पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
आजभन्दा झण्डै १८ वर्षअघिको कुरा हो । मलाई दिल्लीबाट नेपाल आएर फेरि मुम्बई जानु थियो । किनकि विदेश जाने जहाजको टिकट मुम्बईबाट काटिएको थियो ।
एक पटक घरमा परिवारलाई नभेटी परदेश कसरी जानु । बिदा र आर्शिवाद लिन मलाई जसरी पनि घर आउनु थियो । तर भयो के भने दिल्लीबाट गोरखपुर हुँदै सुनौली नाकाबाट नेपाल प्रवेश गर्न खोज्दा पो थाहा भयो माओवादीको आन्दोलनले नेपाल बन्द रहेछ । त्यो समय कति बेला के हुन्छ भन्ने भर नै नहुने ।
सुनौली बोर्डरबाट नेपाल आउँदा सडक सुनसान थियो । रिक्सा र साइकल मात्र चलिरहेका थिए । यत्रो सहरमा गाडी नै नचलेपछि मान्छेको चाप सडक भरि थियो । सार्वजनिक गाडी त खुल्छ या खुल्दैन भन्ने अत्तोपत्तो नै थिएन । एउटा गाडी मंहङ्गो भाडामा जसोतसो मिल्यो ।
जति भए पनि भाडा तिरेर दुई जना बुटवलसम्म जाने निधो गरियो । तर असाध्यै गाह्रो भयो । बाटोको चोकै पिच्छे चेक गरियो । मानिसहरू असिन पसिन हुँदै सामान बोकेर हिँडिरहेका थिए । पसिनाले निथ्रुक्क रुझेका थिए । रिक्सावाला सकिनसकी रिक्सा तान्दै थिए । यी सबै दृश्य देख्दा टिठ लाग्दो थियो । तर के गर्नु सबैका लागि बाध्यता थियो ।
म बुटवल आउँदा झमक्क साँझ परिसकेको थियो । बुटवलबाट अघि बढ्न सक्ने अवस्था थिएन । दिउँसै हिँड्न त डर लाग्ने परिस्थितिमा राति हिँड्ने त कुरै थिएन । त्यसैले बुटवलमै रात बसियो ।
भोलिपल्ट पनि बुटवलबाट पाल्पासम्म हिँडेर नै यात्रा गर्नु पर्ने भयो । किनकि पहाडको बाटोमा रिक्सा पाउने अवस्था थिएन । मजस्तै थुप्रै मानिसहरू आफ्नो गन्तव्यमा पुग्न पैदल नै हिँडिरहेका थिए । तर बाटो हिँड्न पनि अवस्था डर मर्दो थियो । माथि तिरबाट ढुङ्गा पल्टाइदिन्छन् रे भनिन्थ्यो । अलिक भिरालो बाटो डरै डरमा काटियो ।
बाटोमा कहीँ कतै फाट्ट फुट्ट होटलहरु खुलेको भेटियो । तीनै होटलमा भेटेका खानेकुराले पेट भरियो । पहाडको बाटो हिँड्नलाई सोचेँ जस्तो सजिलो पनि थिएन । धेरै समयपछि हिँड्नु पर्दा खुट्टा दुखेर जुत्ता हातमा लिएर हिँड्नु पर्ने अवस्था थियो । झमक्क रात पर्ने बेलामा बल्ल तल्ल घर आइपुगियो ।
घर पुग्दा सबैको अनुहारमा चिन्ता थियो । सकुशल घर पुगेकोमा पुगेकोमा मन खुसीले गदगद भयो । घरमा सबैका आँखाबाट खुसीका आँसु झरे । मानिसहरू साँझ पर्दा नपर्दै खाना खाएर ढोका बन्द गर्नु पर्ने अवस्था थियो । हामी पनि त्यसै गर्यौ ।
आमाबाबा यस्तो बेला नआएको भए पनि हुन्थ्यो भनेर चिन्ता गर्नुभयो । यस्तो अवस्थामा मलाई पनि आउने मन थिएन । तर मुम्बईबाट विदेश जाने प्रक्रिया सुरु भएकाले मेरो मनले परिवार नभेटी परदेशिन दिएन । परदेशको यात्रा के थाहा । कति समयपछि घर आउने मेसो मिल्ने हो नमिल्ने हो । धेरै बेरसम्म यस्तै सुख दुःखका कुरा गर्दै बसियो ।
दिल्लीबाट त मुटुमा हात राख्दै घर आएको थिएँ । तर अब डर चाहिँ कसरी सुनौली बोर्डरसम्म पुग्ने भन्ने थियो । सडक सुनसान थियो । रातीमा गोला बारुदको आवाज मात्र सुनिन्थ्यो । तर मेरो त भिसा लागिसकेको थियो र टिकट पनि भइसकेको थियो । मलाई जसरी पनि परदेश पुग्नु थियो । किनकि मलाई बन्दुक बोकेर देश बदल्न हिँड्नु थिएन । आफ्नो परिवारको लागि दुई चार पैसा कमाएर केही गरौँ भन्ने चाहना र सपना मनमा थियो ।
देशमै केही गरौँ न त भन्ने अवस्था नै थिएन । भएको काम र व्यवसाय पनि कुन बेला बन्द हुने हो यकिन थिएन । म हिँडेरै पाल्पादेखि सुनौली बोर्डरसम्म पुगेँ । बोर्डर पुगेपछि त डर कम भयो । अब जीवनले नयाँ बाटो समात्ला भन्ने आत्मविश्वास भयो । तर त्यो क्षण अहिले सम्झँदा पनि मन डराउँछ ।
कसरी चाहिँ मैले त्यो जोखिम उठाए होला जस्तो लाग्छ । कुनै बेला उनीहरूसँगै डराएर परदेश गएको म आज उनीहरूकै सरकारसँग देशमै केही हुन्छ कि भन्ने आशामा गर्छु । तर जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै हाम्रो देशका नेता र शक्ति केन्द्रहरूको तौरतरिका देखेर म आफैँ छक्क पर्छु ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।