पालिका उपचुनाव : बिहानैदेखि मतदाताको उत्साहजन सहभागिता (फो...
मंसिर १६, २०८१ आइतबार
सबैको परिवारमा ‘बा’को आफ्नै महत्व हुन्छ । ‘बा’ सबैका प्यारा ।
झन् देशले नै मान, सम्मान गर्ने शतायुका पुरुषलाई देशले नै ‘बा’ भन्दा के हानी होला र ! केवल शतायु भएका कारण वा शताब्दी पुरुष भएका कारण मात्र ‘बा’को महत्व भएको होइन ।
२०१३/१७/२८ साल गरी तीन/तीन पटकका मदन पुरस्कार विजेता अनि कला, संस्कृति तथा सम्पदाको अथाह ज्ञानका भण्डार भएका कारण पनि उहाँ ‘बा’ हो ।
‘बा’ समयका सम्बन्धमा ‘कडा’ हुनुहुन्छ । समयमै पुग्नुहोला’ सहकर्मीको विवेकपूर्ण आग्रह थियो ।
कार्यक्रम बिहानको ११ बजेका लागि तय थियो । अचम्म, दश मिनेटअघि नै पुगिएछ । आम आचरण र स्वभाव विपरीत ।
कार्यक्रमस्थल अर्थात् उहाँको घर भन्दा बाहिरको घरमा कालो/सेतो रङको क्यानभास जस्तै लाग्ने फ्लेक्स टाँसिएको थियो । लेखिएको थियो क्याभासमा “सत्यमोहन बा”
अन्य सहभागीको गुनासो थियो, पाटनको भित्री गल्ली ‘बा’ को घर पत्ता लगाउँदा लगाउँदै समय केही गुज्रियो ।
उता मंगलबजारमा नै ‘बा’ को घर भनेर नक्सा बनाएर राखिदिएको भए राम्रो हुन्थ्यो । गुनासा क्रमशः आउँदै थिए ।
त्यहाँ पुग्दा, ‘बा’ लोक साहित्य भवनको आडमा आधा घाम अनि आधा छायाँ परेको बेतको कुर्सीमा घाम ताप्दै हुनुहुन्थ्यो ।
पहिरन उही थियो, सत्यमोहन मार्का । खरानी रङको टोपी । टोपी भन्दा केही गाढा रङको खैरो कोट । टोपीको हाराहारी रङको दौरा सुरुवाल । भित्र कलेजी रातो रंगको हाफ स्वेटर । उहाँको नाममा दर्ता नभए पनि करिब करिब पेटेन्ट रहेजस्तै पहिरन ।
सँगै कुर्सीमा टाँसिएर रहेको थियो उहाँको बुढेसकालको सहारा, कालो लौरो । अर्को कुर्सीमा हुनुहुन्थ्यो सांसद कृष्णलाल महर्जन । जसले सांसद कोषको रकम उपलब्ध गराएर लोकसाहित्य भवन बनाउन सघाउनु भएको थियो ।
पछि सत्यमोहन ‘बा’ लाई यस भवनमा आफू बस्ने भन्दा पनि संग्रहालय बनाउनुपर्छ भन्ने लाग्यो । र, उहाँले यसलाई निजी निवासबाट ‘लोकसाहित्य भवन’ बनाउनु भएको छ ।
जहाँ उहाँका हाल प्रदर्शनीमा रहेका चित्रकलाका साथै उहाँले संकलन गर्नु भएको पुरातात्विक महत्वका वस्तुहरु हेर्न पाइन्छ ।
नेपालको सबैभन्दा सानो मुद्रा, सबैभन्दा पहिले छापिएको नोट, आँखाले देख्न नसकिने र माइक्रोस्कोपले हेर्नुपर्ने बुद्धका मूर्ति लगायत अन्य दुर्लभ संग्रह छन् ।
आफू संरक्षक रहेर उहाँले लोकसाहित्य भवनलाई स्वामित्व हस्तान्तरण गरिसक्नु भएको छ ।
कार्यक्रममा फाट्टफुट्ट सहभागी आउने क्रम चल्यो । अनि सुरु भए ‘बा’का दुःखका समय । सबैको मोह उहाँसँगै बसेर तस्बिर खिचाउनुमा थियो ।
दुर्लभ अवसर खेर जान कसरी दिनु ! सदुपयोग गरियो ।
अब छटपटी सुरु भए ‘बा’ का । किनकि घडीले बिहानको ११ नघाइ सकेको थियो । उहाँको अघिसम्मको शालीन मुद्रालाई बेचैनीले गाँजेको भाव स्पष्ट देख्न सकिन्थ्यो मुहारमा ।
अब भने उहाँका धैर्यका बाँध टुटे । उहाँले स–स्वर त्यसको उजागर गर्नुभयो । ११ बजिसकेको होइन र ! ढिलो भयो ! उमेरको मामिलामा फुर्सदिलो देखिनु भएका उहाँ समयका सवालमा भने त्यस्तो देखिनु भएन ।
प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल बाटोको व्यवधानका कारण केही ढिलो हुने आयोजकले ‘बा’ का कानमा बताइरहँदा केही शान्त त देखिनु भयो । तर, उहाँको मन मानिरहेको थिएन । मुहारमा बेचैनी स्पष्ट देखिन्थ्यो ।
उहाँको बेचैनीको सुनामीलाई धैर्यको बाँधले अब भने रोक्न सकेन । उहाँ जुरुक्क उठ्नु भयो र सँगै रहेको कार्यक्रम स्थलतिर लाग्नुभयो ।
यसपटक उहाँको हातमा लट्ठी थिएन । यसले उहाँको शारीरिक तन्दुरूस्तीलाई पनि झल्काउँथ्यो । उहाँ केहीबेर यसै उभिनुभयो अनि सँगै लहर मिलाएर राखिएको कुनै एउटा मेचमा थचक्क बस्नुभयो । अब भने प्रमुख अतिथि ढोकैमा आइसकेको उहाँलाई कसैले खबर गर्यो ।
‘बा’ को गरिमालाई बुझेर होला ‘योङ पिकासो’ले ‘बा’लाई च्याप्प समात्यो दुई वर्ष अगाडि । त्यो पनि पाखुरामा नभइ मुहार चित्र मात्र कैद गर्ने उद्देश्यले । उहाँको पोट्रेट तयार गर्ने उद्देश्यले ।
प्रतियोगितामा ४ सय जना गरी पुरानादेखि नयाँसम्मका कलाकार थिए भाग लिनेमा । उमेरका हकमा ८/९ वर्षदेखि ७० वर्षसम्मका कलाकार थिए । यी मध्ये ४० चित्र छानिएका थिए प्रदर्शनीका लागि ।
राम्रो लागेको चित्र खरिद पनि गर्न सकिन्छ २५ गतेसम्म चल्ने प्रदर्शनीमा । त्यसबाट आएको रकममध्ये ३५% कलाकारलाई, ३५% ‘योङ पिकासो’लाई, २०% लोकसाहित्य भवनलाई र बाँकी १०% भने अक्षयकोषमा जाने व्यवस्था गरिएको छ ।
कलाको विकासको लागि समर्पित ‘योङ पिकासो’ले गाउँ गाउँका स्कुलमा गएर तालिम तथा कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
दुई वर्ष अगाडि आयोजना गरिएको प्रतियोगितात्मक कार्यक्रमलाई कोभिडका कारण आयोजक संस्था ‘योङ पिकासो’ले विधिवत रुपमा सम्पन्न गर्न भ्याएको थिएन ।
कोरोना मत्थर भएको र ‘बा’को उमेरलाई पनि दृष्टिगत गरी कार्यक्रमको हतारोमा थियो ‘योङ पिकासो’ ।
‘योङ पिकासो’ का अध्यक्ष अजय देशारले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने, बोलाउने र भुल्ने भुलाउने क्रम चलिरह्यो । तर, ‘सत्यमोहन बा’ को उमेर तथा स्वास्थ्यलाई ध्यानमा राखेर हो वा चेत पलाएका कारण हो मन्तव्य छोटो छरितो थियो ।
देशकै शिर उँचो बनाउनु भएका मञ्चमा आसीन ‘सत्यमोहन बा’को उमेरका कारण होला शिर केही तलतिर झुकेको थियो । गर्धन केही झुकेर दुई काँधमा शिर अडिएको जस्तो देखिन्थ्यो ।
तर, जब प्रमुख अतिथिभन्दा अघि उहाँलाई आफ्ना मन्तव्य राख्न हातमा माइक थमाइयो तब देखियो उहाँको विषयप्रतिको ज्ञान अनि विद्वता ।
अघिसम्म शिथिल जस्तो लाग्ने उहाँको ज्यानमा तुफानी चमक देखिन्थ्यो । जसका एक एक तरंगले उजेलिएको थियो उहाँको मुहार मन्तव्यका क्रममा ।
‘मेरा दिनहरुमा आज सफल दिन हो’ सफलताको शिखर चुमेका शताब्दी पुरुषले भन्नुभयो, ‘अरु चित्र, अंग, प्रत्यंग बनाउन सकिन्छ तर मुहारको भाव उतार्न गाह्रो हुन्छ । यो जानेर पढेर होइन अभ्यास गर्दा गर्दा गर्न सकिन्छ ।’
एब्स्ट्रयाक्ट चित्र हामीकहाँ पनि पहिले सुरु भएको बताउँदै हाम्रो झण्डामा सूर्य र चन्द्रको मुहार हुनु यसको नमुना भएको बारेमा उहाँले प्रष्ट पार्दै भन्नुभयो ‘मुहार कला गाह्रो कला भएको र बनाउँदा बनाउँदै अर्को बन्न जान्छ ।’
एक सय दुई वर्षीय ‘तन्नेरी बा’लाई करिब दुई घण्टा चलेको औपचारिक कार्यक्रम र त्यसपछिका अरु तीन, चार घण्टा चलेको अनौपचारिक कार्यक्रमले पनि खासै थकाएको देखिएन ।
औपचारिक कार्यक्रमको समापनपछि ग्यालरीमा चित्रकला प्रदशर्नीको उद्घाटन गर्दै ‘आफ्नो रुप हेरी हेरी आफैं हुन्छु दंग’ भन्ने गीत झैं बालक ‘बा’, युवा ‘बा’, चौधरी ‘बा’ लगायत आफ्ना विभिन्न भाव भंगीमाका मुहार चित्र हेरेर दुई वर्षे, यानेकि एक सय दुई वर्षे तन्नेरी ‘बा’ मखलेल हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।