सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
कुरो टालोको पर्यो, तर टाल्ने भन्दा ह्वाङ्ग पार्ने काममा प्रभावकारी ! कुरा हो बिहेको टालो तानातानको ! हेर्दा माकुराको जालोजस्तो काम न काजको जाबो टालो ! हनिमुनको बेलामा बेहुला–बेहुलीले सिरानमुनि राख्न पनि नमिल्ने । रत्यौलीमा बुरुकबुरुक उफ्रँदै नाच्नेहरुले पसिना पुछ्न पनि नमिल्ने ! न रुमाल, न टोपी, न दौराको फेर, न पेटिकोटको तुना ! कहीँ कतैबाट केहीको आकारसँग नमिल्ने । दाइजोसँगै लैजान पनि नमिल्ने, जग्गेमा त्यसै हुत्याउन पनि नसकिने । काममा नआउने, तर नभइ नहुने ! बिहेको जग्गेमा जन्ती र घरपट्टिकाले आफ्नो हात पार्नको लागि पालो पर्खेर बस्ने अचम्मको टालो !
जग्गेमा पुरोहित एकसुरले मन्त्र भट्टयाइरहन्छन् । बेहुला–बेहुली त्यसैत्यसै मसक्क मस्केर मुखामुख गरिरहन्छन् । बेहुलीको पछिल्तिर माइती र बेहुलाका पछिल्तिर जन्तिका हुल । कुन बेला रेफ्रीले सिट्ठी फुक्छ भनेर डोरी तान्ने खेलका खेलाडी झैँ तम्तयार भएर बसेका । दुई मिटर परसम्म थुकका छिट्टा वर्षाउँदै मन्त्र भट्टयाइरहेका पुरोहितले लौ भन्न नभ्याउँदै यता र उताबाट सुरु हुन्छ टालो तानातान ।
पुरोहितलाई अघिल्तिर दुनामा रहेका रोटी र भेटी जोगाउन गाह्रो । बेहुलालाई आफैँसँग आएका उरन्ठेउला जन्तीहरुबाट बेहुलीलाई जोगाउन साह्रो । बेहुला–बेहुली, पुरोहित, जग्गे केहीलाई बाल नदिइ दुईतिरका हुल एउटा सानो टालोको लागि तँछाडमछाड गर्छन् । कहिले बेहुलामाथि यताका केटीहरु पछारिन्छन्, कहिले बेहुलीमाथि उताका केटाहरु घोप्टिन्छन् । कतिखेर पुरोहितको टोपीले बोहताको दही पिउन पुग्छ, कहिले टुपीको छेउ हवनकुण्डमा सल्किनै खोज्छ । तै पनि दुई पक्षको रसिक भिडन्त रोकिँदैन ।
कोटको टाँक चुँडिने र सारीको फेरो फुस्कने गरी दुवै पक्ष भिडिरहन्छन् । जग्गेबाट बेहुला–बेहुली र पुरोहितलाई कुल्चँदै र नाघ्दै, दही रोटी पोख्दै र घोप्ट्याउँदै, लिङ्गो भाँच्दै र भत्काउँदै, कान्लाको घाँस पराल माड्दै तल बारीको पाटोमा पुगेर धुलैफुस्रै भएपछि बल्लबल्ल एउटाको हातमा टालो पर्छ । कहिलेकाहीँ दुईतिरको जोडले टालो नै च्यातिएर दुईतिर बाँडिन्छ । हातमा परेको टालोको सानो टुक्रो हल्लाउँदै विजेताको मुद्रामा बत्तीस वटै दाँत देखाउने बेलासम्म अर्को फाल हान्दै, छेकारो काट्दै गएर फेरि टालो समाउन खोज्छ । टालो कसले छुने भन्ने पालोमा हानथाप गरिभ्याउँदासम्म बेहुली अन्माउने बेला हुन्छ । जग्गेको पट्यारलाग्दो काम भ्याएपछि बल्ल बेहुला–बेहुलीको मुहारमा चमक देखिन्छ, टालोमा हानथाप गर्ने जन्ती र घरतिरका पाहुनालाई केही न केही फुस्सा !
हातमा परे पनि हात लाग्यो शून्यजस्तो जाबो टालोको लागि जग्गेमा मरिहत्ते किन त ? जाडोमा दही मथेर मोही बनाए जसरी दिमागलाई निकैबेर मन्थन गर्दा खाँटी कुरा पत्ता लाग्यो । सबैभन्दा पहिले कुरो त जग्गेमा हुने टालो तानातानको यो खेल टिकटकमा भाइरल हुन्छ । भाइरल हुनु भनेको भाइरसजस्तै सबैतिर फैलनु, सबैले थाहा पाउनु हो !
टिकटकमा भाइरल भएपछि टालोको लागि तँछाडमछाड गर्नेहरुलाई सबैले चिन्छन् । जन्ती र घरपट्टिको भेषमा टालो तानातान गर्नेहरुमध्ये धेरै बिहेको पालो पर्खेर बसेका ठिटाठिटीहरु हुन्छन् । बिहे नगरेका ठिटीलाई अरु ठिटाले र बिहे नगरेका ठिटालाई अरु ठिटीले राम्रोसँग हेर्ने र बुझ्ने अवसर यही हो । कसको तागत कति रहेछ र ज्यानको छेउकुना कस्तो रहेछ भन्ने कुरा यो खेल हेरेपछि प्रष्ट थाहा हुन्छ । टालोको लागि मरिहत्ते गर्नेहरुमा एक–दुई जना बिहे भइसकेकाहरु पनि हुन्छन् । बिहे नगरेका ठिटाठिटीहरुकै तालमा टालो तान्दै उनीहरुले प्रष्ट सन्देश दिएका हुन्छन् कि बिहे गरेर छरछरी पाइसक्दा पनि तागत घटेको हुँदैन, अझै तानातान गर्ने पावर ज्यानमा बाँकी नै हुन्छ ।
अब राजनीतिक रुपमा हुने फाइदाको विश्लेषण गरौँ । टालोलाई कुर्सीसँग तुलना गरौँ । कहाँको हल्काफुल्का टालो, कहाँको वजनतार कुर्सी ! जाबो टालोको लागि त मान्छे ज्यान छाडेर भिड्छ भने कुर्सीको लागि मरिहत्ते गर्नु स्वाभाविक र जायज छ भन्ने सन्देश यसबाट मिल्छ । पहिले एमाले र राप्रपा अनि अहिले कांग्रेसको महाधिवेशनबाट नेतृत्वमा हानथाप गरिरहेका नेताहरुलाई टालोको तँछाडमछाडले सकारात्मक सन्देश दिएको छ – जग्गेमा कसैलाई काम नलाग्ने टालोको महत्त्व त यत्तिको हुन्छ भने कुर्सी भनेको त कुर्सी हो, यत्तिकै छोड्नुहुन्न । जग्गेको तानातानमा टालोको टुक्रो हात पार्नेलाई त एकछिन मात्र मज्जा हो, कुर्सी हत्याउन सफल हुनेलाई त कुर्सीमा बस्न पाएका दिनसम्म दिनरात सधैँको मस्ती ।
जग्गेमा टालो तान्ने खेललाई धेरैले ख्यालख्याल मात्रै ठान्छन्, तर यसले अन्तर्राष्ट्रियस्तरमा पनि उत्तिकै बलियो र गतिलो सन्देश दिएको छ । हरेक लगनको बेला जग्गेमा टालोको लागि लुछाचुँडी गरेको भिडियो सधैँ भाइरल हुन्छ । टिकटकको भाइरल भिडियो विदेशीहरुले पनि हेर्छन् । यस्तो भिडियो हेरेपछि उनीहरुलाई लाग्छ – जाबो काम नलाग्ने टालोको लागि त नेपालीहरु यतिसम्म मरिहत्ते गर्छन् भने आफ्नो देश र माटोको लागि त झन् के मात्रै नगर्लान् ? नयाँ कोट र साडीसमेत च्यातिने गरी टालो खोस्न सक्ने नेपाली पक्कै पनि अरुले मिचेको आफ्नो भूमि टुलुटुलु हेरेर बस्न सक्दैनन् । बिहे र जग्गेको जस्तै तामझाम र मौका भेटे भने टालो खोस्ने ठिटाठिटीहरु छाती खोलेर कालापानी र लिपुलेक पुग्न सक्छन् ।
त्यसैले बिहेको जग्गेमा हुने टालो तानातान एकछिनको रमाइलो खेल मात्रै होइन । मौकामा चौका हान्नको लागि केटाकेटीलाई जुराइदिएको रसिक अवसर मात्रै होइन । यो त देश – विदेशसम्म हलचल मच्चाउन सक्ने गहकिलो र खँदिलो सन्देश बोकेको शक्तिशाली खेल हो । त्यसैले जग्गेमा गाडेको लिङ्गो भत्किने र ज्यानमा भिरेको लुगा च्यातिने गरी टालो तानेको भिडियो अझै धेरै बनाएर कोरोनाको नयाँ भाइरसभन्दा पनि धेरै भाइरल बनाउन अति जरुरी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।