सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्रीज्यू, नमस्कार
तपाईं हाम्रो देशको प्रधानमन्त्री । मैले आज हजुरलाई भन्नैपर्ने केही कुरा छन् । फोन गरेर भन्न त म सक्दिनँ । किनकी म खुसी खोज्न हिँडेको परदेशी स्वदेशमा छैन । हजुर केही दिनअघि मात्र फेरि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । खुसी लाग्यो । यो महामारीबाट बाँचियो भने बधाई दिनेछु ।
मेरो मातृभूमि देश नेपालको प्रधानमन्त्री । यो घडीमा तपाईं पनि शोकमै हुनुहुन्छ होला । किनकी कोराना सङ्क्रमणबाट दैनिक सयौँको ज्यान गइरहेको छ । अहिले यो सबै लेख्दै गर्दा मेरा आफन्त तीन जना र चिनजानका १२ जनाले कोरोनाकै कारण ज्यान गुमाइ सक्नुभएको छ ।
दिनैपिच्छे कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या र सङ्क्रमण दर बढेको समाचार सुन्छु । राजनीतिको रङ्गमञ्चमा रमाउनेहरुलाई किन लाग्दैन नागरिकले दुःख पाइरहेका छन् भन्ने ? तपाईंंले केही दिन पहिले भन्नुभएको थियो अस्पतालमा बेड खाली छन्, अक्सिजनको अभाव छैन । तर अक्सिजन पर्याप्त छ भने किन दिनहुँ अक्सिजन नपाएर ज्यान गुमाएको भन्ने सुनिन्छ ? किन हामीले अक्सिजनको अभावमै दिनहुँ आफन्त गुमाइरहनु परेको छ ? तपाईंसँग जवाफ छ ?
तपाईंको नजरमा त देश जहिले पनि समृद्धितिरै अघि बढेको छ । सबै काम राम्रै भएको छ । तर, मर्नेहरु मरिरहेका छन् । लकडाउनले खाना नपाएकाहरु साँझ बिहान भोको पेटमा बसिरहेका छन् ।
प्रधानमन्त्रीज्यू, “मृत्युदर घट्दै छ । सङ्क्रमण दर घटिरहेको छ, अस्पतालका बेड खाली छन, अक्सिजन अभाव छैन” तपाईंंका यी भनाइमा मेरो आपत्ति छ । तपाईंंको आँखामा हामी नागरिक आकडामा सीमित भए पनि, हाम्रो लागि हाम्रो परिवार शतप्रतिशत हो ।
तपाईंंको लागि एक जना कोरोनाका कारण मरेछ भन्ने हुन्छ होला । तर त्यो एक जना त्यो परिवारको लागि सबथोक हो । त्यो मृतकबाट आश्रित त्यो परिवार अब कसको भरमा बाँच्ने ? परदेश पस्नु, घर परिवारसँग भेट्न नपाउनु, घरदेश फर्कन मन लाग्दा पनि फर्कन नसक्नु परदेशीको पीडा हो । यो पीडा तपाईं के बुझ्नु हुन्थ्यो र ! तै पनि सुनाउँछु ।
प्रधानमन्त्रीज्यू, म मेरी आमा र बाका चिल्ला गालामा आँसुको मसीले खुसीको तमसुक लेखेर परदेशीएको नेपाली हुँ । त्यो खुसीको ऋण तिर्न मलाई अझै कति वर्ष लाग्छ थाहा छैन । तर तपाईंंलाई एउटा अनुरोध के छ भने, म र म जस्तै परदेशिएका नेपालीका घर परिवार कोरोनाका कारण छटपटाइ रहेका छन । जतिबेला पनि उहाँहरुको ज्यान जान सक्छ । तपाईं त विभिन्न उतारचढावपछि फेरि पनि प्रधानमन्त्री बन्नुभएको छ । तपाईंंले चाहेमा र आँटेमा अझै धेरै गर्न सक्नुहुन्छ ।
प्रदेश सरकार गठन, मन्त्री हेरफेर, पार्टी एकीकरणको काम पछि गर्दै गरौँला । अहिले मात्र कारोना सङ्क्रमण रोक्न लागिदिनुहोस् । देशको सम्पूर्ण शक्ति कोरोनाविरुद्ध लड्नमा लगाइदिनुहोस् । दातृ राष्ट्रबाट पाएको सहयोग सामग्री लिन तुरुन्तै जहाज पठाइदिनुहोस् । सहयोग चामग्री लिन एकै दिनमा ४/५ वटा उडान गर्न सकिँदैन र ?
अहिलेको यो संवेदनशील बेलामा गम्भीर भएर काम गरिदिनुहुन परदेशदेखि दुई हात जोडेर आग्रह गर्दछु । बरु, विभिन्न देशका राजदूतावास तथा कूटनीतिक क्षेत्रबाट पहल गरेर भए पनि स्वास्थ्य सामग्री नेपाल भित्र्याउन कत्ति पनि ढिला नगर्नुहोस् ।
प्रधानमन्त्रीज्यू, मेरो आँसुले लेखेको खुसीको तमसुक यतिबेला चाउरी परिसकेका छन् । म चाहेर पनि ती बिरामी आफन्त भेट्न सक्दिनँ । किनकी नेपाल यतिबेला हरेक देशको प्रतिबन्ध सूचीमा परिसकेको छ । जसरी भए पनि हाम्रा बाबा आमाको अकालमा ज्यान जानबाट बचाइदिनुहोस् । चाउरिएका गाला मुसार्दै, खुसीलाई घरमै छोडेर खै कुन खुसी खोज्न परदेशिएको थिएँ कुन्नी ? त्यो यात्राका कुरा बाबा आमालाई सुनाउनु छ ।
अँगेनाको छेउमा बसेर आमाले पकाएको खाना खाँदै बा र नचिनेका मेरा सन्तानसँग परिचय गर्नु छ । आफ्नै रगतलाई परिचय दिनु छ । आफन्तलाई र सबै नेपालीलाई परदेशमा हुँदा आफन्त गुमाउँदाका अनुभव सुनाउँदै आफन्तजनसँगै रमाउन सिकाउनु छ ।
अन्त्यमा प्रधानमन्त्रीज्यू, गाउँघरमा कोरोना लागेकाहरुलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार साह्रै नराम्रो छ । कोरोना लागेर पनि सामाजिक तिरस्कार सहनुपर्ने डरले जानकारी नगराउँदा समाजमा यो रोग भुसको आगोझैं फैलिरहेको छ । धार्मिक परम्परा अनुसार दाहसंस्कार गर्न नपाउने डरले सामाजिक अभियान्ताबाटै ठूला गल्ती भइरहेका उदाहरण आँखा अगाडि देखिएका छन । क्षति धेरै भइसक्यो । अब योभन्दा ठूलो क्षति हुन नदिनुहोस् ।
प्रधानमन्त्रीज्यू, म परदेशबाट फर्कने समयसम्म मेरा बा, आमा बचाइ दिनुहोस् । श्रीमती, छोराछोरी र आफन्तलाई बचाइ दिनुहोस् । दुःख र शोकको यो सङ्कट टरेपछि तपाईंंलाई बधाई दिनेछु ।
उही परदेशी
नारायण पोखरेल, धुर्कोट गाउँपालिका गुल्मी
अहिले टोकियो, जापान
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
धुर्कोट गाउँपालिका गुल्मीका नारायण पोखरेल अहिले टोकियो, जापानमा हुनुहुन्छ ।