उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – सर्लाहीका दिनेश महतो महामारीमा साउदीबाट बल्लतल्ल नेपाल फर्कनुभयो । ज्यान नेपालमा भए पनि अहिले उहाँको मन साउदीमा एक वर्ष काम गरेको तलबमा छ । उहाँलाई कम्पनीले १२ हजार साउदी रियाल दिन बाँकी छ ।
‘साउदीमा छँदा जसरी पनि नेपाल फर्कन पाए हुन्थ्यो जस्तो लाग्थ्यो तर अहिले यहाँ आएपछि यसो सोच्छु एक वर्षको तलब पो पाएको छैन त,’ दिनेश भन्नुहुन्छ, ‘त्यो पैसा लिन पाए हुन्थ्यो जस्तो लाग्छ अहिले त ।’
त्यो पैसा पाए आफ्नो गाउँठाउँमै केही व्यवसाय थाल्ने उहाँको योजना छ । तर पैसा आउला कि नआउला भन्ने अन्यौल छ ।
दोलखाका सुशील खड्काको पीडा पनि कथा उस्तै छ । कोरोनाका कारण रोजगारीका लागि कतार जानुभएका उहाँको कोरोना महामारीमा रोजगारी गुम्यो । जागिर गुमेपछि घर फर्कन पर्यो । तर काम गरेबापतको सात महिनाको तलब उतै छोड्नु पर्यो । महामारीको समयमा कम्पनीले उहाँलाई रित्तो हात घर फर्काइदियो । घर फर्कन खर्च पनि कतारमै कार्यरत अरु श्रमिकसँग सापटी लिन पर्यो ।
घरेलु कामका लागि भारत हुँदै कुवेत जानुभएकी बिमला अधिकारीले पनि कुवेतमा भोग्नुसम्मको दुःख भोग्न पर्यो ।
रातदिन नभनी काममा खट्दा पनि रोजगारदाताले हेप्ने, हप्काउने र पिट्नेसम्म गरे । त्यति धेरै दुःख सहेर काम गर्दा पनि रित्तो हात घर फर्कनु पर्यो ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पैरखी नेपालले आयोजना गरेको भर्चुअल कार्यक्रममा बिमलाजस्तै पीडितहरुले विभिन्न सरोवारवाला निकाय र विज्ञका अघिल्तिर आफ्नो तलब दिलाइदिन अनुरोध गरे ।
नेपालीको मुख्य श्रम गन्तव्य खाडी र मलेसियामा रोजगारीका लागि जाने धेरै नेपाली यस्तै समस्या भोग्न बाध्य छन् । गन्तव्य देशमा श्रमिकहरु आधारभूत हक अधिकारबाटै बञ्चित रहेर काम गर्नुपर्ने अवस्था रहेको विज्ञहरु बताउँछन् ।
रोजगारदाताले आफ्नो अनकूल काम लगाउने तर तलब नदिने घटना पछिल्लो समय निकै बढेको छ । फ्रि भिसा फ्रि टिकटको नियम भए पनि लाखौं रुपैयाँ म्यानपावरलाई बुझाएर परदेशिएका श्रमिकहरु जबर्जस्ती श्रममा परेका छन् ।
श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाल आप्रवासी नेपाली श्रमिकहरु जबर्जस्ती श्रम गर्न बाध्य रहेको बताउनुहुन्छ । भर्चुअल कार्यक्रममा बोल्दै उहाँले परदेशमा नेपाली श्रमिकहरु चरम श्रम शोषण पर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विदेशमा श्रम तथा आर्थिक शोषणमा परेर फर्किएका नेपाली श्रमिकहरुले वैदेशिक रोजगार विभागमा उजुरी गर्दा पनि १५ वर्षसम्म पनि उजुरी फरफारक नभएको अवस्था छ,’ परदेशमा पनि अवस्था उस्तै छ, न्याय पाउन गाह्रो छ ।’
उहाँका अनुसार विभागमा परेका उजुरीमध्येमा ७२ प्रतिशत उजुरी फरफारक भएका छैनन् । जसको कारण पनि श्रमिकहरुको न्यायमा पहुँचका लागि विभिन्न चुनौती देखिएको उहाँ बताउनुहुन्छ ।
पछिल्लो समय स्वच्छ भर्ना र जबर्जस्ती श्रमका विषमा अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले निकै काम गरिरहेको छ भने यस सम्बन्धमा आवाज पनि उठाइरहेको छ ।
आएइलओकी प्रतिनिधि नेहा चौधरीका अनुसार आप्रवासी नेपाली श्रमिकहरु न्यायको पहुँचमा पुग्न सकेका छैनन् । झनै महिला श्रमिकहरुको न्यायमा पहुँच एकदमै दयनीय अवस्थामा रहेको चौधरीले बताउनुभयो ।
आप्रवासी नेपाली श्रमिकहरुको हकअधिकार सुनिश्चितताका लागि सबै सरोकारवालाहरु मिलेर अगाडि बढ्नुपर्ने उहाँले जोड दिनुभयो ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारीको क्रममा भएका ठगीका सबै उजुरी विभागले महत्वका साथ हेर्ने बताउनुभएको छ ।
महानिर्देशक दाहालले विभाग सधैं पीडितको लागि उभिएको बताउँदै विभागमा आफ्ना समस्या र गुनासाहरू राख्न अनुरोध गर्नुभयो ।
‘हामी दिनदिनै सूचना जारी गरिरहेका छौं, तर यी उजुरी किन आएनन् ?’ उहाँले भन्नुभयो, ‘हामी उजुरी लिन खोजिरहेका छौं, पीडितहरुले उजुरी लिएर आउनुपर्यो अनि मात्र न्यायको कुरा आउँछ ।’
म्यानपावरले ठगेको हो भने उसलाई बोलाएर कारबाही गर्ने र गन्तव्य देशमा रोजगारदाताबाट ठगिएको हो भने सम्बन्धित देशमा रहेको नेपाली दूतावासलाई सम्पर्क गरेर न्याय दिलाउन पनि आफूहरु लागिपर्ने महानिर्देशक दाहालले बताउनुभयो ।