उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
इलाम – माङ्गसेबुङ्ग गाउँपालिका–२ इलामका राजकुमार राई चौथो पटक विदेश जान भन्दै घरबाट बिदा मागेर काठमाण्डौ हिँड्नुभयो । तर लकडाउनका कारण विदेश जाने जहाज उडेन । घर फर्कने गाडी पनि चलेनन् ।
कुनै दिन त जहाज खुल्ला र विदेश जान पाइएला भन्ने आशमा दुई महिना काठमाण्डौमा बस्नुभयो । बोकेको खर्च सकियो । काठमाण्डौ सहरमा कति दिन बस्ने ? त्यसपछि गाउँ फर्कनको लागि घरबाट गाडीभाडा माग्नुभयो । अनि विदेश जाने कमाउने र जमाउने सोच र सपनालाई छाडेर घर नै फर्कनुभयो ।
जहाज उडेको भए यतिबेला मलेसियामा पसिना बगाउँदै हुनुहुन्थ्यो राजकुमार । तर जहाज उडेनन् र त उहाँले अहिले आफ्नै माटोमा आफ्नो मालिक आफैं बन्न पाउनुभएको छ ।
बाँझो बारी खनेर हराभरा बनाउनु भएको छ । भन्नुहुन्छ –‘धनकोभन्दा मनको आनन्द छ अहिले ।’
घर बिदामा आउनुभएका राजकुमार समयमा मलेसिया फर्कन नपाएपछि बाख्रा पालन थाल्नुभएको छ । महामारी नै भए पनि एक लाख रुपैयाँ ऋण लिएर ३५ वटा बाख्रसहितको फार्म सुरु गर्नुभएको छ । परदेशका दुःख सम्झँदा अब उहाँ यहीँ स्वदेशमै उद्यमी बन्ने लक्ष्यका साथ अघि बढ्नुभएको छ ।
‘यत्तिको आनन्द त विदेशमा काम गरेर तलब पाउँदा पनि लागेको थिएन,’ राजकुमार आफ्नो अनुभव सुनाउनुहुन्छ ।
राजकुमारले स्थानीय जातका बाख्रा पालनबाट फार्म सुरु गर्नु भएको छ । बोयर, जमुनापारी लगायतका उन्नत जातका बाख्रापालन गर्ने उहाँको उहाँको भावी योजना छ । ३५ मुरी फल्ने खेतमा ७० मुरी फल्ने गरी खेती विस्तार गर्नु भएको छ । अब अम्रिसो र अलैंची पनि लगाउने सोच छ उहाँको ।
पाँच जनाको परिवार पाल्न राजकुमारले १२ वर्ष विदेशमा पसिना बगाउनु पर्यो । मलेसियामा पाँच वर्ष, साउदीमा चार वर्ष र कतारमा तीन वर्ष बिते उहाँको । विदेश छँदा सबैभन्दा धेरै दुःख उहाँ कतारमा रहँदा भयो । सप्लायर्स कम्पनीमा सामान डेलिभरी गर्ने काम थियो ।
कम्पनीको व्यवस्थापन पक्ष नराम्रो भएकाले उहाँलाई प्रहरीले पक्राउ गरिरहन्थ्यो । एकपटक त जेल चलान नै गर्यो प्रहरीले । १२ घण्टासम्म भोकभोकै जेलमा बस्नुपर्यो । अवैध सामान ल्याएको भन्दै प्रहरीले पक्राउ गर्न थालेपछि उहाँ कतार छाडेर नेपाल फर्कनुभयो ।
उहाँ दुखेसो पोख्दै भन्नुहुन्छ, ‘आफ्नै पैसामा बेचिएर जानु छ, अरुको देशमा अरुकै शासनमा चल्नु छ, काममा पेलिनु छ, यत्तिका वर्ष विदेशमा बिताएँ, केही उपलब्धि हासिल भएन, नगरेर पो नभएको रहेछ त गर्दा त हुने रहेछ नि ।’
१२ वर्ष विदेशमा गरेको दुःखले नै हो उहाँलाई दुःख गरे विदेशमा मात्र होइन स्वदेशमा पनि केही गर्न सकिन्छ भनेर सिकाएको पनि । धेरैको सोच त विदेशमा दुई चार वर्ष कमाएपछि नेपालमा बाँकी जीवन सुखैमा काटौंला भन्ने पनि हुन्छ । तर राजकुमारलाई लाग्छ, ‘मानिसले बाचुन्जेल दुःख गर्नैपर्छ । त्यसो हो भने परदेशमा किन गर्ने ?’
स्वदेशमा आज कामको जग बसाए भोलि त्यसबाट फाइदा लिन सकिन्छ भनेर बुझ्नुभएको छ उहाँले । त्यसैले पनि राजकुमारको सोच अब जति पनि दुःख नेपालमै गर्ने छ । देशमा काम गर्दा परिवारको साथ र आँटले पनि सफल भइन्छ भन्ने उहाँको विश्वास छ ।
राजकुमारलाईझैं आनन्द छ सुर्योदय नगरपालिका – १२ का छविलाल अधिकारीलाई पनि । सात वर्ष मलेसिया बसेपछि उहाँलाई समयको महत्व थाहा भएको छ । मेहनत गरे रोजगारी भन्दै भौंतारिंदै हिँड्न नपर्ने उहाँको बुझाइ छ ।
सात वर्ष विदेशमा दुःख गरेको रकमले एक तले घर बन्यो । लागेको ऋण चुक्ता भयो । तर काम नगरी खान पाइने अवस्था आएन । यसैले उहाँ विदेशभन्दा स्वदेशकै माटो मलिलो बनाउनमा आनन्द मान्न थाल्नु भएको छ । बिहान पाँच बजे उठेर छ बजे बारीमा निस्कने छविलाल साँझ छ बजेसम्म त, कहिले नौ बजेसम्म नै बारीमा भेटिनुहुन्छ ।
उहाँको बारीमा फलेका बालीमध्ये यो साल इस्कुसले राम्रो कमाई दिएको छ । इस्कुस मात्रै एक सय ७० मन, लामधारी .(खुर्सानी) एक क्वीन्टल, काँक्रो सात हजार वटा, अकबरे खुर्सानी २० किलो बिक्री गरिसक्नु भएको छ । अन्य बालीबाट लगभग उत्पादन सकिए पनि इस्कुसबाट भने अझै आम्दानी भैरहेको छ । यसको जरासमेत बिक्री गर्न सकिने भएकाले यसबाट दोहोरो फाइदा लिन सकिन्छ ।
इस्कुस पाँच रोपनी, काँक्रो तीन रोपनी, घाँस तीन रोपनी, लामधारी (खुसार्नी) दुई रोपनी, अकबरे डेढ रोपनी, अदुवा, सिमी एक/एक रोपनीमा लगाउनुभएको छ । इस्कुस भने पाँच रोपनीमा खेती गरिएको छ । यो भने बारी लिजमा लिएर उहाँले खेती गर्नु भएको हो । लिजमा लिएको जग्गामा वार्षिक २५ हजार रुपैयाँ तिर्नु पर्छ । यस वर्ष भने इस्कुस थप चार रोपनीमा थप्ने योजना छ उहाँको ।
छविलालको बाख्रा फार्म पनि छ । २०७६ मा अधिकारी पशुपालन व्यवसाय बाख्रा फार्म दर्ता गर्नुभयो । त्यो बेला भने बुवा हुनुहुन्थ्यो । छविलाल भने विदेशमै पसिना बगाइरहनु भएको थियो । चार वटा बाख्राबाट सुरु गरिएको फार्ममा अहिले ४६ वटा बाख्रा छन् ।
भर्खरै मात्र १८ वटा बाख्रा बिक्री भइसकेको छ । दशैँ तिहार लक्षित गरी बोका मात्रै ४० वटा तत्कालै फार्ममा थप्दै हुनुहुन्छ । पुख्र्यौली कृषि पेशालाई जीविकोपार्जन मात्रै होइन व्यवसायिक बनाउन उहाँ अहिले दिन रात खटिरहनु भएको छ ।
नयाँ बाली थप्ने क्रममा भर्खरै मात्र उहाँले बजार अवलोकन गर्न च्याउ उत्पादनमासमेत लागि पर्नुभएको छ । खेती गरेको सुरुकै वर्षमा दुई सय बल च्याउ छ । अझै केही बाँझो बारी बाँकी छ । यसमा पनि आलु रोप्ने, कुखुरा पालन गर्ने र जमिनको सदुपयोग गर्ने उहाँको भावी योजना छ ।
राजकुमार र छविलाललाई जति नै आनन्द याम राईलाई पनि छ । सन्दकपुर गाउँपालिका–२ का यामलाई अलैँचीको व्यवसायिक खेती गर्छु भन्ने लागेको थिएन ।
तर लकडाउनले उहाँलाई व्यवसायिक खेतीमा लाग्न प्रेरित गरेको हो । २०७५ सालमा साउदी पुग्नुभएका उहाँ छुट्टीमा नेपाल आउनु भएको थियो । कोरोना महामारीका कारण लकडाउन भयो । कम्पनी मालिकलाई फेरि आउँछु भन्ने बचन दिएर नेपाल आउनु भएका उहाँ पुनः फर्केर जानै पाउनु भएन ।
लकडाउनले रोकिनु भएका उहाँ अहिले अलैँची खेतीलाई व्यवसायिक बनाउन गाउँघरमै पसिना बगाउदै हुनुहुन्छ । भर्खरै मात्र उहाँले एक सय ५० बोट अलैँची बगानमा थप्नु भएको छ ।
योसँगै उहाँको बगानमा दुई हजार ५० वटा अलैँचीका बोट भएका छन् । यी सबै स्थानीय जातका हुन् । अब भने भार्लाङ्ग, रामसाई, गोल्साई लगायत जातका बिरुवा रोप्ने उहाँको योजना छ । उहाँ भन्नुहुन्छ, ‘जीवनमा जतिबेला कसैको डर, दबाब र खटन हँुदैन त्यो बेला साँच्चै नै आनन्द लाग्दो रहेछ ।’