'घुमघामले ज्यान र मन दुवैको ‘सर्भिसिङ’ गर्छ'

 माघ ५, २०७९ बिहीबार १०:१४:१५ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

घुम्न निस्कँदा कस्ता ठाउँ तपाइँका रोजाइमा पर्छन् ? गाडी वा प्लेन चढेर सुविधासम्पन्न ठाउँमा रमाउने वा उकाली, ओह्राली गरेर ? यदि उकाली ओह्राली गर्दै रमाउन खोज्नुभएको छ भने तपाईँलाई घुमन्तेको अनुभव काम लाग्छ ।

तपाईँमध्ये केहीलाई देशकै जङ्गल, पहाड, हिउँले ढाकेका टाकुरा, तालतलैया त के घुम्नु जस्तो पनि लाग्ला । तर घुमन्तेका अनुभव सुन्नुभयो भने हिउँले ढाकिएका टाकुरा, जङ्गलैजङ्गलको उकाली–ओह्राली, सफा पानी भएका तालतलैया, ग्रामिण बस्ती लगायतका ठाउँ घुम्न किन छुटाएछु भन्ने लाग्छ ।

देशकै भूगोल घुम्दा के पाइन्छ ? घुमघामबारे जानकारी दिने युट्यूब च्यानल सञ्चालन गर्दै आएका कञ्चन राईको उत्तर छ, ‘के पाइन्छ हैन के पाइन्न भन्यो भने उत्तर दिन सजिलो होला । पाइने कुराको त बयान गरिसाध्य छैन । बाटोमा अनेकथरी कुरा देख्न, भोग्न, चाख्न पाइन्छ । कहिल्यै नदेखेको ठाउँ, कहिल्यै नचिनेका मानिस, आफूले नदेखेको–नभोगेको जीवन शैली, भोक, तिर्खाको अनुभूति, संस्कार–संस्कृति....यस्ता धेरै कुरा छन् । उहाँ थप्नुहुन्छ, ‘सबैभन्दा महत्वपूर्ण कुरा मनले शान्ति पाउँछ, दिमाग पुनर्ताजगी हुन्छ, शरीरको त सर्भिसीङ नै हुन्छ  ।’

शरीरको सर्भिसीङ ?

सुन्दा अनौठो लाग्ला, तर यसमा घुमन्ते कञ्चन राईको तर्क गज्जबको छ । उहाँ भन्नुहुन्छ, ‘हो शरीरलाई सर्भिसीङ गर्नुपर्छ । जसरी हाम्रा गाडी, मोटरसाइकल लगायतका पाटपुर्जा जाम हुन्छन्, फोहोर जम्मा हुन्छ, कमजोर हुन्छन् र हामी सर्भिसीङ गर्छौँ त्यसैगरी हाम्रो शरीरलाई पनि सर्भिसीङ गर्नुपर्छ । शरीरलाई सर्भिसीङ गराउनु भनेको हिँडाउनु हो । तपाईं दुई, चार दिन हिँडेर आउनुस् शरीरका अंगहरुको चाल नै फरक पाउनुहुन्छ, कुर्सीमा बसेर काम गर्नेहरुका लागि त यो झनै आवश्यक छ ।’

खोटाङको जालपाका कञ्चन राईले घुम्ने आफ्नो साेखलाई व्यवसाय बनाइरहनुभएको छ । घुम्ने रहरलाई पूरा गर्न विदेशमा गर्दै गरेको सूचना–प्रविधिसँग सम्बन्धी काम छाडेर स्वदेश फर्केका राईलाई अहिले घुमघामले दाम र नाम पनि दिएको छ । उहाँ भन्नुहुन्छ, ‘घुम्नु सानैदेखिको रहर हो, विदेशमा रहँदा पनि रहर पूरा गर्न मौका मिल्नसाथ नेपाल आइन्थ्यो, घुम्दाघुम्दै यसैलाई व्यवसाय बनाइयो, कामले मनमा अचम्मको खुसी दिएको छ ।’

राईले सञ्चालन गरिरहनुभएको घुमन्ते नामको युट्यूब च्यानलमा एक सय भन्दा धेरै ठाउँको यात्रा विवरण हेर्न सकिन्छ । कुनै एउटा गन्तव्यलाई केन्द्रमा राखेर त्यहाँसम्म पुग्न सकिने बाटो, लाग्ने समय, उपलब्ध सुविधा, जोखिम लगायतका विषय समेटेर बनाइएका भिडियोहरु घुम्न चाहनेहरुका लागि उपयोगी छन् ।

घुमघाममा जोखिम पनि हुन्छ

जोखिम नमोल्नेहरु गाडी वा विमान चढेर कतै जान्छन्, सजिला ठाउँ घुम्छन्, सुविधासम्पन्न होटलमा बस्छन् । तर जोखिम उठाउन नडराउनेहरुको लागि खास मज्जा कुनाकन्दरा घुम्नुमा हुन्छ । यस्ता यात्रामा आइपर्ने जोखिमबारे चाहिँ ख्याल गर्नुपर्ने राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘हिँड्दै जाँदा अगाडि के छ थाहा हुन्न, कहाँ पुगेर के खान पाइन्छ त्यो थाहा हुन्न, कहिले सोचेजस्तो निद्रा लाग्दैन, बास सोचेजस्तो हुँदैन, धेरै दुःख र जोखिम मोल्नुपर्छ । ज्यान पनि जोखिममा हुन्छ । ती सबै कुरा ख्याल गर्नुपर्छ ।’

उहाँ थप्नुहुन्छ, ‘फेरि पनि यी सबै जोखिम उठाएर जब यात्रा पूरा हुन्छ नि त्यसबेलाको खुसीको बयान गर्नै सकिन्न । भनिन्छ नि हाम्रो शरीर पञ्चतत्वले बनेको छ । यो शरीरलाई प्रकृतिसँग भेट गराउँदा अनायासै अपनत्व महसुस हुन्छ । दिमाग शान्त हुन्छ । शरीरका अङ्गप्रत्यङ्ग सल्बलाउन थाल्छन् । त्यसबेलाको शारीरिक र मानसिक खुसी सायद अन्त कतै पाइन्न ।’

नेपालमा घुम्न लायक ठाउँ कति छन् ?

एक सयभन्दा बढी ठाउँ बारेको जानकारीमूलक भिडियो नै बनाइसक्नुभएका राई नेपालमा घुम्नका लागि अथाहा ठाउँ रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मैले अहिलेसम्म घुमेको अनुभवले मैले मात्र हैन मेरो छोरा र नातिले समेत जिन्दगीभर घुमिरहने हो भने पनि नेपालमा घुम्न जाने नयाँ ठाउँ सकिँदैनन् । यहाँका हरेक डाँडा घुम्न लायक छन् । हरेक बस्तीमा नयाँ जीवन भेटिन्छ । हरेक जङ्गलमा नयाँ सुगन्ध हुन्छ । हरेक तालबाट नयाँ सुसाहट आउँछ । हरेक पाखामा हावाको नयाँ झोक्का महसुस हुन्छ । हरेक ठाउँमा भेटिएका मानिससँगको भेटले नयाँ व्यवहारको अनुभूत गराउँछ । तराईदेखि पहाड, उच्च पहाडहुँदै हिमाल अनि त्यहाँका खण्ड–खण्ड सबै घुम्न लायक छन् ।’ यात्रामा गन्तव्य मात्र हैन गन्तव्यमा पुगुञ्जेल देखिने, भेटिने हरेक कुरा, हिँडाइमा पाइला पाइलामा हुने अनुभूति सबैले जिन्दगीलाई रोमाञ्चक बनाउने राईको अनुभव छ ।

उदाहरणका लागि काठमाण्डौमा व्यस्त जीवन बाँचिरहेकाहरुको लागि एक दिनमा घुम्न पाइने ठाउँ छ त ? घुमन्ते राइ भन्नुहुन्छ, ‘प्रशस्तै छन् । बाक्लो बस्ती रहेको उपत्यकामा अहिले पनि निश्चित घेराभन्दा माथि जङ्गल छ । शिवपुरी राष्ट्रिय निकुञ्जमा बस्तिविहीन जुन जङ्गल छ नि त्यो एक दिन हिँडेर आउँछु भन्नेका लागि निकै उपयुक्त छ ।

उपत्यकाका प्रायः सबैतर्फका डाँडाहरु हिँड्नको लागि उपयुक्त छन् । जब उकाली–ओह्राली र जङ्गल भेटिन्छ, त्यहाँ हिँड्दा मन र शरीरले आनन्द महसुस गरिहाल्छ । अहिले इन्टरनेटमा खोज्यो भने विभिन्न ठाउँको बारेमा जानकारी पाइन्छ । आफूलाई उपयुक्त लागेको ठाउँ छान्न सकिन्छ । उपत्यकामा बस्नेहरुले एक दिन समय निकालेमा आसपासका डाँडा अनि दुई/तीन दिन समय निकाल्दा सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बुसम्मका निकै आकर्षक गन्तव्य घुमेर आउन सकिन्छ ।

धेरैको गुनासो हुन्छ घुम्नको लागि कहिले समय त कहिले पैसा हुन्न । तर घुमन्ते राई ती सबै बहाना मात्र भएको बताउनुहुन्छ । दुई÷चार महिनामा दुई/तीन दिन घुम्न निस्कनको लागि समय र पैसा भन्दा इच्छा ठूलो कुरा भएको भन्दै राई भन्नुहुन्छ, ‘यदि तपाईं भित्री मनदेखि घुम्न चाहनुहुन्छ भने त्यो व्यवस्थापन गर्न धेरै अप्ठ्यारो पर्दैन, जब तपाईं घुमघाममा रमाउन थाल्नुहुन्छ नि सजिलैसँग व्यवस्थापन गर्न सक्नुहुन्छ ।’

घुमघामको तयारी

घुम्नको लागि समय त व्यवस्थापन भयो तर अब अरु के के तयारी गर्ने ? धेरैलाई अलमल बनाउने विषय हो । घुमन्ते राईको सुझाव छ, ‘तपाईँ घुम्न निस्कँदै हुनुहुन्छ भने रमाउन सक्ने साथीको समूह बनाउनुस् । हुन त एक्लै पनि घुम्ने चलन छ तर सकेसम्म दुई, चार जनाको समूहमा घुम्न उपयुक्त हुन्छ ।’ जोखिम बहन गर्नका साथै यात्रामा गफगाफ गर्दै रमाइलो गर्नको लागि पनि समूह नै उपयुक्त हुने उहाँको सुझाव छ । यात्रामा नयाँ कुराबारे छलफल, नाचगान, ख्यालठट्टाले अझ बढी आनन्द दिने उहाँको अनुभव छ ।

समूह तयार भएपछि गन्तव्यको बारेमा यथेष्ट जानकारी लिनुपर्छ । त्यो ठाउँ कति उचाइ हो ? जाडो गर्मी के हुन्छ ? कति समय हिँड्नुपर्छ ? बाटोमा होटल तथा बास बस्नको लागि घरहरुको व्यवस्था छ कि छैन ? कुनै जङ्गल पार गर्नुपर्ने भए जङ्गली जनावरको खतरा कतिको रहन्छ ? कस्तो समुदायमा जाँदैछौं र त्यहाँ के कुरा गर्न पाईंदैन ? अनुमानित खर्च लगायतका कुराबारे पूर्व जानकारी लिनुपर्ने राईको सुझाव छ । त्यस्ता जानकारी इन्टरनेटमा खोज्दा पाइन्छ भने सम्बन्धित पालिकाको कार्यालयमा सोधेर पनि थाहा पाउन सकिन्छ ।

त्यसपछि कपडाबारे ख्याल गर्नुपर्छ । उकालो ओह्रालो कति हिँड्नुपर्छ र जाडो गर्मी के छ त्यही अनुसार कपडा बोक्नुपर्ने उहाँको सुझाव छ । हिँड्दा शरीर पाछिने समस्या हुन सक्ने भएकोले हल्का र खुकुला खालका पोशाक छान्नुपर्ने र हिँड्दा सबैभन्दा ख्याल जुत्तामा दिनुपर्ने उहाँको सुझाव छ । हिँड्दा सजिलो हुने जुत्ता नभए यात्रा कष्टकर हुन्छ । धेरै कपडा बोक्दा झोला गह्रौँ हुने भएकोले कति दिन हिँड्ने हो त्यही अनुसार आवश्यक पर्ने मात्र कपडा बोक्नुपर्छ । पानीका लागि बोतल, एउटा लट्ठी, पाली भएको टोपी र घाममा लगाउने चस्मा बोक्न नबिर्सन उहाँको सुझाव छ ।

खानेकुरा सकेसम्म यात्रामा जे भेटिन्छ त्यही खानु उपयुक्त हुन्छ । गाउँघरको नयाँ खानेकुराले यात्रालाई अझ बढी रमाइलो बनाउँछ । बाटो हिँड्दा केही चकलेट तथा ड्राइफुड खान सकिने तर सकेसम्म प्राथमिकता बाटोमा पाइने तातो खानेकुरामा दिनुपर्ने उहाँको सुझाव छ । सबैभन्दा ख्याल गर्नुपर्नु कुरा पानी हो । जुन पायो त्यही ठाउँको पानी खानु हुन्न । बास बसेको ठाउँ वा बस्तीबाट बोतलमा भरेर पानी बोक्नुपर्छ । यात्रामा स्वास्थ्यमा समस्या आउने भएकोले सिटामोल लगायत डाक्टरको सिफारिस आवश्यक नपर्ने आधारभूत औषधि पनि बोक्नुपर्ने उहाँले बताउनुभयो ।

यात्रामा कसरी रमाउने ?

घुमन्ते राईको अनुभवमा धेरैजना मनका लागि नभइ लाइक र कमेन्टका लागि घुमेको पनि देखिन्छ । त्यो ठाउँमा जान्छु, यो लुगा लगाएर फोटो खिच्छु वा टिकटक बनाउँछु अनि यति लाइक कमेन्ट आउँछ भन्ने प्रवृत्ति बढेको भन्दै राई भन्नुहुन्छ, ‘यो कुराले कुनै ठाउँको प्रचार त होला तर घुम्दा प्राप्त हुने जुन खुसी छ त्यो छुट्छ । भिडियो तथा फोटो खिच्ने तपाईंको पेशा हैन भने सम्झनाका लागि एक/दुई वटा फोटो खिचेर बाँकी समय मस्त रमाउनु उपयुक्त हुन्छ । हामीले आँखाले हेरेर मनले अनुभूति गरेको जस्तो आनन्द फोटो तथा भिडियोले दिंदैन ।’

अनि केही मानिस घुम्नु भनेको साथी मिलेर जाँड रक्सी खानु र होहल्ला गर्नुलाई मान्ने गरेका भन्दै राई भन्नुहुन्छ, ‘यात्रामा जाँडरक्सीलाई सधैँ पछिल्लो प्राथमिकतामा राख्नुस्, जाँड त कोठामै बसेर पनि खान सकिन्छ, घुम्न हिँडेपछि शरीर अनि मनले आनन्द लिनुपर्छ । जब तपाईंले जाँडरक्सी खानुहुन्छ नि यात्रामा तपाईँको शरीर र मन दुवैले प्रकृतिको वास्तविक मज्जा लिँदैनन् ।’ 

(फाेटाे साैजन्य : घुमन्ते)

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया