सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
हैन वर्ष पनि कति छिटोछिटो बितेको हँ ! २०७८ साललाई स्वागत गरेको हिजै मात्र जस्तो लाग्छ, तर, आज त २०७९ का पनि ४ दिन बितिसके ।
कति बस्नु त्यो उराठलाग्दो पुरानो वर्षमा ? छिटै नयाँ वर्ष लागेकै राम्रो हो नि, होइन र ?
२०७८ कसरी उराठलाग्दो भयो त ?
उराठलाग्दो त भयो नि । पुरानो वर्षको अन्तिम दिन यसो टुच्च लगाउँ भनेर आँटेको, सबैले देशको अर्थतन्त्र डामाडोल छ भने । एक, दुई सिसी टुच्च लगाउने पैसा त आफ्नो खल्तीमा थियो नि, तर देशको ढुकुटी नै रित्तिएपछि आफ्नो खल्ती पनि खाली होला भन्ने डर भयो । आफ्नो लागि सिसीभन्दा पनि नेताहरुकै एमसीसीमा रमिता हेरेर चित्त बुझाउनुपर्यो । वर्षको अन्तिम दिनमा समेत ठाडो घाँटी लगाउन नपाएपछि उराठलाग्दो भएन त ?
मलाई त रमाइलो लाग्यो २०७८ । वर्षदिन नै गाईजात्रा हेर्न पाइयो । सरकारमा गाईजात्रा, संसदमा गाईजात्रा, अदालतमा गाईजात्रा । प्रदेशमा गाईजात्रा । एमसीसीमा गाईजात्रा । जता हेरे पनि गाईजात्रा नै गाईजात्रा । वर्षभरि गाईजात्रा भएपछि रमाइलो हुने नै भयो ! कसो ?
नेताहरु पालैपालो प्रधानमन्त्री, मन्त्री भएको उनीहरुलाई पो रमाइलो भयो त । हामीलाई के रमाइलो ? उनीहरु कमाउने, रमाउने । हामीलाई केही न केही । अब नयाँ वर्षमा त हाम्रो पनि कमाउने र रमाउने दिन आउने भयो । २०७९ सालमा चाहिँ केही हुन्छ भन्नेमा म ढुक्क छु ।
२०७९ लाग्दैमा किन ढुक्क नि ? पात्रो फेरिँदैमा जिन्दगी फेरिँदैन क्यारे ! न राजनीति सङ्लो भयो, न अर्थतन्त्र सुध्रियो ! न त नेताहरु नै सही बाटोमा हिँड्न थाले । अनि के को रमाइलो ?
राजनीति, अर्थतन्त्र जेसुकै होेस् । सप्रे सप्रोस्, बिग्रे बिग्रोस् । हामीलाई भए भएन र भन्या ?
हामीलाई चाहिँ के हुने भयो त ?
किन भएन ? मान पनि बढ्ने भो, शान पनि । मासुभात र घुमफिर दुवैथोक सित्तैमा ।
हैन कसरी ?
कस्तो कुरा नबुझेको होला ? २०७९ सालभरि नै चुनाव हुन्छ । वैशाखमा चुनाव, मंसिरताका अर्को चुनाव । चुनाव नजिकिएपछि नेताहरु गाउँ फर्कन थालिसके । अस्तिताकासम्म भेट हुँदा पनि देखे नदेखेझैँ गर्थे । अहिले भैँसीको थलो, मकैबारी, धानखेतसम्म खोज्दै आएर खुट्टामै ढोग्न खोज्छन् । घाँस काटिदिन्छन्, भकारो सोहोरिदिन्छन्, मकै गोडी दिन्छन् । अनि शान भएन त ? हाम्रो शान पनि भयो, मान पनि बढ्यो, काम पनि भयो ।
त्यो त हो, गाउँमा नेता छिरेपछि कार्यकर्ताको पनि ओइरो लागिहाल्छ । पाँच वर्षसम्म सुनसानजस्तै भएको गाउँमा फेरि चहलपहल बढ्छ । नेता कार्यकर्ताले खाँदा बस्दा गाउँमा आम्दानी पनि बढ्छ ।
कहाँ आफू मात्रै खान्छन् र, हामीलाई पनि खुवाउँछन् । पालैसँग मासुभात खान बोलाउँछन् । कहिले यसकोमा गयो, कहिले उसकोमा । भोट दिन्छु मात्र भने पुगिहाल्यो । सबैलाई भोट दिन्छु भन्ने, सबैका मासुभात चाख्ने।
अनि भोट पनि सबैलाई दिने ?
त्यो त भोट दिने बेलामा मात्रै थाहा हुन्छ नि । भन्न चाहिँ सबैलाई दिन्छु नै भन्ने क्या । मासुभात त खान छोड्नुभएन नि ।
अनि वैशाख ३० सम्म त होला नि सित्तैमा मासुभात । त्यसपछि त फेरि पुर्पुरोमा हात !
चुनावपछि पनि मज्जाले पाइन्छ मासुभात । वैशाख ३० सम्म भोट माग्ने सबैले खुवाउँछन् । त्यसपछि जित्ने र हार्नेले पालैसँग खुवाउँछन् । जित्नेले खुशीयालीमा अबीरजात्रा गर्छन, अबिरजात्रासँगै पुलाउ भात खान बोलाइहाल्छन् ।
अनि हार्नेले नि के खुवाउँछ नि ? लोप्पा ?
हार्नेले चाहिँ ट्वाँक खुवाउँछ, टुच्च क्या । चुनाव किन हारियो भनेर उसले चिन्तन गर्छ, चिन्तनका नाममा समीक्षा गर्छ । यस्तो समीक्षा गर्दा ट्वाँक चाहिन्छ । हार्नेलाई मनको बह बिसाउन पनि ट्वाँक, हार्नेलाई सान्त्वना दिने शब्द बटुल्न र लय कथ्न हामीलाई पनि त्यही ट्वाँक ! मात्र उसको पिरमा आफूले सान्त्वना मिसाउन जान्नुपर्यो । त्यसपछि ट्वाँक तान्न पाइहाल्छ नि ।जित्नेसँग शुभकामना र पुलाउ भात, हार्नेसँग सान्त्वना र ट्वाँक !
त्यो पनि कति दिन हो र ? त्यसपछि फेरि पुरानै दिन।
त्यसपछि त तिज, दशैँ, तिहार आउन थाल्छ । यसै मासुभात र मिठोमसिनो खान पाइहालिन्छ । तिहार सकिनेबित्तिकै अर्को चुनाव आउँछ । त्यो चुनावमा त झन् अहिलेको भन्दा बढी मासुभात खान पाइन्छ ।
मासुभात मात्रै कहाँ हो र, हरेक नयाँ वर्षमा दिने शुभकामना यो पालि चाहिँ वास्तविकतामा बदलिने भयो ।
हरेक नयाँ वर्षमा सुख, शान्ति, समृद्धि, उन्नति होओस् भनेर शुभकामना आदानप्रदान गरिन्छ । तर वर्षभरि दुःख, अशान्ति, अभाव, अधोगति मात्रै भइरहन्छ । तर यो वर्ष त शुभकामना अट्ने सबै शब्द देख्न र भोग्न पाइन्छ ।
हो त नि । रेल गुडेको नि देख्न पाइन्छ । पानीजहाज चलेको पनि हेर्न पाइन्छ । ज्यान जता फर्काए पनि सुखैसुख । आँखा जता फर्काए पनि समृद्धि नै समृद्धि ।
त्यसको लागि त पार्टीहरुका घोषणापत्र पर्खनुपर्छ । घोषणापत्र हेरेपछि रेल पनि यहीँ, तेल पनि यहीँ, विकासको भेल पनि यहीँ, समृद्धि र आपसी मेल पनि यहीँ ।
भनेपछि नयाँ वर्ष साँच्चै सुखमय हुने भयो यसपालि !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।