पैदल हिँड्दा गाडीलाई दोष, गाडीमा गुड्दा जेसुकै होस् !

 माघ १३, २०८१ आइतबार १३:३१:३१ | मिलन तिमिल्सिना
unn.prixa.net

अस्तिताकासम्म उ पैदल नै लखरलखर हिँड्थ्यो । फूटपाथ खाली हुँदा पनि सडकको बीचबाटै पाइला सार्थ्याे । हात र जुल्फी हल्लाउँदै सडकमा लम्किँदा आफूलाई मै हुँ भन्थ्यो । पछाडिबाट गाडी र मोटरसाइकलले हर्न दिँदा आँखा तर्थ्याे । साथीभाइसँगको भेटघाटमा भन्थ्यो– सडकमा अनुशासनहीन भनेका गाडीवाला र मोटरसाइकलवाला हुन् । साइकल चढ्नेले घण्टी बजाएको पनि उसलाई मन पर्दैनथ्यो । साइकलपछि मोटरसाइकल अनि त्यसपछि साना गाडी र ठूला गाडी हेपाहा खालका हुन् भनेर सराप्थ्यो । पान खाएर सडकमा जथाभाबी थुक्दै सडक राम्रो भएन भनेर सरकारलाई गाली गर्थ्याे । आफू फूटपाथमा हिँड्दैनथ्यो, जेब्राक्रस र आकाशेपुलको वास्तै नगरी बाटो काट्थ्यो अनि गाडीवालाले ट्राफिक नियम पालना गरेनन् भनेर गफ दिन्थ्यो ।

त्यसपछि उ साइकलमा गुड्न थाल्यो । टिर्र घण्टी बजाउँदै साइकलको पाइडल चलाउँदा सडकमा साइकलवालाबाहेक अरू सबैलाई दोषी देखिँदो रैछ । उसलाई लाग्यो, सडकमा सबैभन्दा अनुशासनहीन भनेका पैदलयात्री हुन् । सडकको बीचबाटै लखरलखर हिँड्छन् । पछाडिबाट साइकलले घण्टी लगाउँदा पनि वास्ता गर्दैनन्, साइकलमै ठोक्किन खोज्छन् । फूटपाथ, आकाशेपुल र जेब्राक्रसको प्रयोग नै गर्दैनन् । पैदलयात्रीपछि मोटरसाइकल र गाडीवाल अटेरी र हेपाहा प्रवृत्तिका ! साइकलवालालाई त मान्छे नै गन्दैनन् । साइकल लेन पनि आफैँले ढाक्छन् । सडकको सबै भाग उनीहरूकै पेवाजस्तो ।

साइकलपछि उ मोटरसाइकल चढ्ने भयो । मोटरसाइकलमा हुइँकिँदा त अर्कै शान हुने रैछ । टाउकोमा हेल्मेट लगाएर हातमा साँचो खेलाउँदै साथीभाइ र छरछिमेकी माझ उभिँदा नै ज्यानमा अर्कै खालको फुर्ति मिल्ने । मोटरसाइकलमै चढेर हुइँकिँदा त आकाशमै उडेजस्तो । भुइँमा खुट्टा नहुने भएपछि आकाशमै उडे सरह भैहाल्यो । त्यसमाथि मोटरसाइकललाई सडकमा कसले सक्ने । ठाउँ भए पनि, नभए पनि जताबाट पनि छिर्न मिल्ने । मोटरसाइकलमा हुइँकिँदा त आफूबाहेक अरू सबै अटेरी र हेपाहा खालका देखिने । पैदलयात्री र साइकलयात्री सबैभन्दा बढी अटेरी । न ठाउँ छोड्छन्, न हर्न बजाएको सुन्छन् । गाडीवाला चाहिँ सबै हेपाहा । मोटरसाइकललाई त देखी सहँदैनन् । पेल्न खोज्छन्, ठोक्काउन खोज्छन् । पैदलयात्री र साइकवाला बाटो नछोड्ने, गाडीवाला चाहिँ मोटरसाइकललाई ठोक्काएर अघि बढ्न खोज्ने । उसलाई लाग्यो सडकमा सबैभन्दा मारमा मोटरसाइकल छन् । मोटरसाइकलवालाको हक, हितका लागि सरकारले एउटा अध्यादेश ल्याउन ढिलो भैसकेको छ ।

मोटरसाइकलमा हिँड्दाहिँड्दै उ कार चलाउने हैसियतमा पुग्यो । भर्खरभर्खर मोटरसाइकल चढ्दा अरूलाई देखाउन मिल्ने हेल्मेट थियो । मोटरसाइकल रोकेर हातमा हेल्मेट झुण्ड्याउँदै साथीभाइ माझ पुग्दा सबैले ट्वाँ परेर हेर्थे । हेल्मेटकै कारण म मोटरसाइकल चढ्छु भनेर अरूलाई धाक लगाउन पाइएको थियो । तर कार चढ्न थालेँ भनेर देखाउने कुरो नै नहुने । सडकमा कार चलाएको सबैले देख्दैनन् । कार रोकेर साथीभाइ या आफन्तकोमा पुग्दा म कारमा आएको हुँ कसरी भन्ने ? तर उनीहरूलाई सुनाउन मिल्ने अनेक काइदा हुँदो रैछ । कार पार्किङ गर्ने ठाउँ नै टाढा रैछ भन्दा पनि हुने, यता त कार ल्याउन अलि गाह्रो रैछ है भनेर सुनाउन पनि मिल्ने । कार जोडेर केही न केही भनेपछि कार चढेको फुर्ति लाउन मिल्ने रैछ । यस्तो फुर्ति लगाउँदै कारमा हिँड्दा उसले थाहा पायो, सडकमा कारवालाबाहेक अरू सबै गतीछाडा । मोटरसाइकल त सबैभन्दा धेरै बदमास । जता पनि छिराएका छन्, जहाँबाट पनि ओभरटेक गरेका छन् । साइकलवाला र पैदलयात्री पनि उस्तै । न नियम मान्छन्, न भनेको टेर्छन् । उनीहरूकै कारण ठोक्किँदा आफूले चाहिँ जरिवाना तिर्नुपर्ने । आफूभन्दा ठूला गाडीवालाको त के कुरा गर्नु । बस, ट्रक, टिप्पर, भ्यानहरू त सडकका साँढे जस्ता । साना गाडीलाई त देखी नसहने । सडकमा सबैभन्दा अनुशासन र शान्त स्वभावमा गुड्ने चाहिँ कारवाला नै हुन्, त्यो पनि सबैभन्दा असल चाहिँ आफू मात्रै ।

एकपटक उसलाई बस चढेर राजमार्गको यात्रा गर्नुपर्ने भयो । यात्राका क्रममा उसले थाहा पायो बसवालाहरूले त सबैभन्दा अटेरी कारवालालाई देख्दा रहेछन् । अगाडि जाम छ, बाटो छैन । अघिल्तिरका सबै गाडी लाइनमा पालो पर्खेर बसेका छन् । तर मोटरसाइकल र कार चाहिँ लेन मिचेर अघि बढेका । जाम खुलेर गुड्न खोज्दा लेन मिचेर अघि लागेका कारकै कारण अर्को जाम । अनि कतै छुस्स छुन लाग्यो भने कारवालाकै स्वर ठूलो । म को हो चिन्या छस् भन्दै नेता र डनको फुर्ति लाउने पनि कारवाला नै । बसमा यात्रा गर्दासम्म उसलाई पनि लाग्यो, सबैभन्दा अटेरी चाहिँ कारवाला नै हुँदा रहेछन्, त्यो पनि आफूबाहेक अरू ।

पहिले पैदल हिँडेदेखि अहिले कारमा गुड्दासम्म उसले सडकमा थरीथरीका अनुभव भोगेको छ । थरीथरीका मान्छेसँग ठोक्किएको छ । पैदल हिँड्दा सबै गाडीवालाको दोष देखिन्थ्यो । साइकल, मोटरसाइकल हुँदै गाडीमै गुड्न थालेपछि आफूबाहेक अरू सबै उस्तै देखिँदा रैछन् । सडकमा हिँड्ने सबै आफूजस्तै अनुशासित र असल भैदिने हो भने देश कस्तो हुन्थ्यो भनेर सोच्दै कारमा हुइँकिरहँदा उसलाई ट्राफिकले रोके । लाइसेन्स र ब्लुबुक माग्दै सोधे, ‘उ त्यहाँ ट्राफिक बत्तीमा रातो बलेको देख्नुभएन ?’

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया