कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
लमजुङ – पढ्ने धोको हुँदाहुँदै घरको आर्थिक अवस्थाले गर्दा लमजुङ सुन्दरबजार नगरपालिका–२, परेवाडाँडाका रवि गोतामेले खासै पढ्न पाउनुभएन । घर व्यवहारले च्याप्दै लगेपछि उहाँले बीचैमा पढाइ छोडेर विदेश भासिनुपर्याे ।
‘घरको अवस्थाले गर्दा खासै पढ्न सकिएन,’ उहाँले भन्नुभयो, ‘पैसा कमाउनका लागि १८ वर्षकै उमेरमा विदेश गएँ ।’
विदेश बसाइ: दुःख धेरै, कमाइ कम
साढे २ वर्षसम्म उहाँ कतारमै बस्नुभएका गाेतामेकाे भागमा विदेशमा दुःख धेरै, कमाइ कम भयो । खासै राम्रो कमाई नभएपछि उहाँलाई विदेश बसिरहन मन लागेन । विदेशमा पनि खासै कमाइ नभएपछि उहाँ गाउँ फर्कनुभयाे।
‘बिल्डिङ कन्स्ट्रक्सन’मा लेवरको रुपमा काम गरेँ । ५५ डिग्रिको घाममा खटिनुपर्ने, साहै दुःख थियो । कमाई पनि राम्रो भएन,’ उहाँले आफनो साढे २ वर्षे विदेश अनुभव सुनाउनुभयो ।
गाउँ फर्केपछि उहाँले घर ‘पेन्टिङ’, ‘प्लाष्टर’ गर्ने काम गर्नुभयो । २०७० सालमा बिहे गरेपछि उहाँको काँधमा जिम्मेवारी थपियो । नियमित काम नहुँदा घरव्यवहार चलाउन झनै सकस भयो । घरको गर्जो टार्न समस्या हुँदै गएपछि आफ्नै कुनै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोच पलायाे । लगत्तै, उहाँले जुत्ता–चप्पल मर्मतका साथै बिक्री गर्ने पुख्र्यौली पेशालाई व्यवसायका रुपमा सुरु गर्नुभयो ।
सुरुमा उहाँले घरमै जुत्ता–चप्पल सिलाउने काम गर्नुभयो । यसबाट महिनाको ८-१० हजार कमाइ हुन्थ्यो तर यतिले गर्जो टार्न समस्या नै भयो । त्यसपछि उहाँले तनहुँको मानेचौकामा जुत्ता–चप्पल सिलाउने व्यवसाय सञ्चालन गर्नुभयो । मानेचौकामा पनि राम्रो कमाई भएन।
व्यवसायबाट कमाइ नभए पनि हरेश नखाइ उहाँले यही व्यवसाय सुन्दरबजारमा सुरु गर्नुभयो । सुन्दरबजार नगरपालिकाको कार्यालय अगाडि उहाँले ‘श्वेता सुज सेन्टर’ सञ्चालनमा छ ।
जुत्ता–चप्पल सिलाएर महिनामै ३० हजार कमाइ
सुन्दरबजारमा सञ्चालित व्यवसायबाट उहाँले मनग्य कमाउँदै आउनुभएको छ ।
‘पहिले घरगाउँमा व्यवसाय सुरु गरियो । खासै कमाइ भएन । अहिले सुन्दरबजारमा यो व्यवसाय सञ्चालन गरेपछि राम्रो कमाइ भएको छ,’ जुत्ता सिलाउँदै उहाँले भन्नुभयो ।
जुत्ता–चप्पल सिलाइ र मर्मत बिक्रीबाट उहाँले अहिले मासिक २५ देखि ३० हजारसम्म आम्दानी गर्दै आउनुभएकाे छ । विशेषगरी उहाँले सञ्चालन गरेको सुज सेन्टरमा जुत्ता–चप्पल मर्मत गर्न आउनेको संख्या धेरै हुन्छ । उहाँकाे पसलमा सुन्दरबजार, खत्रीठाँटी, दुराडाँडा, कुन्छा, परेवाडाँडा, मानेचौका लगायतका ठाउँबाट मानिसहरुरु जुत्ता–चप्पल सिलाउन आउने गरेको उहाँ बताउनुहुन्छ ।
बावु-बाजेबाट सिकेको सीप, जीवन जिउने आधार
रविका हजुरबुवा सुकमानसिंह र बुवा श्याम गोतामे दुवै जुत्ता–चप्पल सिलाउनका साथै बनाउन सिपालु थिए । सानैबाट बाउबाजेबाट उहाँले पनि यो काम गर्न सिक्नुभयो । उहाँहरुबाट हिजो सिकेको सीप आज रविको जीवन चलाउने दरिलो आधार बनेको छ ।
‘बाउबाजेको बिँडो थाम्दै यो व्यवसाय सञ्चालन गरेको छु । उहाँहरुबाट सिकेको सीपलाई व्यवसायिक रुपमा चलाएको छु । घरव्यवहार चलाउने आधार नै यही व्यवसाय हो,’ उहाँले गर्वका साथ सुनाउनुभयो ।
पछिल्लो समय पुख्र्यौली पेशामा युवाको खासै आकर्षण छैन । तर रविले पुख्र्यौली पेशा अपनाएरै राम्रो कमाउँदै आउनुभएको छ ।
‘समाजले ईज्जतले हेर्दैन भन्ने सोचका साथै मनमा लाज पालेर हुनसक्छ युवाहरु यो काम गर्न मान्दैनन,’ २७ वर्षे रविले भन्नुभयो, ‘दुःख गरेर खान के को लाज ?’ हातमा सीप भएर काममा खट्नसके कम लगानीमै राम्रो कमाइ गर्न सकिने उहाँकाे अनुभव छ।
व्यवसाय सञ्चालनमा रविलाई श्रीमती सुस्मिताको पनि साथ–सहयोग मिलेको छ । सुस्मिताले पनि जुत्ता–चप्पल आफैँ सिलाउनुहुन्छ । उहाँहरुको कामलाई धेरैले खुलेर तारिफ गर्छन् । गोतामे दम्पतीका छोरा रिजन र छोरी श्वेता निजी स्कूलमा पढ्छन् । यसै पेशाबाट आफ्नाे परिवार पाल्दै आउनुभएका गाेतामेकाे जुत्ता–चप्पल मर्मतका साथै नयाँ जुत्ता–चप्पल उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने लक्ष्य छ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।