँलाई । त्यसो त उमालाई काममा लगाउन साहुनीको मन थिएन, उमालाई पनि काम गर्न मन थिएन ।
साहुलाई जसरी पनि नेपाल पठाइदिन उमाले अनुरोध गर्नुभयो । ‘त्यो बेलासम्म त मेरो अवस्था यस्तो भइसकेको थियो कि म काम गर्न सक्ने अवस्थामा थिइनँ, त्यसैले होला मलाई स्वदेश पठाइदिए ।’ उहाँ २०७२ सालमा घर फर्किनुभयो ।
कुवेतबाट घर आउदा उहाँलाई रातभर निद्रा पर्दैन थियो । डर मात्र लाग्थ्यो । अलिअलि भिडभाड देखे थरथरी हात खुट्टा काँप्थे । घर आइपुग्दा पनि कसको डरले यस्तो भयो भन्ने ठम्याउन सक्नुभएन उहाँले । त्यसपछि समस्या लिएर अस्पताल पुग्नुभयो । डाक्टरले औषधी खान सुझाव दिए ।
‘म त केही सोच्नै नसक्ने भएकी थिएँ, डाक्टरले तनाबका कारण मानसिक समस्या भएको छ औषधी खान पर्छ भने, डेढ दुई वर्षजस्तो खाएँ होला औषधी,’ आफूले मानसिक रोगको औषधी खानुपर्ने अवस्थाको बारेमा सुनाउनुभयो उमाले ।
‘आफू नेपालमा जताततै हिँडेको बानी, त्यहाँ त कहिलेकाहीँ त तीन दिनसम्म पनि एउटै कोठामा बस्नु पर्ने, त्यसरी एकै ठाउँमा बस्दाबस्दा नै होला यस्तो भएको,’ उमा एउटै कोठामा कोचिएर बस्दाको अत्यास सम्झनुहुन्छ ।
डेढ वर्षभन्दा धेरै समय औषधी खाएपछि अहिले निको हुनुभएको छ उमा । तर बेलाबेलामा झस्काइरहन्छन् ती दिनहरुले । घरघरी उहाँलाई लाग्छ – बालक छोरोलाई छोडेर हिँडेको ‘पाप’ले पनि दुःख भयो ।
अहिले पनि बेलाबेला उहाँलाई ती दिनहरु सम्झँदा असाध्यै पीडा हुन्छ । ‘किन छोरा र चुहिने घर भनेर सुख खोज्दै छाडेर हिँडेछु भन्ने लाग्छ’ पछुतो छ उमालाई ।
तर केही हदसम्म उहाँ परदेशमा भोगेको पीडाबाट बाहिर आइसक्नुभएको छ । हिजोआज आफूसँग भएको कुरामा रम्न थाल्नुभएको छ । दुःख र अभावमै पनि सुःख खोज्दै हुनुहुन्छ ।
साउदीमा पसिना बगाइरहेका उमाका श्रीमान् पनि अहिले घर फर्किएका छन् । अहिले पनि घरको अवस्था सुध्रिएको छैन । आमा र दिदीको सहयोगमा घरको चुहिने छानो चाहिँ फेर्नुभएको छ । बिस्तारै छानो फेरि चुहिएला ।
तर छानो चुहिए पनि उहाँको मनमा विदेश जाने सपना पलाउने छैन । ‘म त बुझ्दै नबुझी फुत्त घरबाट उठेर गइ हालें त्यो बेलामा, अब त मरिगए पनि जान्नँ र अरुलाई पनि दिल्ली हुँदै विदेश नजान भन्छु,’ उमाले आफ्नो भोगाई र सन्देश सँगै सुनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।