भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता

 मंसिर ९, २०८१ आइतबार १३:४२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : नेपाली सेना

काठमाण्डाै – पाँच दिने नेपाल भ्रमण सकेर भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी स्वदेश फिर्ता हुनुभएको छ । भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले बिदाइ गर्नुभयो ।

नेपाल भ्रमणका क्रममा द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्नुभएको थियो । नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप सन् १९५० देखि दुवै देशले एकअर्काका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

भारतीय स्थल सेनाध्यक्षले भ्रमणका क्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको थियो ।

उहाँले शिवपुरीमा रहेको सैनिक कमान्ड तथा स्टाफ कलेज र पोखरामा रहेको पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नुका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन र माउन्टेन फ्लाइटमार्फत विभिन्न हिमालहरूको अवलोकन गर्नुभएको थियो ।

प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिवसीय नेपाल भ्रमणका क्रममा गएको बुधवार काठमाण्डौ आउनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया