परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काम गरौँ ठाम छैन । ठाम पाए पनि काम थालौँ, कामअनुसारको दाम छैन । हातमा काम र साथमा दाम नभएपछि भागमा माम पर्ने कुरै भएन । समस्या मेरो मात्रै होइन, उसको पनि त्यै, त्यसको पनि त्यै । फलानाको पनि यही हाल, ढिस्कानाको पनि त्यही चाल । तपाईँ र म दुवै बेहाल । कसैको हुँदाखाँदाको काम गुम्यो, कसैको मिलिरहेको दाम डुब्यो । कतै शटर खाली छ भन्ने विज्ञापन, कतै पेट खाली भयो भन्ने चित्कार । बैंकमा सम्पत्ति देखाउन सक्ने सुकिलामुकिलाहरू यूरोप, अमेरिका र अस्ट्रेलियातिर । अलिअलि ऋणधन गर्न सक्ने धुलेफुस्रेहरू खाडी र मलेसियातिर । आफूसँग चाहिँ न विदेश उड्ने आँट बाँकी छ, न देशमै बस्ने आस र भरोसा कायम छ । न रह्यो बाँस, न रहे बाँसुरी भनेजस्तै भएको छ जिन्दगी आजभोलि ।
आँट, भरोसा र जोश नभएपछि होश हराएको जोक्करजस्तो बाटोमा डुलेर दिन बित्छ । एकदिन बाटोमा लखरलखर हिँडिरहँदा अचम्मै भयो । गोजीमा सुको छैन, तर पाइला–पाइलामा करोड । करोड रुपैयाँ नै भेटेछ कि भनेर तपाईँलाई डाहा लाग्यो होला । रुपैयाँ हैन सम्पत्ति । त्यो पनि खुुट्टाले टेक्दै र आँखाले हेर्दै हिँड्न पाइने । पहिले पनि यस्ता करोड र लाख कति कुल्चियो, कुल्चियो । तर आफूले कुल्चेका पाइला–पाइलामा लाख र करोड हुँदो रहेछ भन्ने चाहिँ यसपालि मात्रै पत्तो लाग्यो ।
शहरको मुटुमा पनि होइन, टाउको र खुट्टोमा पनि होइन । खुट्टाभन्दा मुनि, टाउकोभन्दा धेरै माथि । कच्ची बाटो छेउको पाखाको जग्गा । मूल्य आनाको ५/१० लाख रे । जग्गा किनबेच गर्नेले कुरो गर्दै गरेको सुनेको । मोटरबाटो पनि नपुगेको जग्गा यति महँगो भएपछि मोटर नै मोटरको ताँती लाग्ने ठाउँको जग्गाको भाउ कति होला । बुझ्न थालेको हिसाब गर्दैमा पिसाब चुहिने डर । करोड र अर्बसम्म । खुट्टाले एक फड्को मार्दा नै ५/१० लाख रुपैयाँ नाघिने रैछ । दिनभरि हिँड्ने हो भने त अर्ब, खर्बसम्म टेकिने । साथमा सुको नभएर के भो त ? दिनभर हिँड्दा लाख, करोडदेखि अर्ब, खर्ब रुपैयाँको सम्पत्तिमा कुल्चन पाइने । मज्जाले हिँड्न र दौडन पाइने । बिजुलीको पोल र रुखको छेल पारेर त्यही करोडको सम्पत्तिमा पिसाब पनि गर्न पाइने । दाम नभएर राम्रोसँग माम खान नपाएर खिस्रिक्क परेको मुहारमा एकाएक चमक आयो । त्यसपछि लाख, करोड, अर्ब र खर्ब कुल्चनतिर लागियो ।
मोटरबाटो नपुगेको खाली चौरमा दौडँदा लाख रुपैयाँको आनन्द । पक्की र फराकिला मोटरबाटो भएका शहरका बीचतिर टहलिँदा करोड, अर्ब र खर्बको सन्तुष्टि । लाखदेखि खर्बसम्मका सम्पत्ति कुल्चँदै हिँड्दा बाटोमा थरीथरीका सरसामान भेटिने । ठाउँका मान्छेसँग ठक्कर खाइने । देखिने सबै सरसामान पनि उस्तै महँगा । मान्छे पनि त्यस्तै । कोही मन्त्री, कोही नेता, कोही उद्योगी, कोही कर्मचारी । तीमध्ये केहीले त लाख, करोडका ठाउँ कुल्चने मात्रै होइन, लाख करोडका बिटा नै क्वाप्प खान्छन् रे । तिनका घ्याम्पो जत्रो पेटमा त करोड नै करोडका चाङ लागेको छ भन्छन् । लाख, करोडका ठाउँ कुल्चँदै हिँड्दा त्यति नै बराबर खान सक्ने मान्छेहरूसँगको देखभेट । लाख, करोड टेकेर हिँड्दाको सन्तुष्टिमाथि त्यति नै बराबरको देखभेटको आनन्द ।
दिनभर करोडौँको खुशी बोकेर बास बस्ने ठाउँ फर्किँदा रित्तो कसौँडी । चामलको खाली बोरा । रित्तो भकारी । खाली खल्ती । भोकाएका परिवार र आफ्नै भोको पेट । उतिखेरै फेरि दिनभर हिँडेको सम्झना । लाख, करोड, अर्ब र खर्ब सम्झनेबित्तिकै भोक हरायो । तर त्यति बेला हिँड्दा पो त्यतिका सम्पत्तिमा टेकियो, अहिले खै त ? फेरि झल्याँस्स आफ्नै ज्यानको याद आयो । अघि बाटोमा हिँड्दा–हिँड्दै सरकारको गोली लागेको भए १० लाख रुपैयाँ आउँथ्यो । कम महँगो छ यो ज्यान ? दिनभर हिँड्दा पाइतालापिच्छे करोडौँका धन, घरमै बसिरहँदा पनि आफैँसँग लाखौँको ज्यान । बरु गोली लागेपछि मिल्ने १० लाख सरकारसँग अहिले नै मागेर बदलामा यो ज्यान चाहिँ पछि बुझाउँदा कसो होला सरकार !!
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।