उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
कोरोना महामारीले देशमा मात्र होइन संसारी भरी नै रोजगारीका क्षेत्रहरुमा प्रभाव परेको छ । काम खोज्दै देश छाडेर खाडी र मलेसिया पुग्नेहरु पनि यतिबेला काम र कमाइ नभएपछि रित्तो हात घर फर्किइरहेका छन् । महामारीको चपेटामा परेकालाई देशभित्रै केही गरौं भन्ने सोच त छ, तर कतिपयले के गर्ने भनेर भेउ पाउन सकेका छैनन् ।
कतिपयले भने देशभित्र पनि काम र कमाइ गर्न सकिन्छ भन्ने विश्वास नै गुमाइसकेका छन् । तर यसवर्ष सरकारले महामारीसँग लड्न र विदेशबाट फर्कनलेलाई देशभित्रै रोजगारीमा जोड्न, सीपयुक्त बनाउन विशेष योजना ल्याएको छ ।
आफैं पनि विभिन्न माध्यमबाट रोजगार र स्वरोजगार बन्न सकिन्छ । कसरी त ? के के छन् त अवसर र सम्भावना ? श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुमन घिमिरेसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीको संम्पादित अंश ।
***
सरकारले विभिन्न निकायबाट विभिन्न प्रकारका वित्तीय, गैर वित्तीय, व्यवसायिक प्रकारका सेवा सुविधाहरु सरकारले उपलब्ध गराइरहेको छ । त्यस्तै निजी क्षेत्रले पनि आफ्ना विभिन्न खालका नयाँ स्किम ल्याएका छन् । जस्तो अहिले शिक्षित वर्गको लागि सूचना प्रविधिमूलक सेवा सुविधाहरुको पनि अहिले विस्तार भइरहेको अवस्था छ । तसर्थ श्रम बजारमा अहिले रोजगारी तथा स्वरोजगारीका अवसरहरु जे जे छन् त्यसैमा हामीले जोडिनुपर्यो ।
विदेशबाट फर्कनुभएको छ या देशभित्रै पनि रोजगारी गुमाउनुभएको छ भने तपाईँहरु तीन, चार क्षेत्रमा जोडिन सक्नुहुन्छ । एउटा त सरकारी आयोजनामा तपाईँहरु जोडिन सक्नुहुन्छ । जस्तो ठूला पूर्वाधार, खानेपानी, सडक निर्माण, जलविद्युत आदि आयोजनाहरुमा उपलब्ध रोजगारीमा जोडिन सक्नुहुन्छ ।
सरकारले त विभिन्न प्रकारका वित्तीय सेवाहरु पनि बढाउने भनेको छ । सीपमूलक तालिम दिने पनि भनिरहेको छ । तर कोरोनाको जोखिमका कारण अहिले तालिम दिने कुरालाई रोकेको छ । विस्तारै सम्भाव्य ठाउँमा सञ्चालन गर्ने योजना र सम्भावना छ ।
स्थानीय स्तरमा उपलब्ध हुने रोजगारीको लागि त्यही गाउँपालिका तथा नगरपालिकाले माग गरेर त्यहीँ स्थानीय तहमा सञ्चालन गर्ने गरी घुम्ती तालिमको पनि व्यवस्था गरेको छ । त्यसको कार्यविधि अन्तिम चरणमा पुगेको छ । हामी छिटै त्यसलाई स्वीकृत गरेर पठाउँदैछौं ।
अर्को क्षेत्र भनेको निजी क्षेत्र हो । निजी क्षेत्रले अहिले अत्यावश्यक सेवाहरु जस्तै औषधि, कृषि आदिलाई निरन्तरता दिइरहेका छन् । त्यसमा पनि जोडिन सकिन्छ ।
अर्को कुरा सहकारीले पनि व्यक्तिहरुलाई सानो ठूलो समूहमा आवद्ध गरेर यसको सम्भावना उच्च देखिएको छ । प्रदेश सरकार, स्थानीय सरकारबाट पनि कृषि सहकारीको सम्भावना झनै उच्च देखिएको छ । त्यसैगरी अरु विभिन्न संघ संस्थाबाट उपलब्ध हुन सक्ने रोजगारी पनि हुन सक्छन् । त्यसमा पनि आवद्ध हुन सकिन्छ ।
विदेशबाट फर्किएका तथा स्वदेशमै बेरोजगार बसेकाहरुको लागि हामीले प्राथमिकताका साथ सञ्चालन गरेको भनेको प्रधानमन्त्री राजगार कार्यक्रम पनि हो । साह्रै न्यून आय भएका र बाँच्नै गाह्रो भएकाहरुले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पहिलो प्राथमिकतामा राखेर रोजगारी दिने हो ।
तर यसमा रोजगारीको लागि निवेदन त दिन पाइयो । त्यहाँ प्राथमिकतामा नपरेकालाई पनि हामीले उहाँको योग्यता अनुसार अन्य कुन ठाउँमा काम छ त्यहाँ सिफारिस गरेर रोजगारी प्राप्त गर्नमा सहयोग गर्छाैँ ।
स्थानीय स्तरमा कुन कुन प्रकारका रोजगारीका अवसरहरु उपलब्ध छन्, कस्ता प्रकारका सहकारीहरु छन् अथवा स्वरोजगारका अवसरहरु के के हुनसक्छन् भन्ने कुराको जानकारी गराउनको लागि रोजगार केन्द्रको स्थापना गरेका छौं । त्यहाँ गएर बुझ्न र आवश्यक सूचना लिन सकिन्छ ।
साथै रोजगार सेवा केन्द्रमार्फत नै व्यक्तिलाई कुनै न कुनै काममा जोड्ने अथवा कुनै न कुनै प्रकारका स्वरोजगारमा क्रियाशिल तुल्याउनको लागि नै रोजगार सेवा केन्द्रको स्थापना भएको हो । यो क्रमशः संस्थागत पनि हुँदैछ ।
तसर्थ सरकारी अथाव निजी क्षेत्रले केकस्ता प्रकारका रोजगारी, सीपमूलक तालिम, वित्तीय सेवाहरु तथा सरकारले जारी गरेका स्किमहरुमा बेरोजगार व्यक्तिको पहुँच वृद्धि गरिदिने, उनीहरुलाई त्यहाँ लगेर जोडिदिने लगायतका सम्पूर्ण प्रकारका सेवाहरु रोजगार सेवा केन्द्रबाट दिने गरी व्यवस्था गरेका छौँ ।
त्यसैले बेरोजगार रहनुभएका तथा वैदेशिक रोजगारीबाट फर्किनु भएका युवाहरुले आफूसँग भएको सीप देखाएर स्थानीय स्तरमा उपलब्ध हुने रोजगारीमा जोडिन पनि सक्नु हुन्छ ।
युवा परिषदले पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सात दिनको उद्यमशिलता विकासका पाठ्यक्रम बनाएर तालिम पनि दिइरहेको छ । चार, पाँच जाना मिलेर स्वरोजगारका लागि व्यवसायिक तालिम लिन सकिन्छ ।
एक जना मात्रले गाई पाल्यो भने खानको लागि मात्र हुन्छ, तर पाँच जना मिलेर २० वटा गाई पाल्यो भने आम्दानी पनि बढ्छ र व्यवसायिक रुपमा गर्न सकिन्छ । त्यसैले व्यावसायिक योजनाहरु बनाउन सिकाउने पनि विभिन्न कार्यक्रमहरु छन् ।
स्थानीय सरकारले पनि यस्ता कार्यक्रम गर्न सक्छ, त्यसमा हामीले सहजिकरण गर्न सक्छौं । जे जे अवसरहरु हामीसँग उपलब्ध छन्, त्यहाँको सम्भावना हेरेर हामी काम गर्न सक्छौं ।
त्यसैगरी युवाहरुलाई नवप्रवद्र्धन गर्ने तथा सुरुवाती पूँजी उपलब्ध गर्नलाई पनि सरकारले युवा परिषदको स्थानीय स्तरको समिति पनि बनाएको छ । त्यसको सदस्यसचिव रोजगार संयोजकहरुलाई बनाएको छ ।
विदेशबाट फर्किएकाहरुलाई देश भित्रैका रोजगारीका अवसरहरुमा जोडिन पहिलो कुरा त उहाँहरु स्वस्थ शरीर लिएर घर पुग्नुपर्यो ।
घर पुगेर नआत्तिकन धैर्यतापूर्वक आफूलाई तयार पारेर समाजमा घुलमिल हुनुपर्ने छ । दोस्रो कुरा उहाँहरुले सिकेर आउनुभएको सीप, व्यवस्थापकीय क्षमतालाई आफ्नो क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भनेर त्यो सम्भाव्यता हेर्नुपर्यो । अर्को कुरा उहाँले आफ्नो दक्षताअनुसार काम पायो भने त्यही संलग्न हुन पनि सक्नुहुन्छ ।
पाउनुभएन भने पनि आफैंले व्यवसायिक योजना बनाएर त्यसैमा लाग्न पनि सकिन्छ । लकडाउनले गर्दा धेरै रोजगारीका क्षेत्रहरु बन्द भएका छन्, त्यसैले अहिले दीर्घकालिन काम नपाइन पनि सक्छ । अहिलेको अवस्थाअनुसार पार्टटाइम जब पाउनुभयो भने त्यही पनि गर्न सक्नुहुन्छ ।
पहिले हामी मजदुरीका लागि खाडी देश जान्थ्यौं भने केही समय पहिले मात्रै हामीले त्यही जहाजमार्फत खाडीमा नेपालको तरकारी पठाएका छौँ।
हामी रोजगारी गुम्यो केही गर्न नसकिने भइयो भनेर चिन्तित हुनुभन्दा पनि अब हामी केही गर्न सक्छौं भनेर सकारात्मक सोचेर अघि बढ्नु पर्छ ।
अब हामी आफैं काम गर्न गएको देशमा खाद्यान्न र तरकारी उत्पादन गरेर हामीले विदेश निर्यात गर्न सक्छौं । हामीले गर्ने प्राथमिकता सोच सबै चाहिन्छ । सरकार र निजी क्षेत्रको पनि केही लगानी चाहिएला । त्यसैले हामीले गुणस्तरीय खाद्यबालीहरु उत्पादन गरेर विदेशमा निर्यात गर्नको लागि पनि प्रशस्त सम्भावना छ । त्यसैले यो क्षेत्रमा पनि लाग्न सकिन्छ जस्तो मलाई लाग्छ ।