उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बारा – काम गर्ने, पैसा कमाउने र बुवा-आमालाई सुख दिने रहर कसलाई हुँदैन र । बारा कलैयाका आविद अन्सारीलाई पनि यही रहरले पछ्यायो ।
आफ्ना बुवा धन कमाउन परदेश लागेपछि आविदको मनमा पनि धन कमाउने सोच पलायो । बुवालाई परदेशबाट फर्काउनुपर्छ, अब आफैले कम्मर कस्नुपर्छ भनेर आविद आफै विदेश जान कस्सिए ।
घरमा पाँचजना भाइबहिनी । परिवारको छोराछोरीको भविष्यकै लागि भनेर आविदका बुवा परदेश लाग्नुभयो । बुवा परदेश गएदेखि आविदलाई पढाइभन्दा धनको महत्व बढी लाग्न थाल्यो । आफन्तकोमा सिलाइकटाइ सिक्नुभयो । सिलाइकटाइमै काम थालेपछि बिस्तारै कमाइ पनि हुन थाल्यो । यही क्रममा पढाइ पनि छुट्यो । तर दिमागमा विदेश जाने सोचले भने गाँठो बाँधिसकेको थियो ।
‘साथीहरु सबै विदेश जाने कुरा गर्थे, त्यहाँ गयो भने धेरै कमाइ हुन्छ भन्थे, त्यही भएर मलाई पनि विदेश जान मन लाग्यो’, आवेदले थप्दै भन्नुभयो, ‘तर मलाई के थाहा थियो त, विदेश पठाउनेहरुले नै लुट्छन् भनेर ।’
१९ वर्षकै कलिलो उमेरमा परदेशको आशा गरेर एजेण्टको हातमा मोटो रकम बुझाउनुभयो आविदले । बरियापुरका एकजना उपेन्द्र यादवले सिंगापुरमा फलफुल प्याकिङ गर्ने काम छ, महिनाको एकलाखभन्दा बढी कमाइ हुन्छ, यस्तो मौका सधैं आउँदैन भनेर फकाए । एजेन्टका यस्ता मिठा कुरामा आविदेलाई पनि विश्वास लाग्यो । एजेण्टले आफूलाई भिजिट भिसामा पठाउन थालेको हो सम्म थाहा भएन आविदलाई ।
सोझो आविदले उपेन्द्रको हातमा उनले मागे जति नै दुई लाख रुपैयाँ बुझाए । बुवाले विदेशमा पसिना बगाएर कमाएको मोटो रकम एजेन्टको हातमा बुझाउँदा आविदलाई लागेको थियो, ‘सिँगापुर पुगेपछि त दुई महिनामै कमाउँछु यति त ।’
२०७५ सालको फागुन महिना । मौसम चिसो थियो । तर सिंगापुर जान पाइने र राम्रो कमाउने सपनामा डुबेका आविदलाई भने त्यो चिसोले छोएन । आविद लगायत अरु १३ जनाले पनि यही विश्वास गरेर उपेन्द्रको हातमा उनले मागे जति जनही दुई/दुई लाख रुपैयाँ बुझाए ।
उपेन्द्रले केहि दिनमै मेडिकलको लागि फोन गर्छु भनेर सबैको पैसा लिएर काठमाण्डौ आए । समय बित्दै गयो । एक हप्ता, दुई हप्ता हुँदै एक महिना भयो तर फोन आएन । उपेन्द्रको मोबाइलमा फोन गर्दा फोन सम्पर्क हुन सकेन । एक महिना भित्र उडाउँछु भनेर उपेन्द्र काठमाण्डौ गएको छ महिना बितीसकेको थियो । त्यसपछि आविदलाई डर लाग्न थाल्यो । कतै आफूलाई लुटेर भाग्ने त होइन भन्ने पिरलोले सताउन थाल्यो ।
संगै जाने भनेर उपेन्द्रलाई पैसा बुझाएका साथीहरुलाई सम्पर्क गर्दा बल्ल आविदले थाहा पाउनुभयो, ‘उपेन्द्र त कारागारमा पो रहेछन् ।’ सिंगापुर जान लागेका १३ जनामध्ये ३ जनाले उपेन्द्रलाई काठमाण्डौमा समातेर प्रहरीकाे जिम्मा लगाई आफूले बुझाएको पैसा लिसकेको रहेछन् ।
आविदको विदेश जाने सपना चक्नाचुर भयो । विदेश भन्दा पनि बुवाले रगत पसिना एक गरेर कमाएको पैसा कसरी फिर्ता गर्ने भन्ने चिन्ताले आविदलाई पिरोल्न थाल्यो । यस्तैमा एक वर्ष बितिसकेको थियो । एजेण्ट उपेन्द्र काठमाण्डौबाट छुटेर वीरगञ्ज आएको बेला पैसा लिन बाँकी रहेकाहरु मिलेर उपेन्द्रलाई समातेर प्रहरी चौकीमा थुने । त्यहीबेला उपेन्द्रका ससुराले आफ्नो जमानीमा पैसा तिर्ने भनेर छोडाएर लिए ।
त्यो बेला सात जनाको पैसा फिर्ता गरे यादवले । तर आविद लगायत अझै तीन जनाको पैसा दिन आनाकानी गर्न थाले । बाँकी दुई जनाले उपेन्द्रको ससुरालाई बाटोमा घेरेर कुट्ने धम्की दिएर पैसा लिए । अब पैसा लिन बाँकी आविद मात्र रहनुभयो ।
घरमा एक्ला आविदलाई दखेर उपेन्द्रले पैसा दिन मानेन । उल्टै ‘जे गर्छस् गर, पैसा दिन्न’ भनेर धम्की दिन थाले उपेन्द्रले । आविदलाई पैसा पाइँदैन भन्ने लाग्न थालिसकेको थियो ।
आविद पैसा पाउने आशा मारेर बसेको लगभग दुई वर्ष बित्न लागिसकेको थियो । आविदको हजुरबुवाले कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव सँग आफ्नो सुनाउनुभयो ।
वैदेशिक रोजगार सम्बन्धि सूचना ,परामर्श र समस्यामा परेकालाई सुन्ने शाखा जुन ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र कलैया उपमहानगरपालिकाको साझेदारीमा सञ्चालित आप्रवासी श्रोत केन्द्र रहेको कुराको जानकारी मेयर राजेश राय यादवले उनको हजुरबुवालाई दिनुभयो । त्यसपछि कलैयामा रहेको आप्रवासी श्रोत केन्द्र पुग्नुभयो आविद । आप्रवासी स्रोत केन्द्रले आविदबाट एउटा निवेदन लेख्न लगाएर जिल्ला प्रशासन कार्यालय बारा तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा एजेन्ट यादवलाई थानामा ल्याइयो । त्यसको दश दिनमै एजेन्ट उपेन्द्र यादवले आविदलाई उहाँको पैसा फिर्ता गरे ।
‘मैले त मेरो पैसा सबै डुब्यो भनेर चिन्ता मानेर बसेको थिएँ, आप्रवासी स्रोत केन्द्रका कारण रकम फिर्ता पाएँ’, खुसी हुँदै आविदले भन्नुभयो, ‘केन्द्रले गरेको यो सहयोग म कहिल्यै भुल्दिन, अब बुवालाई मागेको पैसा उहाँलाई नै फिर्ता पठाउँछु ।’
आफूसँग सिलाइ कटाइको राम्रो सीप हुँदाहुँदै पनि विदेश जाने सोच बनाएर त्यत्रो दुःख पाएको सम्झिदा पनि नमिठो लाग्छ आविदलाई । अब यही पेशामा राम्राे गर्ने उहाँकाे साेच छ । गर्न सके देशमै सुन फल्छ भन्ने कुरा मनमा लिइसक्नुभएकाे छ आविदले ।
‘अब वैदेशिक रोजगारमा जाँदिन, स्वदेशमै रोजगार गर्छु, आफ्नो सीप आफ्नै देशमा लगाउँछु’, हँसिलाे अनुहार पार्दै आविदले भन्नुभयाे, 'गर्न सके त देशमै सबै थाेक छ, हामी बेकारमा विदेश विदेश मात्रै भन्छाैँ ।'