सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
तपाईं कोरोना भाइरसको सङ्क्रमणबाट बच्न के/के उपाय अपनाउनुहुन्छ ? नियमित हात धुने वा स्यानिटाइजर दल्ने, घरको गेट, ढोका, रेलिङ, धाराको टुटी लगायत सफा गर्ने, घर वा कार्यालयमा सरसफाइ गर्ने जस्ता काम कोरोना महामारी सुरु हुनुअघिको भन्दा बढेकै होला । अहिले साना नानीबाबुदेखि लिएर बृद्धबृद्धा पनि नियमित हात धुने कुरालाई प्राथामिकता दिन्छन् । महामारी सुरु भएसँगै झुपडीदेखि महलसम्म सरसफाईको चर्चा चुलिएको छ ।
तर बारम्बार सरसफाइको चर्चा भइरहँदा हामीले लगाएको जुत्ताले पनि कोरोना भाइरस बोकेर घरभित्र लगिरहेको हुन्छ भन्ने कुरामा कमैको ध्यान गएको छ । नेपाल सरकारका पूर्व सह–सचिव एवम् विपद् र स्वच्छता बिज्ञ राजनराज पाण्डे भन्नुुहुन्छ ‘भाइरस जहाँ फैलिए पनि भुईंमा झर्छ, भुईंमा जुत्ताले टेकेपछि जुत्तामा टाँसिएर भाइरस घरभित्रै पुग्छ । घरमा पुगेको भाइरस जुत्ता छुँदा वा जुत्ताबाट घरको भुईंमा सरेर लगायतका माध्ययमबाट मानिसमा सङ्क्रमण हुन सक्छ ।’
इटलीमा भएको एउटा अध्ययन अनुसार त्यहाँ कोरोना फैलने मुख्य कारण जुत्तालाई देखाइएको छ । इटलीमा धेरैजसो मानिस बाहिरबाट लगाएर गएको जुत्ता सहित बेडरुममा पुग्ने भएकोले त्यहाँ भाइरस फैलिएको अध्ययनको निचोड छ । पाण्डे भन्नुहुन्छ ‘कुकुर, बिरालो लगायत घरपालुवा जनावरले भाइरस भएको जुत्ता छोएर भित्र जाँदा पनि मानिसमा भाइरस सर्न सक्छ ।’
जुत्ताबाट भाइरस घरमा नलैजान जुत्तामा क्लोरिन वाथ लिएर निसङ्क्रमण गर्न सकिन्छ भने, जुत्तामा प्लाष्टिक लगाउने, घर बाहिरै जुत्ता फुकाल्ने, जुत्ता छोएपछि राम्रोसँग साबुनपानीले हात धुने जस्ता व्यवहार गरी जुत्ताको माध्ययमबाट भाइरस फैलनबाट रोक्न सकिन्छ । काठमाण्डौ लगायतका सहरहरुमा सानो कोठामा जीविका चलाउने परिवार धेरै छन् । उनीहरुको जुत्ता राख्ने ठाउँ पनि कोठा नजिकै रहने भएकोले जुत्ताको माध्ययमबाट भाइरस मानिसमा पुग्ने संभावना भएकोले जुत्ताको सरसफाइ तथा घर बाहिर जुत्ता फुकाल्ने कुरालाई जोड दिनुपर्ने विज्ञहरु बताउँछन् ।
कोरोना भाइरस बिरुद्धको खोप बनेको छैन र अहिलेसम्म यसको औषधि पनि छैन । लक्षणका आधारमा उपचार भैरहे पनि सबैमा त्यो प्रभावकारी हुँदैन । यो अवस्थामा कोरोनाको प्रतिरोधि उपाय भनेको सरसफाई, व्यक्तिगत दूरी र मास्क लगाउनु हो ।
विपद् तथा स्वच्छता विज्ञ एवम् नेपाल सरकारका पूर्व–सहसचिव राजनराज पाण्डे सहित चार जनाको समूहले कोरोना सर्ने माध्यम र अबरोधहरु समेटेर एउटा रेखाचित्र बनाएको छ । जसमा कोरोना भाइरस फैलनबाट रोक्न स्वच्छतालाई प्रभावकारी उपाय मानिएको छ ।
यो रेखाचित्रबाट पनि धेरै कुरा बुझ्न सकिन्छ । हामीले घरबाट बाहिर निस्कँदादेखि कार्यालयको काम तथा किनमेल लगायतका काम सकेर घरमा फर्किएपछि सम्मका व्यवहारमा ध्यान दिने हो भने कोरोना सङ्क्रमणबाट जोगिन सकिन्छ ।
कोरोना सङ्क्रमणबाट बच्न स्वच्छताको व्यवहार महत्वपूर्ण रहेको भन्दै विपद् तथा स्वच्छता विज्ञ एवम् नेपाल सरकारका पूर्व–सहसचिव पाण्डे भन्नुहुन्छ ‘म घरबाट निस्कँदा मास्क लगाएर स्यानीटाइजरको सानो बट्टा बोकेर निस्कन्छु, सार्वजनिक गाडी चढ्दा ढोकामा हातले छुने भएकोले सिटमा बस्नसाथ हातमा स्यानिटाइजर दल्छु, यात्राभर हातले कतै छुन्न, आवश्यक परे कुहिनेले अडेस लगाउँछु, निस्कनेबेला ढोका छुनुपर्ने भएकोले ओर्लेर भाडा तिरेपछि फेरि हातमा स्यानिटाइजर दल्छु, कार्यालयमा पसेपछि राम्रोसँग हात धुन्छु, कार्यालयमा काम शुरु गर्नुअघि कम्प्यूटर, टेलिफोन लगायतलाई निसङ्क्रमण गर्ने बस्तुले पुछेर सफा गर्छु र कार्यालय सहयोगीको भर नपरी बारम्बार सफा गरिरहन्छु, शौचालय पसेपछि शौचालय सँगै धाराको टुटी पनि राम्रोसँग सफा गर्छु, शौचालयबाट निस्कने बेलामा ढोकाको चुकुल सफा गर्नुको साथै पेपरले पुछेर सफा बनाएर निस्कन्छु, घर फर्कंदा पनि बसमा अघिकै प्रक्रिया पूरा गरेर घरमा जान्छु ।
घरमा पुगेपछि भित्र पसेसँगै गेटमा आफूले छोएको ठाउँमा स्यानिटाइजर दल्छु र गेट लगाएर जुत्ता बाहिरै फुकालेर हातगोडा राम्रोसँग धोएर भित्र पस्छु, बाटोमा एक्लै हुँदा मास्क लगाउनु आवश्यक नहुन सक्छ । वा अरु कुनै कारण मास्क फुकाल्नु परेमा पहले हातमा स्यानीटाइजर दलेर कान्छी औंलाले मास्कको तुनामा समातेर फुकाल्ने र लगाउने गर्छु, हात नधोइ वा हातमा स्यानीटाइजर नदली अनुहार कहिल्यै छुन्न । यति काम गरेको कारण कामका लागि बाहिर निस्किरहनुपर्दा पनि मलाइ सङ्क्रमण भएको छैन, संक्रमणबाट जोगिने उपाय पनि यही हो ।’
कोरोनाको सङ्क्रमण रोक्न खोप बनेको छैन र उपचारका लागि औषधि छैन । यस्तो बेलामा सङ्क्रमण रोक्न बिकल्प नै मास्क, भौतिक दूरी र सरसफाई नै हो । तर सरकार सरसफाइ भन्दा मेडिकल बिधिमै बढी केन्द्रित भएको छ । परीक्षण, स्वास्थ्य सम्बन्धी उपकरण तथा भौतिक निर्माण लगायतका कामलाइ जोड दिइरहेको र खोप तथा औषधि पर्खिएको कुरा बारम्बार बताइरहेको सरकारले यसको लागि अहिलेको खोप भन्नु नै सरसफाइ हो भन्ने कुरा बुझ्न नसकेको पानी तथा सरसफाई सम्बन्धी अभियन्ता प्रकाश अमात्य बताउनुहुन्छ ।
यदि एक महिना मात्रै सबैले मास्क लगाउने, दूरी कायम गर्ने, सरसफाईका उपाय अपनाउने हो भने कोरोना फैलनबाट रोक्न सकिने विज्ञहरु बताउँछन् । स्वास्थ्यका यी मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बारम्बार आग्रह गरिरहेको छ । तर सरकारले आग्रह गर्नुभन्दा बढी यस क्षेत्रमा केही काम पनि गर्नुपर्छ भन्ने कुरा सोचेको पाईंदैन । खानेपानी मन्त्रालयका पूर्व सह–सचिव पाण्डे कोरोना सङ्क्रमण रोक्न स्वच्छताका लागि सरकारले काम गरेको नदेखिएको बताउनुहुन्छ ।
विपद व्यवस्थापनको क्षेत्रमा विभिन्न १० वटा देशमा काम गरिसक्नुभएका पाण्डे भन्नुहुन्छ ‘कोरोना सर्ने माध्यम तथा बच्ने उपायहरु हेर्दा सरकारको पहिलो प्राथामिकता पानी, सरसफाइमा हुनुपथ्र्याे, तर बिडम्बना यसमा कुनै कार्यक्रम देखिएको छैन । सरकार खोप र औषधिका कुरा गरिरहन्छ, जाँच र उपचारका ध्यान केन्द्रित गरेको छ तर सङ्क्रमण फैलनबाट रोक्न गर्नुपर्ने मुख्य काम नै गरेको छैन, सरकारले जति चाँडो यो विपद रोक्न स्वच्छताको विषयलाई प्राथामिकतामा राख्छ त्यत्ति नै चाँडो महामारीको जोखिम कम हुन्छ ।’
अहिले सबैभन्दा बढी कोरोना सङ्क्रण फैलिरहेको ठाउँ काठमाण्डौ उपत्यका हो । बस्ती बाक्लो छ । काठमाण्डौमा पाको उमेर तथा जोखिम समूहका मानिस धेरै छन् । बाहिरबाट उपचारका लागि पनि मानिस आउँछन् । आर्थिक गतिबिधि धेरै हुने भएकोले सडकमा मानिसको भिडभाड धेरै हुन्छ । यति धेरै संवेदनशिल ठाउँ भए पनि कोरोना सङ्क्रमण रोक्न स्वच्छताका काममा सरकारको ध्यान गएको छैन ।
सार्वजनिक शौचालयको समस्या काठमाण्डौ उपत्यकामा पुरानै रोग हो । अहिले यसले थप जोखिम बढाइरहेको छ । बाहिर निस्किएपछि दिसापिसाब आइहाल्छ, बाध्य भएर सार्वजनिक शौचालयमा जानुपर्छ । पहिलो कुरा त भनेको ठाउँमा सार्वजनिक शौचालय पनि छैन भने भएका पनि फोहोर छन् । यसअघि नाकमुख थुनेर भित्र पस्नुपर्ने यि शौचालय अहिले कोरोना सङ्क्रमण फैलाउने कारण बन्दै गएका लामो समयदेखि सार्वजनिक शौचालयको पैरवी गर्दै आउनुभएका प्रकाश आमात्य बताउनुहुन्छ ।
सार्वजनिक शौचालयमा सङ्क्रमण भएकाहरु पनि पसेका हुन सक्छन् । यदि त्यस्तो हो भने सरसफाइ तथा सुरक्षाका उपाय नअपनाउँदा त्यहाँ जाने अरु मानिसमा सजिलै भाइरस सर्न सक्छ, तर सरकारको ध्यान यसतर्फ गएको छैन । विपद् तथा स्वच्छता बिज्ञ पाण्डे बजारमा रहेका एटीएम मेसिन तथा सार्वजनिक शौचालय हरेक मानिस पसिसकेपछि सरसफाई तथा निसङ्क्रमण गर्नुपर्ने भए पनि सरकारले त्यसतर्फ ध्यान नदिंदा सङ्क्रमणको जोखिम बढिरहेको बताउनुहुन्छ ।
सरकारले बारम्बार हात धुन आग्रह त गरिरहन्छ तर त्यसको लागि आवश्यक पूर्वाधार खडा गरेको छैन । पाण्डे भन्नुहुन्छ ‘केही समयअघि केही दाता तथा सरकारको तर्फबाट पनि केही ठाउँमा हात धुने ठाउँ स्थापना भएका थिए तर अहिले धेरैजसोमा साबुनपानी नै छैन, स्थापना गरेर फोटो खिचेपछि काम पूरा भएको मान्ने सरकारी सोचका कारण अहिले पनि स्वच्छताको काम प्रभावहीन छ ।’
सरसफाइ अभियन्ता अमात्य पनि त्यसरी राखिएका हात धुने ठाउँको प्रभाव कम रहेको बताउनुहुन्छ । धेरै ठाउँमा साबुनपानी छैन, भएकाहरु पनि मापदण्ड अनुसार छैनन् । केही ठाउँमा हातले नछोइ खुट्टाको प्रयोग गरेर पानी र साबुनलिन सकिने भए पनि धेरै ठाउँमा बाल्टिन तथा ड्रम राखेर हात धुने ठाउँ भनिएको र यसैको माध्ययमबाट पनि भाइरस सर्न सक्ने उहाँको भनाइ छ । राम्रोसँग सफा नगरेमा धाराको टुटीबाट भाइरस सर्ने संभावना धेरै रहन्छ ।
अहिले सरकारले होम आइसोलेसनलाई प्राथामिकता दिएको छ । संस्थागत आइसोलेसनमा बस्न चाहे पनि धेरैले त्यो सुबिधा पाएका छैनन् । संस्थागत आइसोलेसनमा पहुँच नहुँदा घरमै बस्नुपर्छ । सबैका घरमा छुट्टै शौचालयको व्यवस्था हुँदैन । कतिपयले बाध्य भएर कसैलाइ नभनीकन पनि आइसोलेसनमा बसेका छन् ।
काठमाण्डौमा एउटै घरमा धेरै परिवार बस्छन् । तर शौचालय सीमित हुन्छ । यस्तो बेला सङ्क्रमण भएका र नभएकाहरुले एउटै शौचालय प्रयोग गर्दा सङ्क्रमण फैलने जोखिम हुन्छ । विपद्बिज्ञ पाण्डे यदि सचेततापूवर्क शौचालयको सरसफाइ गर्ने हो भने एउटा परिवारमा सङ्क्रमण भएका र नभएकाले एउटै शौचालय प्रयोग गर्न सक्ने तर सरसफाइमा थोरै मात्र चुकेमा पनि अरुमा भाइरस सर्ने जोखिम रहने बताउनुहुन्छ ।
होम आइसोलेसनमा बसेका सङ्क्रमितहरुले प्रयोग गरेका बस्तुवाट निस्कने फोहोरको व्यवस्थापनमा पनि सरकारले ध्यान दिएको छैन ।
सरसफाइ कर्मचारीलाई पठाउँदा वा सङ्क्रमितले विभिन्न ठाउँमा फ्याँक्दा आबश्यक सुरक्षाका उपाय नअपनाउँदा त्यही फोहोरबाट पनि कोरोना भाइरस फैलिरहेको हुन सक्छ । परीक्षण, उपचार तथा स्वास्थ्य सामाग्री खरिदलाई प्राथामिकता दिइरहेको सरकारले यसतर्फ ध्यान दिएको पाईंदैन ।
कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्ने प्रमुख र प्रभावकारी उपाय नै सरसफाइ हो । मास्क र दूरी कायम प्रत्यक्ष जोगिने कुरा हुन् भने अप्रत्यक्षरुपमा हुने सङ्क्रमणबाट जोगिन सरसफाइ नै मुख्य उपाय हो । तर यसबारेमा न त सम्बन्धित मन्त्रालयले चासो दिएका छन् न त पालिकाहरुले । खोप, परीक्षण तथा औषधिको पछि लागिरहने सरकार कोरोनाको सङ्क्रमणबाट जोगिन अहिलेको मुख्य विकल्प सरसफाइतिर पनि केन्द्रित हुनुपर्छ भने आम नागरिकले पनि आफू र परिवारलाई कोरोना सङ्क्रमणबाट जोगाउन सरसफाइका उपायहरुलाई व्यवहारमा उतार्न आवश्यक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।