पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
मनले भन्न थाल्यो, ‘उमेर खाएका तीनजना बाउको हाराहारी उमेरका मान्छेसँग नगरपालिका भनिएका गोदावरीका शहरी गल्ली हिँडेर पनि कहिँ हाइकिङ हुन्छ ! न उमेर मिल्छ, न गफ मिल्छ !’ हिँडाइको तौरतरिका पनि नमिल्ला जस्तो लाग्न थालेपछि मन खिन्न हुन थालेको थियो जब म उमेशसिंह भण्डारी, गोपाल गुरागाई र मोहन सुब्बासित दक्षिण ललितपुरको हाइकिङमा मिसिएँ ।
दुई बैंकर र एक पत्रकारको पछि लागेर मोटर बाटोबाट गल्लीमा पस्दा पनि पाँच दश मिनेटसम्म मनले अलि थकथक मान्दै थियो । तर, तीनजनाको पछाडि लुरुलुरु हिँड्न थालेको झण्डै १५ मिनेटपछि मेरो मनलाई यात्राका दृश्यले गलत सावित गर्ला भन्ने संकेत ग्ार्यो ।
पन्ध्र मिनेटसम्मको हल्का निरसिलो यात्रालाई गज्जबको यात्रामा बदल्ने संकेत देखाएको थियो, धापाखेलमा एकाएक देखिएको मखमली फूलबारीले । बाटो तन्किदै जाँदा केही बेरपछि त बुढाहरु पनि खुल्दै गए । एकाएक दौतरी मिल्ने छाँट देखियो ।
कसैले घुम्न जाउँ भनेपछि दायाँबायाँ केही नसोची हिँडिहाल्ने बानी छ आफ्नो । कार्यालयको काम राति १२ बजेसम्म सकेर होस् या अरु साथीसँग साटेर होस्, अथवा कहिलेकाहीँ मुश्किलै परि आउँदा ढाँटेरै पनि घुम्न निस्कने बानी परेको छ । असोजको ७ गते दिउँसो एउटा काममा थिएँ । तीनमध्येका एउटा बुढाले भने, ‘हामी भोलि हामी घुम्न जाँदैछौँ, फुर्सद छ भने मिसिँदा हुन्छ !’ मनमनै भने घुम्न जाने भनेपछि फुर्सद नभए पनि निकाल्ने त हो नि !
भोलि घुम्न जाने भएपछि राति नै कार्यालयको भोलिका काम आधा सकियो ।
असोज ८ गते बिहान साढे ६ बजे नै सुनाकोठीबाट हाम्रो यात्रा सुरु भयो । सुरुका १५ मिनेट केही असजिलो लागे पनि जब हामी सुनाकोठीबाट धापाखेलको फाँट हुँदै नागदहतर्फ लाग्यौँ, तब आउन थाल्यो यात्राको मज्जा ।
नागदह नपुग्दै मन फरुङ्ख बनाउने मखमली फूलको बारी भेटियो । भर्खरै उदाउँदै गरेको सूर्यको किरण मखमली फूलमा परेको थियो, सूर्यका किरण र मखमली फूलकोे रंगले मेरो मनमा खुसीको इन्द्रेणी भरिदियो ।
विस्तारै यात्राका सहयात्रीसँग कुरा जम्न थालेको थियो । उमेरको अन्तरले यात्रालाई कुनै असर गरेन, कुराकानी मिल्न थाले । यात्रा सुरु गरेको आधा घन्टामै हामी नागदह पुग्यौँ । हामीले घुम्ने लक्ष्य राखेका दक्षिण ललितपुरका चार धाममध्ये एउटा धाम नागदहको दर्शन गरियो । उदाउँदो सूर्य, छेउछाउका फाँट, तरंगित भएको नागदहको पानी, अनि पानीमाथि तैरिहेका केही कमलका फूल र हंसाकार नाउ । नागदहबाट ओरालो लागेर खेतका फाँटमा पुग्दा नपुग्दै सुरु भयो झरुवाराशीको फाँट । मतलब अब हामी सन्तानेश्वरको उकालो लाग्दै थियौँ ।
कहिले राजनीतिका, कहिले पुराना जमानाका, अनि कहिले अहिलेका युवा पुस्ताका कुरा गर्दै, खेतमा झुल्दै गरेका धानका बाला र ढकमक्क फूलेका फूलसँग ठट्टा गर्दै हामी सन्तानेश्वर मन्दिरको दक्षिणी फेदमा पुग्यौँ ।
त्यहाँसम्म पुग्दा पनि मलाई लाग्दै थियो तीनजना बुढाको फटाफट गतिमा उकालाले ब्रेक लाउँछ र सन्तानेश्वर महादेवको उकालो चढ्दा बुढाहरुको हाइकिङ हैसियत देखिन्छ । तर बुढाहरुले फेरि मेरो अनुमानलाई गलत बनाउन थाले । सन्तानेश्वर महादेवको टुप्पोमा पुग्न सिँढी चढ्दा म थकाइले खुइय खुइय गर्दै थिएँ, तीनजनाको गति फाँट र सम्म ठाउँमा जस्तै थियो, फटाफट ..... फटाफट .....!
हुँदाहुँदा एउटा बुढाले उल्टो जिस्क्याए, ‘यो उमेरमा पनि अर्जुन हिँड्न सकेन ! भनेपछि के गरिखाने हो, बिहेपछि के हुने हो !’
आकाश खुल्दै थियो, काठमाडौं पनि खुल्दै थियो । हामी सन्तानेश्वर पुग्दा काठमाडौं उपत्यका हेर्दै मख्ख परेका थियौँ । डाँडाको चुचुरोमा रहेको मन्दिर, बिहानको पारिलो घाम, वरपरको हरियाली अनि सुन्दर काठमाडौं हेरेर हामी हर्षित थियौँ । तर एक्कासि मुड खराब हुने दृष्य देखियो ।
मन्दिरको फेदैमा फोहोरको डंगुर थियो, फोहोरको डंगुरमा धेरैजसो प्लाष्टिकका बोत्तल र मन्दिर परिसरमा रहेको नाङले रेष्टुरेन्टबाट उत्पादित फोहोर थियो । भगवानको पाउमा फोहोरको डंगुर देख्दा हामी चारैजनालाई नरमाइलो लाग्यो ।
उकालो चढ्दै एउटा बुढाले अब मन्दिर आउने सबै भक्तजनलाई अलिअलि फोहोर बोकेर पहाडको फेदमा पुर्याउन लगाउने योजना बनाए । तर यो योजनामा के मिलेन कुन्नि, उनैले आफ्नो बैंकमार्फत मन्दिर सफाइको केही काम गर्नुपर्ला भन्ने अर्को योजना बनाए । यी कुरा सक्दा हामी ठाडो उकालो सकेर मन्दिरको प्रांगणमा पुग्यौँ । मन्दिरमा एकैछिन विश्राम, दर्शन र फोटो खिचिसकेपछि हामी अर्को पाटोबाट गाउँमा ओर्लियौँ । कलिलो घाममा सन्तानेश्वर मन्दिरबाट देखिएको दृश्यले सबैको मन रमाएको थियो, तर भोकले पेटमा काउकुति पनि लगाउन थालेको थियो सबैको ।
हाम्रो गन्तव्य अब बज्रवाराही हुँदै टीकाभैरव मन्दिरमा पुग्नु थियो । बुढाहरुले त झरुवाराशीको एउटा खाजाघरमा चना, अण्डा र सेलरोटीको खाजा खाँदाखाँदै टीकाभैरवको एउटा रेष्टुरेन्टमा गाउँको एउटा लोकल भालेको झोलमा रम्ने योजना पनि बनाइसकेका थिए । सन्तानेश्वरबाट बज्रबाराहीतर्फ जाँदा अलिकति बाटो पक्की र धुलो उड्ने थियो । तर तत्कालै बाटो परिवर्तन गरेर हामी बज्रबाराहीको दक्षिण पूर्वी क्षेत्रबाट जंगल प्रवेश गर्याैँ ।
काठमाडौं उपत्यकामा बज्रयानी बुध्दको जगजगी भएका बेला निर्माण भएको बज्रवाराही मन्दिरको दर्शन गरेपछि हाम्रो टोली अब तीनजनामा सीमित हुने भयो । हाइकिङ, ट्रेकिङ र खेलकुदका अत्याधिक प्रेमी मोहन सुब्बा घण्टौँ फुटसल खेलेर बिहानैदेखि पुरै दिन हिँड्ने कि नहिँड्ने दोधारमा देखिएका थिए । मोहनलाई बज्रवाराहीबाट सुनाकोठी जान बिदा गरेपछि अब हामी तीनजनाको गन्तव्यमा थियो प्याङगाउँबाट राजकुलो हुँदै पुगिने टीकाभैरव मन्दिर ।
हामी बज्रवाराहीबाट सानो गल्ली हुँदै चापागाउँको बसपार्क प्याङगाउँ पुग्यौँ । त्यहाँबाट अलिकति ओरालो उकालो बाटो लागेपछि खानेपानीको पोखरीबाट दाहिने मोडियौँ । त्यता लागेपछि सयौं वर्ष पुरानो राजकुलो भेटिन्छ । मल्लकालमा बनेको राजकुलोले झण्डै पाँच दशक अघिसम्म दक्षिण ललितपुरको खेतीपाती र पाटन क्षेत्रका ढुंगेधाराहरुलाई सिञ्चित गरेको थियो ।
राजकुलोकै पानीले पाटनका हरेक पोखरी टनाटन भरिन्थे अनि धाराहरुबाट पानी खलल बग्थ्यो भन्ने कुरा पनि मैले यही यात्रामा थाहा पाएँ । मल्लकालका शासकहरुले बरु व्यवस्थित गाउँ सहर बनाउन राजकुलो बनाएका रहेछन्, तर अहिलेका शासकमा त्यो दूरदर्शिता खै त भने जस्तो पनि लाग्यो ।
हामी भैँसेपाटीको दक्षिणपट्टिको भाग हेर्दै, धान झुलेका खेतको फोटो कैद गर्दै गफिँदै राजकुलोको डिलैडिल टीकाभैरवतर्फ लाग्यौं । राजकुलोमा पसेपछि यस्तो लाग्यो मानौँ हामी काठमाडौंबाट पचास कोष टाढा छौँ । न गाडीको ट्याँ ट्याँ टु टु, न त धुलो धुवाँ नै । जंगलको बीचमा बगेको कुलैकुलो हिँड्दा कुनै निकुञ्जको बाटो हिँडेको आभास हुन्थ्यो ।
कुलैकुलो आफ्नै सुरमा हिँडेका हामीलाई अग्लो झोलुंगे पुलले अल्झायो । यो छम्पीलाई चापागाउँ र लेलेसित जोड्ने पुल हो भन्ने कुरा पनि यात्रामै थाहा पाइयो । निकै अग्लो पुलबाट खोलापट्टि हेर्दा मुटु सिरिङ्ख भयो । फोटो खिचेर हामी फेरि टीकाभैरवतर्फ लाग्यौँ । हरिया रुख, राजकुलोमा बगिरहेको पानीको कलकल, दाहिनेपट्टिको भीर अनि रुखमा चिर्बिर चिर्बिर गरिरहेका चराहरुको गीत सुन्दै प्रकृतिसित एक घण्टाभन्दा धेरै समय रमाएर हामी पुग्यौँ टीकाभैरव ।
टीकाभैरवको एउटा होटलमा लोकल कुखुरा भनेर हामीलाई गिरिराज कुखुरामै टार्ने लक्षण देखिएपछि हामी टीकाभैरव मन्दिरको दर्शन गरेर पुरानो बजार हुँदै भट्टेडाँडा जाने उकालोतर्फ लाग्यौँ । कान्ति लोकपथलाई देब्रे पारेर पहाडको उकालो चढ्दै गएपछि तामाङ बस्ती देखिन थाले । खड्कुलामा बन्न थालेको तीन पाने रक्सीका बाहनले बस्तीमा चाडपर्व पस्न थालेको संकेत देखाउन थाले । टीकाभैरवबाट भट्टेडाँडा जाने उकालो उक्लिँदा पनि मलाई सन्तानेश्वर महादेवको डाँडा चढेको याद आयो ।
युवा जोश जाँगर भएको भनिएको म स्याँ स्याँ गर्दै पसिनाका धारा बगाउँदै थिएँ, तर मैले उमेर ढल्कन लागेको ठानेका गोपाल गुरागाईं र उमेशसिंह भण्डारी भने गफिँदै उकालोमा रमाइरहेका थिए । बाटोमा कतिबेला चौतारो भेटिएला र टुसुक्क बस्न पाइएला भन्ने आशमै हामी उकालो चढिरह्यौँ स्कुसका झाल र दलानमा सुकाएका मकैका बिस्कुन हेर्दै । हिँड्दाहिँड्दै हाम्रो टोली कोटडाँडाको भञ्ज्याङमा पुगिसकेको थियो । अब हामी यहाँ भन्दा माथि जाने कि नजाने भनेर सुस्ताउने ठाउँ खोज्न थालेका थियौँ ।
यस्तै बेलामा बारीमा मकै स्याहार्दै गरेका एकजना दाइले पहाडको टुप्पोमा एउटा रिसोर्ट देखाइदिए । त्यो रिसोर्टमा आफैले छानेर लोकल कुखुरा काटी खान पाइन्छ भनेर दाइले हामीलाई फेरि उकालो चढ्ने कुखुरो नामक लिस्नु हालिदिए । यहाँ आइपुगेपछि भोकै टीकाभैरव फर्कन अब मेरो पनि मन मर्न थालेको थियो ।
दिउँसोको १२ बज्नै आँटेको बेला हामी कान्ति लोकपथको किनारमा उत्तर फर्केर बसेको रिसोर्टमा पुग्यौं । टीकाभैरवबाट ३ किलोमिटर उकालो पार भैसकेको थियो । पेट भोको थियो, तर कचौरा जस्तो काठमाडौं आँखै अघि देख्दा भोक हराएको जस्तो आभास हुन्थ्यो । हाम्रै आँखा अघि देखिने त्रिभुवन विमानस्थलको रनवेमा हाम्रै शीरमाथिबाट जहाज ल्याण्ड गरेको पनि प्रष्ट देखिन्थ्यो । डाँडाको टुप्पोमा रहेको रिसोर्टमा बसेर वरपरको जंगल, तलपट्टिको गाउँ अनि काठमाडौं उपत्यका हेर्दाको आनन्द शब्दमा वर्णन गरेर के भ्याउनु र !
हुन त भोको पेटले मिठो नमिठो जान्दैन भन्छन्, तर रिसोर्ट चलाएको रहेछ एउटा सहकारीले । जस्मा पाइँदो रहेछ स्थानीय साग र च्याउको तरकारी, अनि लप्सी र मुलाको अचार ! त्यो पनि स्थानीय स्वादमै ! हरेक परिकारमा हाम्रो जिब्रो झुण्डियो । केहीबेरको आराम र खानापछि हामी पुरानै बाटो फर्कियौँ । टीकाभैरवमाथिको त्यो कोटडाँडामा रात बिताउन मन त थियो, तर मनलाई कामको बाध्यताले थिचेकाले हामी जुन बाटो गएका थियौँ, त्यही बाटो फर्कियौँ ।
यसरी एकैबिहान हामीले स्थानीय जीवनसँग मितेरी लगाउँदै दक्षिण लतिलपुरका चार धाम मानिने नागदह, सन्तानेश्वर, बज्रवाराही र टीकाभैरव समेत राजकुलो र डाँडाकाँडा घुम्न भ्यायौँ । हामीले ४-५ घन्टाको फुर्सद निकालेमा काठमाडौंको कोलाहलबाट सुन्दर र शान्त ठाउँमा मन चंगा बनाउन पाउने रहेछौँ । धेरै समय पनि नलाग्ने रथोरै बजेटमा खानपिन गर्दै काठमाडौं वरिपरि घुम्न चाहनेहरुका लागि यो रुट खुब गज्जबको लाग्यो ।
यो यात्रापछि लाग्न थालेको छ आधा दिनको समय निकाल्ने हो भने काठमाडौं उपत्यकाभित्रै स्वर्गीय आनन्द मिल्ने ठाउँमा पुग्न सकिन्छ । उपत्यकामा पनि मनलाई चङ्गा बनाउने गरि प्रकृतिसित रम्ने ठाउँहरु धेरै छन् ।
तस्वीरहरु : गोपाल गुरागाईं
उज्यालोको यूट्युब च्यानल Ujyaalo TV मा बाउछोरीको कथा हेर्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।
SamrEddha
Oct. 3, 2018, 9:09 a.m.Location please
Ramesh Byanjankar
Oct. 3, 2018, 8:41 a.m.पढ्दै रमाइलो लाग्यो , के यस्तै यात्रामा सहभागी हुन सकिन्छ र ?