काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ – परदेशमा काम सुरक्षित होस् र दाम मेहनत अनुसारको होस् भन्ने सबैको चाहना हुन्छ, तर यो चाहना पूरा हुने मान्छे चाहिँ कमै हुन्छन् ।
परदेशमा कमाउने आशमा निराश भएकाहरु धेरै छन् । कतिपयलाई त एजेण्टले धनको प्रलोभनमा उल्टै बेचिदिएका उदाहरण पनि छन् । कतिपय एजेण्टले गलतलाई पनि सही भनेर गैरकानुनी तरिकाले विदेश पठाउन सक्छन् । कतिपय महिला श्रमिकलाई कम्पनीको काम भनेर घरेलु श्रममा र एक देश भनेर अर्को देश पुर्याएका छन् ।
यस्ता परिबन्दमा परेका महिला परदेशमा हिंसा र दुव्र्यवहार भोग्न बाध्य छन् । त्यसैले जसरी परदेश जाँदा काम र दामको बारेमा चासो राखिन्छ, त्यसैगरी आफूलाई समस्या पर्दा सम्पर्क गर्ने ठाउँका बारेमा पनि जानकारी राख्नुपर्छ । परदेशमा समस्यामा पर्दा कहाँ सम्पर्क गर्ने ? कस्ले कस्तो सहयोग गर्छन त ?
जीवन राई
श्रम काउन्सेलर, नेपाली दूतावास, साउदी अरब ।
साउदीमा विभिन्न क्षेत्रमा श्रमिकहरु कार्यरत हुनुहुन्छ । तर पुरुषको तुलनामा महिला एकदमै कम हुनुहुन्छ । विभिन्न कम्पनीहरुमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएर काम गर्नेको सङ्ख्या ५ हजार ७ सय मात्रै छ । जुन सङ्ख्या खाडीको कतार, यूएईको भन्दा कम हो । यो नगन्य हो भन्दा पनि हुन्छ ।
योभन्दा त देश सानो भए पनि कुवेतमा नै बढी हुनुहुन्छ होला । साउदीमा कम महिला श्रमिक हुनुको कारण पनि छ । यहाँ कामको प्रकृति अलि जटिल र कामहरु गाह्रो छ । निमार्ण, कलकारखाना, यातायातमा काम गर्नुपर्ने हुन्छ ।
घरेलु श्रमिकको रुपमा पनि कतिपय महिला श्रमिकहरु आइपुग्नुभएको छ । कतिपय फर्किसक्नुभयो भने कतिपय अझै पनि काम गरिरहनुभएको छ । तर अहिले घरेलु श्रमिकका रुपमा साउदी ल्याउने क्रम भने सरकारले नै रोक लगाएको अवस्था छ ।
तर पनि विभिन्न बाटो हुँदै यहाँ कतिपय नेपाली महिलाहरु काममा आइरहनुभएको छ । यसरी आउनुभएका केहीलाई राम्रो भए पनि कतिपयलाई रोजगारदाताले यातना दिने, समस्यामा राख्ने गरेको पाइयो । यस्तो समस्या थाहा पाएपछि हामीले सम्बन्धित घरबाट उद्धार गरेर आश्रय पनि दिइरहेका छौं । तर त्यसका लागि दूतावासमा खबर भने गर्नुपर्छ । उहाँहरुलाई नेपाल पठाउने बन्दोबस्तो नमिल्दासम्म बासस्थान, खाद्यान्न, आवश्यक कागजात सबैको व्यवस्था दूतावासले नै गर्छ । सबै कागजात र आवश्यक प्रक्रिया गरिदिएर नेपाल पठाउने गर्छौं ।
कोरोनाको अवधिमा पनि ७ जनालाई हामीले विभिन्न ठाउँबाट उद्धार गर्यौं । कतिपयलाई हामीले रातारात पनि उद्धार गरेर ल्यायौं भने कतिपय विभिन्न माध्यमबाट दूतावासको गेटसम्म आइपुग्नुभयो ।
यसरी समस्यामा परेर उद्धार गर्नुपर्ने अवस्थाका महिलाहरुसँग पासपोर्ट, अकामा लगायतका कागजात हुँदैन । उहाँहरुलाई हामी खानपिन, बासस्थान र बिरामी हुनुुहुन्छ भने उपचार लगायत सबै सहयोग गर्छौं र समन्वय गरेर खर्च नुहुनेलाई टिकटको व्यवस्थासहित स्वदेश पठाउने पनि दूतावासले गर्छ । अहिले त दूतावासको सेल्टरमा एक जना पनि महिला श्रमिक हुनुहुन्न । यसअघि कोभिड सुरु भएपछि समस्यामा पर्नुभएकाहरुलाई उद्धार उडान सुरु भएपछि हामीले पठायौं ।
समस्यामा पर्नुहुने श्रमिकले मलाई यो देशबाट यसरी ल्याएर राखेको छ, खान बस्न दिएन, सधैं कुट्छ, घर जान दिँदैन, मसँग पासपोर्ट छैन, अकामा छैन, म कसरी घर जाने, मेरो घरमा परिवार समस्यामा हुनुहुन्छ, मलाई जान दिँदैन भनेर भन्नुहुन्छ ।
कतिपयले तलब दिएन, राम्रो बस्न दिएन, १४/१५ घण्टा काम गर्नुपर्ने, खान बस्न पाइएन, सुत्न पाइएन भन्ने गुनासो आउँछ । यस्तो गुनासो आउँदा उहाँहरु घर या कम्पनी कहाँ काम गर्नुहुन्छ हामीले त्यहाँको कम्पनीको जिम्मेवार व्यक्तिको सम्पर्क नम्बर माग्ने र हाम्रो फलानो नामको नागरिकलाई किन यस्तो गर्नुभयो भनेर कुरा गरेर समस्या समाधान गर्ने कोशिस गर्छौं ।
नेपाल फर्कने व्यवस्था गरिदिनुस् भन्छौँ । कतिलाई त आफू बस्ने ठेगाना, साहुको नाम नम्बर केही पनि थाहा हुँदैन । त्यस्तो अवस्थामा लोकेशन सकेसम्म लिन कोशिस गर्छौं । यदि उहाँहरुलाई उद्धार नै गर्नुपर्ने अवस्था हो भने आउन सक्नुहुन्छ दूतावास आउनुस् भन्छौ र सम्भव छैन भने उहाँहरुको घर ठेगाना पत्ता लगाएर दूतावासका कर्मचारी आफैं गाडी लिएर उहाँहरुको अनकूल समय मिलाएर बाहिर निस्कन लगाएर उद्धार गरेर पनि ल्याएका छौं । यहाँ यस्तो विविध समस्या भोग्ने महिला श्रमिकलाई हामीले रातको १२ बजे पनि गाडी लिएर गएर उद्धार गरेका छौं ।
अन्य सामान्य समस्याको हकमा त हामीले सम्बन्धित कम्पनीसँग समन्वय गरेर केश अनुसार के समस्या भएको हो, जस्तो बिदा दिएको छैन भने, तलब दिएको छैन भने दिनुहोस् भनेर अनुरोध गर्ने गर्छौं । करार पूरा भइसकेको छ भने एक्जिट भिसा दिनुहोस् भनेर भन्छौँ ।
सेवा सुविधा कट्टी गर्नुभएको छ भने त्यो पनि दिनुुहोस्, अकामा दिनुहोस् भन्छौँ । कतिपयलाई खाद्यान्न समस्या पर्छ । हामीले सम्बन्धित ठाउँमा पुर्याइदिने गरेका छौं ।
त्यसैले तपाईँलाई पनि यस्तै समस्या परेको छ भने दूतावासमा सम्पर्क गर्न म अनुरोध गर्छु ।
दूतावासमा ०११४६१११०१ मा र अर्को हटलाइन नम्बर ०११२८८३७९५ मा पनि सम्पर्क गर्न सक्नुहुन्छ । सहयोग माग्न बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म फोन गर्नुभयो भने उपयुक्त हुन्छ । हैन तपाईँहरुलाई यो समय अनकूल भएन भने जुनसुकै समयमा पनि सम्पर्क गर्न सक्नुहुन्छ । अनि हाम्रो फेसबुक पेज छ, वेवसाइट छ त्यहाँबाट पनि थप जानकारी लिन सक्नुहुन्छ ।
दिनेश ढकाल
श्रम सहचारी, नेपाली दूतावास ओमान
दूतावासबाट ओमानमा समस्यामा पर्ने घरेलु श्रमिकदेखि सबै श्रमिकलाई आवश्यक परेको सहयोग प्रदान हुन्छ । यहाँ कार्यरत श्रमिकहरु समस्यामा पर्नुभयो भने विभिन्न माध्यमबाट दूतावासमा सम्पर्क गरिरहनुभएकै छ ।
फेसबुक, वेवसाइट लगायत हामीले तोकेका नम्बरमार्फत पनि दूतावासमा सम्पर्क गर्न सकिन्छ । विभिन्न माध्यम छन् । विभिन्न किसिमका समुदाय छन् । उनीहरुबाट पनि आफ्नो समस्या लिएर दूतावासमा आउन सक्नुहुन्छ ।
श्रमिकले दूतावासमा धेरै खालका समस्याहरु राख्नुहुन्छ । तर अहिले पछिल्लो समयमा यहाँको सरकारले कागजातविहीन श्रमिकलाई विना जरिवाना घर फर्कन पाउने सुविधा दिएकाले कहिले सम्पर्कमा नआउनुभएका दिदीबहिनी दाजुभाइ पनि दूतावासको सम्पर्कमा आइरहनुभएको छ ।
कतिपय चाहिँ घरेलु महिला श्रमिक जसलाई दुई वर्ष भएपछि पनि घर जान नदिएको लगायतका समस्याहरु छन् । उहाँहरुको समस्या समाधानका लागि रोजगारदाता र स्पोन्सरसँग पनि समन्वय गर्छाैं ।
एउटा कुरा चाहिँ के छ भने यहाँको कानून अनुसार यहाँको नागरिकको घरमा श्रमिक समस्यामा भए पनि दूतावास भित्र जान मिल्दैन । तर पनि दूतावासले विभिन्न उपाय अपनाएर पनि समस्यामा पर्नेको उद्धार चाहिँ गर्छ ।
कतिपय त विभिन्न नेपाली समुदायको सहयोगमा पनि दूतावासको सम्पर्कमा आउनुहुन्छ । यहाँ दूतावासको छुट्टै आवास छैन । तर दूतावासमा नै हामीले त्यसको व्यवस्था गरेका छौं । केही समयअघि मात्रै दुई जनालाई उद्धार गरेर पठायौं । अहिले पनि एक जना दूतावासको आवास गृहमा हुनुहुन्छ । उहाँलाई पनि घर पठाउने प्रक्रिया गरिरहेका छौं ।
कतिपयसँग एक रुपैयाँ पनि हुँदैन । त्यस अवस्थामा हामीले केश हेरेर सहयोग गर्छौं । अहिले महामारीको समयमा त दूतावास भित्र ल्याउन नै पीसीआर गर्नुपर्ने हुन्छ । हामीले त्यो पनि दूतावासकै खर्चमा गराउँछौं । फेरि आवश्यक प्रक्रिया पूरा गरेपछि पनि पीसीआर गरेरै दूतावासले नेपाल पठाउँछ ।
घरेलु श्रम गर्नेले अफिस समयमा दूतावास फोन गर्न नपाउनुभएको हुन्छ । उहाँहरुले हामीलाई जुनसुकै बेलामा पनि फोन गरेर आफ्नो अवस्था र आवश्यक सहयोगको बारेमा भन्न सक्नुहुन्छ । म श्रम सहचारी हुँ । मलाई नै धेरै फोन आइरहेको हुन्छ ।
म निदाउनुअघि बाहेक फोन उठाइरहेको हुन्छ । कारण बस उठाउन सकिएन भने आएका नम्बरमा फोन फर्काउने गरेको छु । दूतावासले हटलाइन नम्बरको पनि व्यवस्था गरेको छ । हटलाइनमा त २४ घण्टै फोन उठाउने व्यवस्था हुन्छ । तर कतिपय अवस्थामा उठेन भनेपछि कलब्याक त अनिवार्य नै हुन्छ ।
हामीसँग हातैमा मोवाइल हुन्छ । हातैमा मोवाइल लिने र उहाँहलाई सुन्ने गर्छौं । अर्को चाहिँ यहाँ ह्वाट्सएप प्रयोग हुन्छ । हामी त्यसलाई नै इन्टरटेन गर्छौं । कतिले फोन नै गर्न भ्याउनुभएको हुन्न, तर म्यासेज गर्न सक्नुहुन्छ । सजिलो चाहिँ के हुन्छ भने हामी उहाँहरुलाई आफ्नो कागजात के छ पठाउनुस् भन्दा पनि ह्वाट्सएप सजिलो हुन्छ ।
निर्मला थापा
श्रम काउन्सेलर, नेपाली दूतावास, यूएई ।
यहाँ समस्यामा पर्नेहरुलाई हेर्दा जो कानुनी बाटो हुँदै आउनुभएको छ, उहाँहरु समस्यामा कम पर्नुभएको छ । जो गैरकानुनी हिसाबले आउनुभएको हुन्छ, उहाँहरु समस्यामा पर्ने क्रम पनि बढी हुन्छ ।
त्यसैले यदी समस्यामा पर्नुभयो भने दूतावासमा सम्पर्कमा आउनुहोस् । आवश्यकता अनुसारको सहयोग दूतावासले गर्छ ।
लामो समय नै भयो सरकारले पनि महिला श्रमिकलाई घरेलु श्रममा पठाउन रोक लगाएको छ भने यहाँ पनि लामो समय बस्दा म्यानपावरहरु जिम्मेवारीबाट पन्छिने गर्छन् ।
दुई वर्ष अर्थात करार अवधि भित्र हुन्थ्यो भने केही समस्या पर्दा म्यानपावरलाई पनि खबर गर्दा हुन्थ्यो । फेरि यता एजेन्सी हुन्छन् ।
एजेन्सी दर्ता भएर एजेन्सीले सप्लाई गर्ने भन्ने हुन्छ । यो हिसाबले पनि अलि जटिल हुन्छ ।
तर पनि समस्यामा पर्ने हरेक नागरिकलाई दूतावासले सहयोग गर्छ । नगर्ने भन्ने हुँदैन । तर दूतावासलाई आफ्नो समस्या भन्न चाहिँ पर्यो ।
साथै अर्को भनेको आफ्नो समस्या यहाँको विभिन्न निकायमा पनि राख्न सकिन्छ । तक्दिर भन्ने निकाय छ । त्यसमार्फत पनि उहाँहरुले सहयोग लिन सक्नुहुन्छ । तक्दिर भन्ने यहाँको एक संस्था हो, जुन यूएई सरकारमा दर्ता भएको हुन्छ ।
यसमार्फत समस्या समाधानका लागि यहाँका अन्य सरकारी निकायमा पनि समन्वय हुन सक्छ । त्यसका साथै विभिन्न नेपाली समुदाय र संघ संस्थामार्फत पनि दूतावासको सम्पर्कमा आउन सक्नुहुन्छ । र सहयोग लिन सक्नुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।