पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरूका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविरमाथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आरोहीको वास व्यवस्थापनका लागि टाँगिएका रङ्गीचङ्गी पाटले आधार शिविरमा रौनक छाएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यतिखेर ३० भन्दा बढी आरोही समूहका झन्डै तीन सय आरोही सगरमाथा आधार शिविर र दोस्रो आधार शिविरमा पुगेका छन् । उनीहरू सगरमाथाको चुचुरोमा पुग्न उपयुक्त मौसमको प्रतिक्षामा छन् । अहिले विभागबाट आराेहीले आरोहण अनुमति धमाधम लिइरहेका छन् । केही आरोही बीचबाटोमै छन् ।
विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले सर्वोच्च शिखर सगमाथा आरोहणका लागि अहिलेसम्म ४१ आरोही समूहका चार सय ५४ आरोहीले अनुमति लिएको जानकारी दिनुभयो । उहाँले अझै पनि केही कम्पनी अनुमति लिने क्रममा रहेको बताउनुभयो । यो याममा सगरमाथा आरोहणका लागि उत्साहवर्धकरूपमा धमाधम आरोही आइरहेका उहाँले उल्लेख गर्नुभयो ।
सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले दोस्रो शिविरसम्म बाटो बनाइसकेका छन् । दोस्रो शिविरभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घ (एक्सपीडिसन अपरेटर्स एशोसिएसन) ले बाटो बनाउने कामलाई तीव्रता दिएको छ ।
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाउने जिम्मा पाएको छ भने दोस्रो शिविरिभन्दा माथि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ । यो याममा इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको हो ।
एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले सगरमाथा आरोहणमा निस्केका स्वदेशी तथा विदेशी आरोही र पदयात्रामा गएका पर्यटकले यतिखेर खुम्बु क्षेत्र भरिभराउ भएको बताउनुभयाे ।
सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहवर्धक हुने अनुमान गरिएको छ । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने सङ्केत देखिएको बताउनुभयो ।
चौथो आधार शिविर नजिक बाटो पुग्यो
वसन्त ऋतुको सगरमाथा आरोहणका लागि चुचुरोसम्मको बाटो खुलाउने क्रममा चौथो आधार शिविर नजिकसम्म खुलिसकेको छ । इमाजिन नेपालका कार्यकारी निर्देशक दावा शेर्पाका अनुसार अहिले सगरमाथाको चौथो शिविरसम्म बाटो बनिसकेको छ ।
शुक्रवारको हुरीसहितको वर्षाले सगरमाथा क्षेत्रमा भारी हिमपात भएकाले चुचुरो पुग्ने बाटो बनाउन कठिन भइरहेको छ । प्रतिकूल मौसमका कारण बाटो बनाउने काममा खटिएका आइसफल डाक्टर तीन दिनदेखि आराम गरिरहेका निर्देशक शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सगरमाथा क्षेत्रमा मौसम राम्रो छैन, त्यसैले बाटो बनाउनेहरू आराम गर्दैछन् । अप्रिल २४ सम्म सगरमाथाको चौथो शिविरमाथि चुचुरो नजिक बाटो बनाइसक्ने लक्ष्य थियो तर मौसमले केही विलम्ब भएको छ, मौसमले साथ दिएको एक/दुई दिनमै काम पुनः सुरु हुन्छ ।’
सगरमाथा आरोहणको यो याममा ‘इन्टरनेशनल माउन्टेन गाइड’ दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा आठ दक्ष शेर्पा सगरमाथाको चुचुरोसम्म बटो बनाउन खटिएका छन् । मौसमले साथ दिए आरोहण उत्साहजनक हुने शेर्पाको भनाइ छ । तथापि यो याममा सगरमाथाको दोस्रो शिविरमाथितिर भर्खरै हिमपहिरोमा परी तीन जना बेपत्ता भएको घटनाले आरोहणका लागि बाटो खुलाउन केही ढिलो भएको उहाँको भनाइ छ ।
मे १० तारिखभित्र सगरमाथा आरोहण सुरु हुने
मौसमले साथ दिएमा आउँदाे मे १० तारिखसम्म सगरमाथाको शिखरसम्म बाटो खुलाएर आरोहण सुरु भइसक्ने सङ्घको योजना छ । आइसफल डाक्टरले सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । कार्यकारी निर्देशक शेर्पाका अनुसार अहिले सगरमाथा आरोहणमा निस्केका आरोही आधार शिविर र दोस्रो शिविरमा पुगेका छन् । उनीहरू आरोहणको व्यवस्थापकीय कार्यमा सक्रिय भएका हुन् ।
एसपीसीसीले सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको बाटो बनाउने जिम्मा पाएको छ । त्यसभन्दा माथि सङ्घले हरेक वर्ष फरक–फरक कम्पनीलाई बाटो बनाउने जिम्मा दिने गरेको छ । विसं २०७५ देखि पर्यटन विभागको पर्वतारोहण शाखासँग समन्वय गरेर सगरमाथाको दोस्रो शिविरसम्म एसपीसीसीले बाटो बनाउँदै आएको छ । चुचुरोसम्म आइसफल डाक्टर शेर्पा गाइडले धमाधम बाटो बनाइरहेका छन् ।
नेपालसहित ५८ देशका आरोही सगरमाथा आरोहणमा
पर्यटन विभागको विवरणमा अहिलेसम्म सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ७८ देशका नौ सय बढी आरोही आएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ५८ देशका नागरिक नेपाल आएका छन् । सबैभन्दा बढी चीनबाट ८५, अमेरिकाबाट ७४, भारतबाट ३३, हङ्गेरीबाट ३३, क्यानाडाका १९, रुसका १८, बेलायतका १५ र नेपालका १६ आरोहीले अनुमति लिएका हुन् ।
सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । त्यसयता सगरमाथाको आरोहण आकर्षण बढ्दो छ । विभिन्न देशबाट उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् । सर्वोच्च शिखर सगरमाथासहित विश्वका आठ हजार मिटर अग्ला आठ हिमाल नेपालमा छन् ।
सगरमाथा आरोहणको इतिहासमा अहिलेसम्म झन्डै सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीले नयाँ–नयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँ वसन्त ऋतुको यो याममा आफ्नै कीर्तिमान तोड्न सगरमाथा आरोहणमा निस्कनुभएको छ ।
पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२०’ का अनुसार अहिलेसम्म छ हजार पाँच सय सात आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२१ र २०२२ को सङ्ख्या जोड्दा आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । तथ्याङ्कअनुसार अहिलेसम्म तीन सयभन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।