उपत्यकाबाहिरबाट काठमाण्डौ प्रवेश गर्दा एन्टिजेन परीक्षण अनिवार्य

सार्वजनिक ठाउँमा गरिने कार्यक्रम स्थगित गर्न आह्वान

 चैत २३, २०७७ सोमबार १६:२६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपत्यकाबाहिरबाट काठमाण्डौ जिल्ला प्रवेश गर्नुअघि एन्टिजेन परीक्षण अनिवार्य भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति काठमाण्डौको बैठकले काठमाण्डौ जिल्ला प्रवेश गर्ने नाकाहरूमा एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने निर्णय गरेको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिनुभयो ।

एन्टिजेनमा नेगेटिभ आएको तर कोरोनाको लक्षण भएका व्यक्तिको पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गर्ने पनि बैठकले निर्णय गरेकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार काठमाण्डौ प्रवेश गर्ने नाकाहरू नागढुङ्गा, दक्षिणकाली, टोखालगायतका नाकामा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टिजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्ने छन् ।

भक्तपुरबाट आउने जगाती नाकामा पनि एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन जिल्ला तहमा समन्वय गर्ने भट्टले बताउनुभयो ।

यस्तै समितिको बैठकले सबै नगरपालिकामा रहेका आइसाेलेशन केन्द्र र क्वरेण्टीन केन्द्रहरूलाई अद्यावधिक गर्न र नगरपालिकाहरूलाई आफ्नो नगरपालिका भित्र एक/एक वटा आइसाेलेशन र क्वरेण्टीनको व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

चीन सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोपलाई कोभिड–१९ खोप अभियानअन्तर्गत मिति २०७७ चैत्र २५ देखि १८ वर्ष उमेरदेखि ५९ वर्ष उमेर समूहका चीनमा अध्ययन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि व्यापार र यसका प्रतिनिधि, प्राध्यापकहरू र काठमाण्डाै जिल्लाभित्रका विद्यालयहरूमा कार्यरत शिक्षक/शिक्षिकालगायत अन्य कर्मचारीलाई लगाउन सरोकारवाला निकायहरूले आपसमा समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । 

यस्तै सार्वजनिक ठाउँमा गरिने कार्यक्रमहरू स्थगित गर्न र गर्नै परे स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै समितिले मापदण्ड पालना नगर्नेलाई दण्ड/जरिबाना गर्ने पनि निर्णय भएको छ । साथै आफ्नो क्षेत्रभित्र कोही सङ्क्रमित भएमा उसको कन्ट्याक्ट ट्रेसिङ गर्न पनि समितिले पालिकाहरूलाई अनुरोध गरेको छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया