श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट
मंसिर १३, २०८१ बिहिबार
पछिल्लो समय एजेण्टको भरमा विदेश जाँदा ठगीमा पर्ने क्रम बढ्दो छ । कुनै दिन म पनि एजेण्टकै भरमा ठूलो सपना बोकेर मलेसिया पुगेको थिएँ । तर अहिलेजस्तो त्यो बेलामा वैदेशिक रोजगारीको बारेमा जानकारीहरू पाइन्थ्यो भने सायदै म फस्थेँ होला ।
कुरा सन् २०१२ हो गाउँबाट विदेश जाने ओइरो लागेको थियो । जो पनि विदेश जाने मात्र भन्थेँ । मलाई पनि विदेश कस्तो होला भन्ने लागेर गइदिम गइदिम लाग्यो ।
१९ वर्ष लागेको थिएँ । त्यो बेलामा मलाई म्यानपावर कम्पनी पनि हुन्छ भन्ने थाहै थिएन । गाउँबाट मानिस विदेश पठाउने एजेण्टहरू नै थिए । उनीहरुलाई नै डेढ लाख रुपैयाँ तिरेर म मलेसिया उडेको हुँ ।
यहाँबाट जाने बेलामा इलेकट्रोनिक्स कम्पनीमा काम हो । एक हजार मलेसियन रिंगिट तलब हुन्छ भनेको थियो । तर त्यहाँ पुगेपछि त कहाँ यहाँ भनेको र सोचेको जस्तो हुने रहेछ र । यहाँ भनेकोजस्तो केही भएन । तलब पनि महिनाको सात सय मात्र पाइयो ।
कम्पनीले क्यापासिटर उत्पादन गर्थ्याे । मेरो काम चाहिँ मेसिन अपरेटरको थियो । तर मेसिन अपरेटरको काम एकदमै जोखिमपूर्ण हुने रहेछ । अलिकति मिस्टेक भयो भने हात र औलाहरू काटिने डर हुने अनि सानो गल्ती हुँदा सामानहरू पनि बिग्रने हुदो रहेछ ।
एक दुई महिना त काम सिक्न एकदमै गाह्रो भयो । सिनियर अपरेटरहरुले सिकाउनुभयो । कतिपय कुरा चाहिँ काम गर्दा गर्दै सिकियो ।
जोखिमपूर्ण काम र हातमा पर्ने दाम सम्झँदा त मलाई काम गर्नै मन थिएन । तर के गर्नु ऋण काढेर गएपछि त दुःख पनि सहनै पर्यो । ३ वर्ष जसोतसो कटाएर फर्किएँ ।
सन् २०१५ मा मलेसियाबाट नेपाल आउने जहाज चढ्दा नै मैले त यो देशमा कहिले पनि फर्किन्न भनेर कसम खाएको थिएँ । तीन वर्ष परिवारबाट टाढा भएर बस्दा पनि केही भएन । उही घर मात्र चल्यो । घर खर्च त घरैमा हुँदा पनि चलाएकै त थियो नि । खासै केही फरक नहुने रहेछ । यहाँबाट जस्तो सोचिन्छ त्यहाँ त्यस्तो नहुने रहेछ ।
नेपाल फर्किएपछि बाख्रा पालन गरिरहेको छु । अहिले पनि १५ वटा जति बाख्रा छन् । त्यसबाट हुने आम्दानीले नै पनि पुगिरहेको छ । यहाँ बाख्रा पाल्न सहज पनि छ । घाँस पनि पाइन्छ र चराउने ठाउँ पनि प्रशस्त छ ।
यसका साथै गाउँपालिकाले गाउँ गाउँमा वैदेशिक रोजगारीमा जानेहरूलाई सचेत गराउने रोजगारी पनि दिएको छ । गाउँबाट विदेश जानेहरूलाई विदेशको वास्तविकता, जाँदा ध्यान दिनु पर्ने कुराहरूका बारेमा जानकारी दिँदै सचेत गराउँछु ।
कतिपयलाई त सम्झाउन गाह्रो हुन्छ । हामीलाई म्यानपावरले यसो भनेको छ तिमीले भनेर हुन्छ भनेर गाली पनि गर्नुहुन्छ । तर कतिपयले भने सम्झेर मनन पनि गर्नुहुन्छ ।
परिवारसँगै बसेर थोरै खादा पनि बरु ढुक्क हुन्छ । विदेशमा त बिरामी हुँदा पनि गाह्रो । जसरी पनि काम गर्नै पर्छ । यस्तो भयो भनेर सुख पाइँदैन । यहाँ त आफ्नै काम भयो आज गाह्रो भयो भन्दा गाउँका दाजुभाइहरूले पनि त सघाउँछन् । तर परदेशमा त्यस्तो हुँदैन ।
मेरो अनुभव जस्तो छ त्यो अनुभव अरू जानेहरूले गर्न नपरोस् भन्ने त मलाई सधैँ लाग्छ । विदेश नजानुस् नै त म भन्दिन । किनकि आफ्नो आफ्नो रुचिको कुरा पनि हो । तर यदि जाने नै हो भने सही तरिकाले आफू जाने देश, गर्ने काम, हुने कमाइ लगायतका बारेमा राम्रोसँग बुझेर मात्र जान पर्छ ।
अनि मागिहाल्यो भनेर एजेण्टहरुलाई हातहातैमा पैसा दिन हुँदैन । दिने नै भए पनि बैङ्क खातामा वैदेशिक रोजगारीको लागि दिएको भनेर खुलाउन पर्छ । ताकि भोलिका दिनमा कुनै समस्या भयो भने पनि त्यो व्यक्तिलाई सरकारले समेत जिम्मेवार बनाउँछ ।
म त अब मलेसिया मात्र होइन कुनै पनि देश जादिंन । विदेश सहज छैन भन्ने कुरा बुझेको छु । यहाँ गाउँमा बाख्रा बेच्न पनि गाह्रो छैन । घर घरमै लिन आइपुग्छन् । त्यसैले अझैँ बाख्रा पालनलाई नै थप गर्ने योजना बनाएको छु मैले त ।