उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
आफ्नो इच्छाशक्ति र रुचि भयो भने लक्ष्य भेटाउन सकिन्छ । यो कुरा मैले अनुभव गरेकी छु । सायद मेरो दृढ इच्छाशक्ति थिएन भने आज म यो ठाउँमा हुने थिइनँ कि ।
म ११ वर्ष भयो परदेश लागेको । खाडीको देश यूएईमा म सामान्य रिटेलर सेल्समा आएकी थिएँ । मेरो काम ब्युटी प्रोडक्टहरु बेच्ने थियो । त्यो बेलामा म युवा थिएँ । जोश र जाँगर थियो । मनमा केही गर्नुपर्छ भन्ने हुटहुटी पनि । अनि मुख्य कुरा भनेको म जुन काममा आएको थिएँ, त्यो काममा मेरा लागि रुचि पनि हो ।
म यूएई आउँदा सामान्य कामदारको रुपमा आए पनि मलाई यहाँ थुप्रै अवसरहरु छन् भन्ने थाहा थियो । यस ठाउँमा केही गर्ने आँट र इच्छाशक्ति हुने हो भने धेरै कुरा गर्न सकिन्छ भन्ने मलाई विश्वास थियो ।
मैले यहाँ सुरुमा ६ महिनासम्म ‘ब्युटी कन्सल्टेन्ट’को काम गरेँ । सेल्स फ्लोरमै काम गरेको थिएँ । सायद कम्पनीलाई मेरो काम मन पर्यो । ६ महिनापछि त्यही कम्पनीको हेड अफिसमा बसेर मैले काम गर्ने अवसर पाएँ अर्थात मेरो बढुवा भयो । र मेरो यात्रा पनि यहीँबाट सुरु भयो ।
यूएई आउनुको पछाडि मेरो कथा अलि भिन्न छ । म सानैदेखि आत्मनिर्भर हुन चाहन्थेँ । सिनामंगलमा रहेको एक म्यानपावरमा गएर बुझेँ । त्यतिबेला मलाई यूएई भन्ने पनि थाहा थिएन । दुबई भनेरै बुझिन्थ्यो । मैले त्यहाँको मान्छेलाई दुबईमा काम छ कि नाइँ भनेर सोधेँ ।
त्यहीबेला त्यो म्यानपावरले दुबईमा कामको लागि अन्तर्वार्ता लिँदै रहेछ । अनि मलाई नि जाने भए दुई दिनपछि आउनु भने । मैले त्यो कम्पनीको बारेमा सबै जानकारी चाहियो भनेपछि कम्पनीको बारेमा बताए एउटा राम्रो कम्पनीमा ब्युटी कन्सल्टेन्सको काम रहेछ । कम्पनी र काम राम्रो जस्तो लाग्यो मलाई, अनि जाने निर्णय गरेँ ।
त्यतिबेला नै तलब ४ हजार दिर्हाम थियो । त्यसपछि मैले दुबईको बारेमा थप बुझ्ने प्रयास गरेँ । परिवारलाई सम्झाएँ, अनि मात्र यहाँ आइपुगेँ ।
राम्रो काम, तलब र बुझेर आउँदा मैले कुनै दुःख गर्नु परेन भन्ने होइन । यहाँ आएपछि सुरुवाती दिनहरुमा परदेशको ठाउँमा केही सजिला अप्ठेराहरु हुन्छन् ।
आफ्नो देश र घरजस्तो हुँदैन परदेश । साथीहरुसँग मिलेर कोठामा बस्नुपथ्र्यो । घरमा हुँदा त्यसरी नबसेको मलाई यहाँ विभिन्न देशका साथीहरुसँग एकै कोठामा बस्नुपर्दा केही असहज भयो । तर म चाँडै नै यी सबै कुरामा भिजिहालें । परदेशको चालचलन र रहनसहनमा भिज्न समय त लाग्यो । तर मैले ती कुरामा दुःख मानिनँ ।
परदेशमा दुःख त सबैलाई नै हुन्छ । तर मानिस अनुसार फरक हुन्छ । त्यसलाई तपाईँ कसरी लिनुहुन्छ, त्यसमा पनि भर पर्छ ।
विदेश आउनुभन्दा पहिले आफूले कुन कम्पनीमा जाँदैछु भनेर बुझ्नुपर्छ । त्यस कम्पनीको बारेमा र कामको बारेमा विदेशमा कोही चिनेको मान्छे छ भने उहाँसँग सोध्ने, यदि छैन भने गुगलमा खोजेर भए पनि राम्रोसँग जानकारी लिएर मात्र जानुपर्छ । कानुनी प्रावधानदेखि कम्पनीको संरचना सबैबारे बुझेर आएको राम्रो हुन्छ । यसो गर्दा पछि दुःख बेहोर्नु पर्दैन ।
मैले बुझेअनुसार र यहाँ विभिन्न नेपाली महिलाहरुसँग कुरा गरेअनुसार यहाँ दुःख पाएको भन्नेहरुमध्ये सबै ‘न्यू कमर्स’ हुनुहुन्छ । सुरु सुरुमा सबैलाई गाह्रो हुन्छ नै । जति राम्रो कम्पनी तथा काम भए पनि सुरुका पाँच छ महिना समस्या त हुन्छ नै । त्यो समयमा आफूले त्यो कामलाई कसरी लिनुहुन्छ भन्ने कुरामा भर पर्छ । जस्तो म यहाँ आएको ६ महिनामै मेरो बढुवा भयो । मैले त तीन वर्ष बस्छु र नेपाल फर्कन्छु भन्ने सोचेको थिएँ । तर ११ वर्ष भयो म यहीँ छु । किनकी म यतै खुशी छु ।
सुरुमा म यहाँ आउँदा मैले ब्यटीपार्लर सम्बन्धी कुनै पनि सीप सिकेको थिइनँ । तर ‘ब्युटी’ मेरो रहर थियो । म यति भाग्यमानी थिएँ कि यहाँ आउनेबित्तिकै काम पनि त्यही क्षेत्रमा पाएँ ।
त्यसपछि म त्यही कम्पनीमा ‘ब्युटी कन्सल्टेन्ट’ भएँ । मेरो आफ्नो मेहनतले नै भन्नुपर्छ मेरो बढुवा पनि मेहनत अनुसार नै हुँदै गयो । त्यसपछि मलाई यस क्षेत्रप्रति झन रुचि बढ्दै गयो । तीन वर्ष ब्युटीब्राण्ड म्याक कम्पनीमा काम गरेँ ।
मैले ‘लर्निङ’ र ‘अर्निङ’लाई ध्यानमा राख्दै काम गरेँ र त्यहाँबाट धेरै कुरा सिकेँ । अहिले म अन्तर्राष्ट्रिय श्रृङ्गार कम्पनी ‘सेफोरा’मा स्टोर सुपरभाइजरको काम गर्छु ।
इच्छाशक्ति र रुचि भयो भने आफ्नो लक्ष्य भेटाउन सकिन्छ । यही इच्छाशक्तिले नै आज मैले आफ्नै ब्राण्ड पनि बजारमा ल्याएकी छु । दश वर्षको मेरो अनुभव र मेरो लगनशीलताका कारण आज मैले आफ्नै ब्राण्ड ल्याउन सफल भएकी छु ।
मैले सुरु गरेको ब्राण्ड भनेको ‘साँग्रिला ल्यासेस’ (शाँग्रिला परेला) हो । यो ब्राण्ड मैले २०१९ मा लञ्च गरेको हुँ । यो विश्वभरि नै उपलब्ध छ । जति पनि ल्यासेसहरु बजारमा थिए, तिनीहरुमा भएका कमजोरीहरुलाई ध्यानमा राख्दै मैले नयाँ ब्राण्डमार्फत ल्यासेस बजारमा ल्याएकी हुँ ।
अर्को कारण भनेको मानिसको सुन्दरताको मुख्य अँग नै आँखा हो । हेर्नेको पहिलो नजर उसको आँखामा जान्छ । त्यसैले पनि मैले आइल्यासेसबाटै ब्राण्ड सुरु गरेको हो ।
अहिले कोरोनाको बेला मानिसले मेकअप जति गरे पनि नाक मुख सबै मास्कले छेक्छ । तर आँखा भने अझै पनि खुल्ला हुन्छ । यस्तै अरेबिक महिलाहरुले बुर्काले अनुहार छोपे पनि उनीहरुको आँखा भने छोपिंदैन । उनीहरु आँखाको सुन्दरतालाई एकदमै महत्व दिन्छन् । त्यसैले पनि सही समयमा ब्राण्ड ल्याएछु जस्तो लाग्छ ।
म अहिलेको अवस्थासम्म आइपुग्नको लागि शिक्षा, रुचि र परिवारको साथकै कारण सम्भव भएको हो । म सहि शिक्षामा एकदमै विश्वास गर्छु । शिक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । शिक्षा कम होस् या धेरै, एसएलसी गरेको होस् या मास्टर्स, शिक्षाको सही मूल्य थाहा हुनुपर्छ ।
तपाईँसँग शिक्षा पनि छ, पैसा पनि छ तर पनि परिवारले तपाईँ साथ दिएको छैन भने अघिबढ्न गाह्रो हुन्छ । मलाई पनि परिवारकाे साथ नभएकाे भए याे ठाउँसम्म पुग्न सहज थिएन । मलाई सधै हाैसला दिने, मेराे लक्ष्य प्राप्तिका लागि मलाई हौसला प्रदान गर्ने मेराे श्रीमान् गोम्बु छिरिङ शेर्पालाई म धन्यवाद भन्न चाहन्छु ।
आफ्नो कामप्रति माया र रुचि भने हुनपर्छ यही कुराले नै थप नयाँ गर्नको लागि प्रेरणा मिल्छ । अझ अहिलेको पुस्तामा त यो कुरा एकदमै महत्वपूर्ण छ । हरेक क्षेत्रको बारेमा ज्ञान राख्नुहोस् । आफ्नो क्षेत्र र विज्ञताभित्र मात्र नबस्नुहोस् । त्यसबाट बाहिर निस्केर पनि आफूलाई परीक्षण गर्नुहोस् । हेर्नुहोस् । बुझ्नुहोस् ।
परदेशमा काम लाग्ने भनेको शिक्षा हो । आफू काम गरिरहेको ठाउँमा समस्या आयो, जागिर गुम्यो भने त्यतिबेला आत्तिने होइन । केही गर्न सकिएन भनेर बसिरहने होइन अर्को काम खोज्ने हो । जब सम्म आफ्नो लक्ष्य भेट्टाउनुहुन्न खोज्नुहोस् ।
चाहेको काम पाउनुभएन भने जबसम्म पाउनुहुन्न तबसम्म नथाक्नुहोस् । आफ्नो तत्कालिन काममा खुसी हुनुहुन्न भने दुखी नभएर घर नर्फनुहोस् । आफू गरिरहेको काम नराम्रो भयो भन्दैम देशलाई गाली दिने होइन ।
मनमा नकारात्मक कुरा लिएर घर फर्किने वा निराश भएर बस्नुको साटो धैर्य गर्नुपर्छ । उचित समय आएपछि नयाँ काममा लाग्नुपर्छ । म भन्छु तपाईँ नर्हानुहोस् । हामीले हार मान्नुहुन्न । सधैं सिक्ने कुरामा अग्रसरता देखाउनुहोस् । मेरो आफ्नै ब्राण्ड छ तर पनि मेरो लागि यो नै पर्याप्त होइन । म सिक्ने कुरामा खुल्ला छु । म हरेक दिन नयाँ कुरा सिक्न चाहन्छु । अझैं धेरै गर्न बाँकी छ ।
यहाँ मेरो नै कुरा गर्ने हो भने कम्पनीको काम, घर परिवार अनि आफ्नो व्यवसायको लागि समय मिलाएर अघि बढ्न एकदमै गाह्रो छ ।
मेरो दुई बालबच्चा छन् । १८ महिनाको छोरा छ । साढे तीन वर्षकी छोरी छ । तर पनि यो काममा मेरो चाहना छ । मन बसेको छ । मलाई विश्वास छ आफूमा जे सीप छ, जुन काममा इच्छा छ त्यसैमा लाग्नुहोस् । सफल अवश्य भइन्छ ।