उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – ‘मानिसले कति सजिलै भन्छन्, विदेशमा लोग्ने हुनेहरुलाई त मोज हुन्छ,’ रामेछापको उमाकुण्ड गाउँपालिका प्रीतिकी गीता कार्की यस्तो भन्नेहरुलाई प्रतिप्रश्न गर्दै भन्नुहुन्छ, ‘लोग्ने साथमा नहुँदा समाजको यस्तै सोचलाई झेल्दै बालबच्चा पढाउँदै घर चलाएर देखाउनुहोस्, म विदेश गएर कमाउन तयार छु ।’
गीतालाई थाहा छ अर्काको देशमा दुःख छ । तर एउटी महिलालाई एक्लै घर चलाउन, बालबच्चा पढाउन र बढाउन पनि त सहज छैन ।
परदेशीले साथ दिए त अझ केही सहज होला । तर जो सपना बाँडेर परदेश पुग्छन्, उनीहरुले नै परिवार भुल्न थालेपछि के होला ? गाउँ समाजले ठान्नेजस्तो ‘मोज’ होला त ?
गीता भन्नुहुन्छ, ‘बिजोग हुन्छ ।’ जुन बिजोग उहाँ आफैंले भोग्नुभएको छ ।
आजभन्दा १८ वर्षअघि श्रीमान परदेश लाग्दा गीताको गर्भमा माइली छोरी तीन महिनाकी थिइन् ।
श्रीमान परदेश लाग्दा गीताले पनि सुखी र खुशी दिनको आश त गर्नुभएको थियो । तर मलेसिया पुगेपछि श्रीमानको लय बिग्रियो । कमाइ भएन या भएर पनि त्यसको सही सदुपयोग भएन, त्यो त गीता जान्नुहुन्न तर त्यहीबाट गीताको दुःखका दिन भने सुरु भयो ।
कमाउन गएका श्रीमानलाई पेवा बाख्रा कुखुरा बेचेर साँचेको पैसा पठाएर झिकाउनु पर्यो । त्यही दिनदेखि हो गीताको परदेशीसँग आश मर्यो ।
‘तीन महिनाकी गर्भकी छोरी पाँच वर्षकी भएकी थिई मेरो श्रीमान फर्कंदा’ गीता त्यो दिन सम्झँदै भन्नुहुन्छ, ‘टिकट मात्र हो र काठमाण्डौबाट घर आउने कोसेलीसम्म मैले पेवा पैसाले किन्दिएको छु ।’
पाँच वर्ष मलेसियामा बिताउँदा पनि जब रित्तो हात श्रीमान घर फर्किए, तब गीतालाई लाग्यो श्रीमानको कमाइमा हनै अब आफ्नो लागि आफैं सोच्नुपर्छ । बालबच्चाको भविष्यका लागि आफैंले पौरख गर्नुपर्छ ।
गर्ने के त ?
गीताले आफूले जानेको काम, कुखुरा बाख्रा पालन तथा खेतीपाती गर्न थाल्नुभयो । त्यहीबाट भएको आम्दानीले आफ्नो खर्च पुर्याउनुभयो । केही समय त यसरी पनि चल्यो । तर दिन बित्दै जाँदा बालबच्चा बढ्दै जान्छन्, पढाइ खर्चदेखि हरेक खर्च बढ्छ । उहाँले श्रीमानलाई फेरि कतार पठाउनुभयो । आफूले पनि बजारमा किराना पसल खोल्नुभयो ।
‘मलेसिया पो देश त्यस्तो त कतारतिर त कडा हुन्छ, उहाँले केही कमाउनुहोला भन्ने सोचें तर कतारमा पनि उहाँले वर्ष बिताउनुभयो, कमाउनुभयो, आफैं खानुभयो फर्कनुभयो,’ गीता भन्नुहुन्छ,’ कमाउन र जमाउन त मन चाहिने रहेछ, देश हैन ।’
जान त कतारबाट फर्किएर गीताका श्रीमान् साउदी जानुभयो । साउदीबाट फर्किएर कतार जानुभयो, अहिले साउदीमै कार्यरत छन् । तर जुन देश गए पनि चालचलन बदलिएन ।
‘घर राम्रो बनाउँ, सुखैसुखले सजाउँ भनेर त कसलाई लाग्दैन र, तर त्यो सपना पूरा गर्न अरुको आश गर्न नहुने रहेछ,’ गीताको अनुभवले भन्छ, ‘आफ्नो लागि सधैं आफैं खट्नपर्छ ।’ किनकी गीता कहिले पनि श्रीमानको कमाइमा भर पर्नु भएन ।
भन्छन् जिन्दगी दुःख र सुखको चौतारी हो । कहिले दुःख त कहिले सुख । तर दुःखमा होस् या सुखमा आत्तिन र मात्तिन हुँदैन ।
स–साना बालबच्चा अनि घर व्यवहार । गीताको अघिल्तिर दुःखको ठूलो पहाड थियो । तर उहाँले आफ्नै मेहनतले त्यो पहाड फोर्नुभयो ।
‘श्रीमानले साथ नदिंदा पनि घरव्यवहार सम्हाल्नु भएको एउटा आँट हो, आँट विना हामी केही पनि गर्न सक्दैनौं,’ गीता मुस्कुराउँदै भन्नुहुन्छ । गीताले श्रीमानले कमाएर दिएनन् भनेर कहिल्यै पनि मनमा आउन दिनुभएन । त्यही कुरालाई सम्झेर दुःखी पनि हुनु भएन ।
उहाँलाई दुःख त त्यतिबेला लाग्थ्यो, जतिबेला बालबच्चा बिरामी हुन्थे, उनीहरुलाई औषधी ल्याइदिने मानिस हुँदैन थिए ।
त्यो बेला सोच्नु हुन्थ्यो ‘केही नभए पनि साथमा श्रीमान भइदिएको भए ।’
अरुका श्रीमान श्रीमतीले मिलेर घर चलाएको देख्दा पनि उहाँको मनमा चिसो पस्छ । मन दुख्छ । ‘मेरो पनि यस्तै भइदिएको भए’ गीता कल्पना गर्नुहुन्छ ।
तर आफूसँग जे छैन, त्यही नभएको कुरा खोजेर थप दुःखी किन हुनु ? आफूसँग जे छ त्यसमै खुसी हुन सिक्नुर्छ । गीताले कुखुरा पालेर, बाख्राखसी बेचेर र पसल चलाएर छोराछोरीलाई विद्यालय पठाउनुभयो । आफूले घर व्यवहार चलाउनुभयो ।
एक्लै छोराछोरी पढाउनु र घर व्यवहार चलाउनु सजिलो त थिएन । कहिले पैसाको त कहिले श्रीमानको अभाव नभएको पनि हैन । तर गीता त्यो अभावमा पनि डगमगाउनु भएन । आफ्नो बाटो निरन्तर अघि बढिरहनु भयो ।
उकालो होस् या ओरालो, सम्म होस् या भिरालो, निरन्तर हिँडिरहेपछि गन्तव्यमा नपुग्ने कुरै भएन । गीतालाई पनि हिजोआज आफूले गन्तव्य भेट्टाए जस्तो लाग्छ ।
आफ्नै कमाइले उहाँले तीन छोरी र एक छोरा पढाउनुभयो । जेठी छोरीले त अनमी पढेर कमाइ गर्न थालेको पनि चार वर्ष भइसक्यो । उहाँकै घरमाथिको प्रीति बजारमा १२ आना जग्गा पनि किन्नुभयो । घर बनाउनुभयो । अहिले त व्यापार पनि बढेको छ ।
बालबच्चा साना हुँदा गीतालाई एक्लो छु जस्तो लाग्थ्यो । आइपरेका हरेक दुःखसँग एक्लै लड्न पथ्र्यो । तर अहिले समयले फन्को मारिसक्यो । श्रीमान परदेशमै भए पनि छोराछोरी साथी भएका छन् । काममा मात्र होइन, कमाइ गरेर घर चलाउन पनि सहयोग गर्न थालेका छन् ।
‘दुःखमा डराइनँ, श्रीमान परदेशमा छन् भनेर आफ्नो धर्म छाडिनँ, दुःख गरेँ र त मेरो आज यो दिन आएको छ,’ गीता भन्नुहुन्छ, ‘त्यो बेलामा नै खुट्टा तानेको भए आज मेरो घर भत्ताभुङ्ग हुने थियो ।’
गीताले बनाएको संसार देखेर आज साउदीमा कार्यरत उहाँको श्रीमानले पनि गर्व गर्छन् । आफूले कमाएर सहयोग नगरेमा पछुतो मान्छन् ।
‘तिमी मेरो जन्म दिने आमापछिको अर्को आमा हौ, म बिग्रिए पनि तिम्रो साथले मेरो घर बिग्रिएन भन्नुहुन्छ आजकाल त,’ फेरिएका श्रीमानको व्यवहार सम्झँदै गीता भन्नुहुन्छ ‘हिजोआज त पैसा पनि पठाउन थाल्नुभएको छ, चार छ महिनामा एकलाख जस्तो पठाउनुहुन्छ, तर उहाँको कमाइ मैले उहाँकै ऋण तिरिदिएको छु ।’ पहिले बुद्धि बिग्रिए पनि अब दुःख नदिने प्रतिज्ञा गरेका छन् गीतासँग श्रीमानले ।
अँध्यारो रातपछि सुनौलो बिहानी भएझैं भएको छ गीताको जीवन हिजोआज । परदेश बसेको १८ वर्षपछि श्रीमानको पनि परिवारप्रति लगाव बढेको छ ।
छोराछोरीले राम्रो पढिरहेका छन् । जेठी छोरीले कमाइ गरिरहेकी छन् । अरुले पनि पसल र होटलको काममा फुर्सद भएको बेलामा सघाउँछन् । ‘छोरीले पनि बुवाको कमाइ छैन, केही नभन्नु है ममी बुवालाई भन्छे । मैले पनि श्रीमानलाई आफ्नो राम्रोसँग बस्नु, मन नभए आउनु यहीँ दुई जना मिलेर केही गरौंला भन्छु’ गीता भन्नुहुन्छ ।
छोराछोरीले पनि गीताको मेहनतप्रति गर्व गर्छन् । आमाले दुःख गरेर यहाँसम्म ल्याउनुभयो भनेर गीतालाई हामी छौं भन्दै ढाडस दिन्छन् ।
छोराछोरीको माया र साथले नै अझै पनि केही गर्छु भन्ने आँट पलाउँछ ।
‘मैले जीवनमा कति दुःख गरें, कति संघर्ष गरें त्यो त छदैंछ, तर अहिले मेरो दुःख र संघर्षलाई मेरो छोराछोरी गर्व गर्छन्,’ गीता मुस्कुराउँदै भन्नुहुन्छ, ‘मेरो लागि यो भन्दा खुसी अरु के हुनसक्छ र, ती सारा दुःख उनीहरुलाई देखेपछि छिनमै भुल्छु ।’
श्रीमान कमाउन परदेश लागेपछि श्रीमती पनि सहर लाग्ने प्रवृति बढ्दो छ । तर गीता भने त्यसरी श्रीमानको मात्र कमाइमा भर नपर्न सबै परदेशीका श्रीमतीलाई अनुरोध गर्नुहुन्छ ।
भन्नुहुन्छ, ‘एउटा पाडो, एउटा कुखुरो मात्र पाले पनि लाख हुन्छ, हामी कहिले विदेशबाट पैसा आउँछ र खाउँला भनेर बस्यौं भने त बर्बाद हुन्छ ।’
श्रीमान परदेश लागेपछि श्रीमतीले अनेक दुःख झेल्नपर्छ । तर दुःखमा नडराउन र बाटो नबिराउन उहाँको सुझाव छ । जुन उहाँले पनि गर्नुभयो ।
उमेरले ४० कट्नुभएकी गीतालाई अब भने श्रीमानलाई पनि स्वदेश फर्काउन मन छ । आफूले जमाएको सृष्टीमा दुईजना मिलेर थप मेहनत गर्न मन छ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।