सुसाइड नोट

 असोज ३, २०७७ शनिबार २०:२९:२५ | राधिका कल्पित
unn.prixa.net

आज सुजाताको मुड एकतमासको खिन्नताले भरिएको छ । तर पनि उसको उदासीपनाले उसको दैनिकीमा कुनै अवरोध पारेको छैन । 

स्वचालित मेसिन जसरी हातहरुले स्वस्फूर्त रुटिन जस्तै दैनिक गरिरहने कामहरु सक्दै छे । यति तन्मयले कि मानौँ सबै काम आजै सक्नु छ । भोलि कतै लामो बिदामा घुम्न जानु छ । 

छोरीका लागि खाना बनाएर हटकेसमा राखिदिई । उसलाई थाहा छ उसकी छोरी नाइट ड्युटी सकेर थकाई र भोकले चूर भएर आउँछे । श्रीमानका लुगाहरु आइरन गरेर पट्टाइवरी दराजमा राखिदिई । दराज खोल्दै थिई, अनायास सिसामा आफूलाई देख्न पुग्छे ।

फुङ्ग उडेको अनुहार कताकता आफैलाई देखर उसका आँखाहरु भरिए । दराज खोल्छे अनि गहना र लुगाहरु हेर्छे । कति रहरले सङ्गालेका चीजहरु । तीजको लागि आमाले किनिदिएको नयाँ साडी आँखा चिम्म गरेर एकछिन छातीमा टाँस्छे अनि जस्ताको त्यस्तै दराजमै थपक्क राख्छे । 

हतारहतार कुकुरलाई खाना खान दिई । किन किन बिहानै देखि आमासँग गफ गर्न मन लागिरहेको थियो । फोन डायल गरी अनि सन्चो बिसन्चो सोधेर लामो कुरा नगरी फोन राखी ।

भित्ताको घडीले एघार बजाइरहेको देखायो । उसका हातहरु अझ छिटोछिटो चल्न थाल्छन् । अब ऊसँग जम्मा दुई घण्टाको समय थियो तर गर्नु पर्ने काम धेरै थियो । छिटोछिटो गमलाहरुमा पानी हाली । मेसिनका लुगा सुकाई । अनि एकछिन केही सम्झेजस्तो गर्छे अनि झटपट बिहान मर्निङवाकमा जाँदा किनेर ल्याएको डोरी निकाल्छे र सुर्के गाँठो मिलाउछे । 

सुर्किन्छ कि नाइँ भनेर एकचोटी राम्रोसँग जाँच गर्छे । अनि डाइनिङ हलबाट कुर्चि ल्याएर ठिक्क पार्छे । सिलिङको फ्यान बलियो छ कि छैन भनेर झुण्डिएर एकपटक तान्छे र एउटा कलम लिएर लेख्न बस्छे ।
सुरुमा सानो कागजमा ठूला अक्षरमा लेखी ।

‘मैले स्वेच्छाले आत्महत्या गरेकी हुँ । यसमा मेरो परिवारको कुनै कसूर छैन । कृपया कसैमाथि शंका उपशंका गरी दुःख नदिनुहोला ।’

खै बिजुली चम्के सरह मनमा के आउँछ उसको त्यो कागजको टुक्रा च्याँतेर डस्टबिनमा फाल्छे । मनमनै तर्क गर्छे ।

‘जब मेरो शरीर झुण्डिएको अवस्थामा भेटिनेछ तब मान्छेहरुले मेरो मृत्युको कारणका बारे अनेक अड्कलबाजी गर्नेछन्, खासखुस गर्नेछन् । यो होला कि त्यो होला कि, यस्ती थिई उस्ती थिई भन्ने छन् । मेरो यो निष्कलङकित र पवित्र शरीरमाथि अनेक झुठा लाञ्छनाहरु लगाइनेछन् । जुन मेरो मृत आत्माको समेत आत्मसम्मानमा ठेस लाग्नेछ । त्यसैले बरु विस्तृत बयान लेखेँ भनेँ त मेरो चरित्रमा हिलो छ्याप्ने काम त हुने छैन । कमसेकम मेरी छोरी र आमाको आँसु थामिदिनको लागि पनि लेख्नु पर्छ । मेरो इज्जतमा धावा नबोलिनका लागि पनि लेख्नु पर्छ । 

छोरीको पढ्ने टेबलबाट ठूलो कापीको पाना लिइ र लेख्न सुरु गरी ।

मेरी प्यारी आमा, 

यो छोटो जीवनको अन्तिम घडीमा जीवनभरिको लामो माया । मैले यो सुन्दर संसारबाट बिदा लिनु पूर्व मलाई यो संसार देखाउने मेरी गुरु, मेरी आमा । म चाहन्थेँ एकपटक तपाईंको काखमा बेस्सरी रोऊँ, त्यसरी नै जसरी सानी हुँदा डाँको छोडेर रुन्थेँ । अनि एकैछिनमा वर्षातपछि उघ्रिएको आकास भएर कुदिसक्थेँ चङ्गा झैँ बनेर । 

हजुरले भनेझैँ हरेक बिहान सुर्यमुखीको मुस्कान चोरेरै भएपनि मुस्काउँदै फुल्थेँ तर रातको पहिलो प्रहर नसकिँदै पारिजातका फूलहरु जस्तै मेरा मुस्कानहरु मेरा छातीका आँगनभरि झरिसक्थे । 

जीवनमा आज जति तपाईंको न्यास्रो कहिल्यै लागेको थिएन आमा । अन्तिमपटक तपाईंको चाउरी परेका सुकिला गाला र मिठो हाँसोको धेरै याद आयो । तपाईंले आफ्नो जीवनमा के के भोग्नु भयो एकपटक पनि सोध्न सकिन बरु फेरि आफ्नै व्यथाको भारि बिसाउँदै छु । 

आखिर मेरी आमा हो तपाईं, त्यसैले त मेरो गनगनले कहिल्यै झर्को लाग्दैन तपाईंलाई । यो जिन्दगीको यात्रा यहीँनिर बिट मार्नुपर्छ अब भन्ने कठोर निर्णय गर्दा सबैभन्दा पहिले तपाईंको याद आयो आमा । 

मलाई सधैंभरि फूल झैँ मुस्कुराएको देख्न चाहने मेरी आमा । मेरो निधारमा टिका लगाउँदा शौभाग्यवती भए, आयुस्मती भए भन्ने तपाईंको आशिषले मात्र जिन्दगीको जग थाम्दो रहेनछ आमा । हो आमा, हजुरले भनेझैँ हरेक बिहान सुर्यमुखीको मुस्कान चोरेरै भएपनि मुस्काउँदै फुल्थेँ तर रातको पहिलो प्रहर नसकिँदै पारिजातका फूलहरु जस्तै मेरा मुस्कानहरु मेरा छातीका आँगनभरि झरिसक्थे । 

जब हरेकचोटि फुलेर झर्नु पर्छ नि तब फुल्ने जाँगर पनि हराउँदो रहेछ आमा । घरिघरि मुस्कानहरु पैँचो माग्दै फुलिरहने र उधारोमा झरिरहने अनि नमिलेको यो जिन्दगीको बहिखाता हिसाबकिताब गर्दागर्दै म आजित भइसकेँ आमा । म थाकेँ । 

तपाईंकी त्यो जिद्दी छोरी हारी आमा आज आफै सङ्ग भिड्न नसकेर । आमा आँखाभरि आँसु बोकेर हाँस्न जति गाह्रो हुन्छ, छातीभरि काँडाहरु बोकेर बाँच्न त्यो भन्दा पनि गाह्रो हुँदो रहेछ । बुढेसकालमा तिम्रो सहारा बनेर तिम्रो दुधको भारा तिरुँला भनेथेँ, तिम्रो नाम राखुँला भनेथेँ । प्रयास नगरेकी पनि हैन तर शिशिर पछि वसन्त आउँछ भन्ने आशाले पो रित्तो रूख पनि धैर्य गर्दाे रहेछ तर कहिल्यै बिहान नहुने यो अँधेरी रात कति दिन काटौँ आमा ?

नरिसाउनु होला आमा । तपाईंले सानी हुँदादेखि छोरीको जातले सहनु पर्छ भनि सिकाउनु भयो । छोरीले त अर्काको भाग्य खाने हो भनेर पढाउनु भयो । भाग्यरेखा आफै कोर्न सकिन्छ भनेर किन कहिल्यै सिकाउनु भएन ? केवल भनेको मान्नु, मुख नफर्काउनु, आफ्नो भन्दा परिवारको खुसी हेर्नुपर्छ भन्नु भयो । तपाईंकी असल छोरी कुनै कसूर नराखी हुबहु पालना गर्दै रहेँ । कस्ती आमाकी छोरी हो, कस्ती कुलकी छोरी हो भन्ने कहिल्यै पारिन । मलाई कन्यादान गरेर अन्माउने बेला ‘हामीलाई भन्दा घरका लाई माया गर्नु, जति दु:ख परे पनि माइतीलाई नसुनाउनु’ भनेर तपाईंसँग दुःख बाँड्ने सम्पूर्ण ढोकाहरु सदाका लागि बन्द गरिदिनुभएको थियो आमा । त्यसैले तपाईंकी छोरी माइत आउँदा हाँसीहाँसी आउँथी । सधैँ सम्पन्न र खुसी देखिन्थी । सुनका जलप लगाएका नक्कली गहनामा झुक्किए जस्तै तपाईं चुक्नुभयो मेरो अनुहार पढ्न ।

यो मेरो आत्महत्या होइन । यो त मेरो आत्माको मुक्ति हो । किनकी मेरो संसार लुटिइसकिएको थियो । जीवन बाँध्ने प्रेम छुटिसकेको थियो ।

खैर, मेरो लेखान्तर यत्ति थियो होला आमा । अब मेरो लाशलाई हेरेर फिटिक्कै नरुनु होला । सम्झनुस् तपाईंकी छोरी अब निस्फिक्री छे । अब उसले रातहरुसँग तर्सनु पर्दैन, खित्का छोडेर हाँस्न अब मुखमा कपडा कोच्नु पर्दैन । बिझाउने वर्तमान र तर्साउने भविष्यबाट मुक्ति पाएकी छे । हेर्नुस् त, उसको भयहीन अनुहार, शान्त चेहरा, अनन्त आनन्द । तपाईंले नुहाइदिएर कानमा तेल हालेर सुताइदिए पछिको निद्रा जस्तै मीठो निद्रा । आहा, यो अथाह विश्राम । 

मलाई थाहा छ किन होला यति सानो चित्त गरेकी, यसरी ज्यान नै फालेकी भन्नुहुनेछ अवश्य । तर आमा सुन्नुस्, यो मेरो आत्महत्या होइन । यो त मेरो आत्माको मुक्ति हो । किनकी मेरो संसार लुटिइसकिएको थियो । जीवन बाँध्ने प्रेम छुटिसकेको थियो । जब आफ्नो मान्छेभित्र आफू अटिदैन नि आमा, यो संसार अति नै साँघुरो लाग्दो रहेछ । 

मैले हाँस्न खोज्ने अरु उपाए खोजेको भए तपाईंको यो समाजमा म वेश्या कहलाउथेँ या खत्तम आइमाईको संज्ञा पाउँथे । तर आ्फ्नो भाग्यको पोल्टामा परेको भागमा खुसी हुनुपर्छ भन्ने पाठ पढाइएकी मलाई थोरै हातका हस्तरेखाहरु सच्याउन सकिन्छ भन्ने कुरो एकचोटि पनि दिमागमा आएन । जुन घरलाई तेरो घर भनेर चिनाउनुभयो त्यो घर छोडेर अर्को लोकमा गएर सुन्दर बस्तीमा आफ्नो खुसीको महल खोज्नु थिएन । न मलाई त्यस्ता कुरामा भरोसा नै थियो ।

समाजले मेरो लाशमाथि पनि प्रश्न चिन्ह उठाउने छ । म प्रेमको पूजा गर्ने मान्छे, म मायाको उपासना गर्ने मान्छे, न मायाको पसल थापेर बस्न सक्थेँ, न प्रेमको भिख माग्न नै सक्थेँ । म त आफ्ना भाग्यरेखाहरुमा विस्वास गर्दै आफ्ना भाग्यका सुखदुःख स्विकार्नु पर्छ भन्ने ज्ञानी मान्छे । अर्को विकल्प मेरो अगाडि कहिल्यै सुझेन । सायद त्यो दिमागमा एकचोटि सम्म आउँदो हो त आज यो डोरीले दुःख पाउथेन होला । 

आफ्नो कोखलाई नसराप्नु होला । आमाको कोख कहिल्यै गलत हुँदैन । फेरि अर्को जुनीमा पनि त्यही कोखमा छोरा भएर जन्मन पाऊँ ।

जब सुजाता पत्र लेख्दै थिई, आँसुहरु गाला हुँदै चिउँडोबाट बलेनि जस्तै छातीमा बर्सिरहेका थिए । आज उसलाई आँसु पुछ्नै मन लागेन किनकि एकछिनमा आँसु लुकाउँदै हाँस्ने बहाना गर्नु थिएन ।

बोतलबाट घटघट एकसासमा पानी पिउँछे अनि फेरि अगाडि लेख्न थाल्छे ।

मेरी प्यारी छोरी, 

अब त तिमी बुझ्ने भैसकेकी छौ । तिमीलाई डाक्टर बनेको देख्ने सपना पूरा भएको छ । तिमीले एकचोटि भनेकि थियौ ‘मामू तपाईंलाई म यति माया गर्छु कि तपाईं बिरामी हुनुभयो भने पनि मैले इन्जेक्सन लगाउन पनि सक्दिन होला ।’

म खुसीले हाँस्दै अङ्गालेकी थिएँ तिमीलाई । अब तिमीले डराइ डराइ सुइ लगाउन परेन छोरी । मैले सुइ, औषधि, पीडा, डर सबैबाट मुक्ति पाएँ । यो नोट धैर्य गरेर सबै पढ्नु अनि मनन् गर्नु ।

तिमीले दूध चुसिरहँदादेखि नै रातभरि तिम्री आमा सुक्सुकाएको सुनेकी छ्यौ सायद । अर्धनिद्रामा ‘मामु के भयो’ भन्दै सोध्ने गथ्र्यौ तिमी । तिमी ब्युँझ्यौली भन्ने डरले आँसुको भेल आँखाभित्रै थुनेर मुटुमा बलियो गाँठो पारी उज्यालो बनाउँथे म । म भइन भने तिम्रो के हालत होला भन्ने पीरले नै म अहिलेसम्म बाँच्न सकेँ ।

तिम्रो लागि म बलियो आधार हुनपर्छ भनेर नै आजको दिनसम्म आफुलाई उभ्याउने प्रयास गरेँ । छोरी अब त तिमी ठूली भैसक्यौ । अर्थ लगाउन सक्छ्यौ म के भन्दैछु । तिमीले मलाई कहिल्यै उदास देखिनौ, न मलाई कहिल्यै असफल नै देख्यौ । 

छोरी मान्छेको पनि आफ्नै भाग्य हुन्छ । कर्म र भाग्य भन्ने कुरा भाविले लेख्ने कुरा होइन आफैले लेख्ने कुरा हो । आफ्नो अस्तित्व र आत्मसम्मानको सधैँ रक्षा गर्नु ।

तिम्रो लागि म एक आदर्श आमा बनेँ सधैभरि किनकि म तिम्रो आमा मात्र थिइन एक असल साथी पनि थिएँ । तिमी नरुँदै तिम्रा आँसु देख्थें म । तिमीले घाउ नदेखाउँदै तिम्रा दुखाइ देख्थेँ, तिम्रा आँखामा । तिमीले नभन्दै बुझ्थेँ तिम्रा चाहना । तिम्रो नजरमा म हरूवा हुन चाहन्नथेँ । तिम्रो नजरमा म कमजोर देखिन चाहन्नथेँ ता कि तिमी पनि तिम्री आमा जस्तै साहसी सफल र खुसी हुने उदाहरण आफ्नै नजिकबाट बुझ्न सक । म धन्य छु यस अर्थमा कि तिमी आत्मविश्वासी छौ । 

तिमीलाई थाहा छ ? जब तिमी झुठको जसरी डटेर विरोध गर्थ्याै म गदगद भएर ताली बजाउँथे । जब तिमीले आफ्ना इच्छा र रहरहरुको बचाउको खातिर हामीसँग संघर्ष  गथ्र्यौ म अति खुसी हुन्थेँ र तिम्रो जुझारुपनाको लागि गदगद हुन्थेँ । भलै तिम्रा अगाडि तिम्रो विपक्षमा उभिएको हुन्थेँ । अब बल्ल बुझ्छ्यौ म किन यस्ता कुरामा केवल मुस्कुराएर बस्थेँ भन्ने कुरा । 

छोरी मेरी आमाले मलाई नसिकाएका केही कुरा भन्छु ध्यान दिएर सुन । छोरी मान्छेको पनि आफ्नै भाग्य हुन्छ । कर्म र भाग्य भन्ने कुरा भाविले लेख्ने कुरा होइन आफैले लेख्ने कुरा हो । आफ्नो अस्तित्व र आत्मसम्मानको सधैँ रक्षा गर्नु । यसलाई हेपिन र मर्न नदिनु । आफ्नो क्षमता र दक्षतालाई राम्रोसँग बुझ्नु । कहिल्यै यी कुराको अनादार र अवमुल्यन नगर्नु किनकि यी दुई चिज नै तिम्रा सफलताका सुत्र हुनेछन् । 

आज तिमी यो नोट पढेर नरुनु बरु मैले भन्ने गरेका प्रत्यक शब्दहरु जुन तिमीले बोली बुझ्ने भएदेखि भन्ने गर्थें म, त्यसको समिक्षा गर्नु । अर्थ खोज्ने प्रयास गर्नु । जसले तिमीलाई मेरो अनुपस्थितिमा पनि सहि निर्णय लिन सहज हुनेछ । म सधैंभरि तिम्रै समिपमा हुनेछु तिम्रो मार्गदर्शन बनेर । 

मेरो हजुर, 

मलाई माफ गर्नुहोला । आज पहिलोचोटि हजुरलाई एकचोटि नसोधिकन र अनुमति नलिई यत्रो ठूलो कदम चाल्दैछु । भरे थाकेर आउँदै गर्दा कसले ढोका खोल्देला ? पानी कसले टक्र्याउला ? चिया कसले बनाइदेला ? मलाई थाहा छ हजुरको खाना पस्केर खाने आदत पनि छैन । तर यही सोच्दासोच्दै जीवनको पच्चीस वसन्त हजुरका बानिमा यति अभ्यस्त भएछु कि हजुरको अनुपस्थितिमा म खाना नै खान बिर्सन्थेँ । थाहा छ हजुरलाई चाँडै रिस ऊठ्छ तर आज धैर्य गरी मलाई पढिदिनोस् है । मेरो बिन्ती छ ।

सायद तपाईंले हाम्रो पप्पि र म मा त्यति फरक देख्नुभएन । दिनभरि कुर्यो बेलुका मालिक आउँदा पुच्छर हल्लाउँदै ढोकासम्म पुग्यो बस् । एउटा दैनिकी जस्तो ।

‘वाहियात’ भन्दै च्यातचुत नपार्नुहोला ।  किनकि यो एक केवल कागजको पाना मात्रै  होइन मेरो जिन्दगीको दस्तावेज हो । जिन्दगी रहुन्जेल हजुरलाई पढिरहेँ । कण्ठस्त गरेँ र तपाईंलाई पढ्ने क्रममा मैले आफूलाई कहाँनेर बिर्सें पत्तै भएन । 

हजुरका पदचाप पछ्याउने क्रममा आफूलाई कहाँनेर छोडे पत्तै भएन । सधैभरि घरमा कुकुर पाल्ने बानि हजुरको कुकुरको आज्ञाकारिता र बफादारिताबाट अभ्यस्त तपाईं विवाह गर्ने केटीमा पनि तिनै कुरा प्राथमिकतामा राख्नु भयो रे ।

‘केटी मैले भनेको मान्ने खालको हुनुपर्छ, मेरो खटनमा चल्न सक्ने हुनुपर्छ बस् ।’

लमीले सुनाएका थिए केही वर्ष अगाडि । सायद तपाईंले हाम्रो पप्पि र म मा त्यति फरक देख्नुभएन । दिनभरि कुर्यो बेलुका मालिक आउँदा पुच्छर हल्लाउँदै ढोकासम्म पुग्यो बस् । एउटा दैनिकी जस्तो । तपाईंलाई जाँगर चलेको बेला बोलिदियो, जङ चलेको बेला हाँसेजस्तो गरिदियो । तृष्णा लागेको बेला मेरो आङ भरिदियो बस् पुग्यो ।

डाइनिङमा खाना पस्केर तपाईंले खाउन्जेल हेरेर बसिरहँदा न कहिल्यै ल आउ सङ्गै खाऊँ भन्नु भयो न तीमीले खायौ त ? भनेर कहिल्यै सोध्नु भयो । मैले तपाईंलाई मन पर्ने सबै चिज कण्ठै पारेँ । मन नपर्ने कुरा थाहा पाउँदै गएँ । तपाईंलाई मन पर्ने खाना पकाउन सिकेँ, मन पर्ने गीत गुनगुनाउन सिकेँ ।

रक्सी र चुरोटको गन्धले वान्ता गर्ने एउटी सुकुमारी केटी त्यही गन्ध नै आफ्नो अस्तित्वको पहिचान हो भन्ने भई । कसैले जिस्किएर पनि जिउ छोएको मन नपर्ने एक घमण्डी केटी तपाईंको मनपरि गिथोल्याइ मन पराउँन सिकी । साह्रो बोली नसुन्दै पिलपिल आँसु झार्ने मेरो बाबाकी पुलपुलाइएकी छोरी आ्फ्नै छातीमा चट्याङ बज्रदा सहन सक्ने भइ । 

हजुरलाई रिस कति खेर उठ्छ, थकाइ कति खेर लाग्छ, चिसो–तातो, गारो–सारो, निद–अनिदो सप्पै बुझ्थेँ, बिना आदेश, बिना भाषा, बिना आवाज । तर तपाईंले मेरो लागि के सम्झौता गर्नुभयो ? ल आज नरिसाइकन भन्नुस त मेरो मन पर्ने रंग कुन हो ? मेरो मन पर्ने गित कुन हो ? मलाई मन पर्ने मौसम कुन हो ? मलाई मन पर्ने खाना कुन हो ? 

एउटासम्म थाहा छ तपाइलाई ? तैपनि अहँ गुनासो पटक्कै छैन तपाई प्रति । कमजोरी मेरै हो । खै मैले आफ्नो स्वाभिमानको मान मर्यादा गरेको ? आत्मसम्मानको रक्षा गरेको ? थर फेरियो भन्दैमा रहर फेर्नु पर्छ र ? कर्म फेरियो भन्दैमा आफ्नो मर्म छोड्नु पर्छ र विवाह पछि ? 

तपाईंको हरेक दुखाइमा म मलम बन्थेँ । तपाईंको ज्वरोमा पानीपट्टि बन्थेँ । तपाईंको आवेगमा म सिरानी बन्थेँ । तपाईंको रिसको आगोमा म अचानो बन्थेँ । तपाईंको तनावमा टाउकोको मालिस हुन्थेँ तर पनि मेरा आँसु तपाईंलाई केवल बहाना लाग्थ्यो । मेरो दुखाइ केवल नाटक लाग्थ्यो । मलाई हनहनि ज्वरो आउँदा सिटामोलको औपचारिकता निभाएर तपाईं अर्को कोठामा सुत्नुहुन्थ्यो । 

तपाईंलाई तरकारीमा नुन कति, चियामा चिनी कति, पानी कति तातो, कति चिसो, कतिखेर चियाको तलतल, कतिखेर कफीको तलतल, कतिखेर अरु के के को तलतल सब बुझेँ । सेवामा कहीँ कसूर राखिन । आमाले जो सिकाउनुभाको थियो, त्यही गरेँ । पति भनेका महिलाको लागि भगवान हुन् । राति सङ्गै सुतेर बिहान उठ्दा पति परमेश्वरको खुट्टा ढोग्नु पर्छ भनेर आमाले सिकाउँदा मैले पति र भगवान उस्तै उस्तै हुन् होला भन्थेँ तर भगवानका पनि अनेक अवतार हुन्छन् भन्ने म अन्धभक्तलाई कहिल्यै हेक्का भएन । बिहे गर्नुभन्दा पहिले ढलेको सिन्को ठाडो सम्म नपारेकी म तपाईंको मोजा र कट्टु धुन सिकेँ । आफ्नै थाल समेत माझ्न घिन मान्ने केटी तपाईंले धोकेर ओकलेको सप्पै सोहोर्न सक्ने भएँ ।

माफ गर्नुहोला मेरा अन्नदाता । जवानीको आहार मात्र बन्न सकेँ, बुढ्यौलीको सहारा बन्न सकिन ।

तपाईंको शरीरले कतिखेर के खोज्छ, दिमागले कति खेर के भन्छ, र लहडि मनोविज्ञानले के सोच्छ सब बुझ्ने भएँ । तपाईंले कहिल्यै नियालेर न आँखाहरु पढ्नु भयो न अनुहार नै हेर्नुभयो के छ त्यहाँ भनेर । तैपनि हजुरको स्वभाव मात्रै यस्तै हो भनेर चित्त बुझाएँ । कहिल्यै यस्ता कुरामा प्रश्न उठाइन । हुन पनि म रोबोट जो भैसकेकी थिएँ । निर्देशन अनुसार गर्ने रोबोटले आफ्नो बारेमा कहाँ सोच्दछ र ? म मान्छे कम र स्वचालित रोबोट ज्यादा जो बनेकी थिएँ । तर यो रोबोटको मुटुमा त्यतिखेर तिखो भालाले रोप्यो जतिखेर चरमोत्कर्षमा पुग्दा तपाइँको मुखबाट मेरो नभइ अरु कसैको नाम निस्क्यो । आफूले पुज्ने भगवानको मुखबाट अरु नै नाम सुन्दा म एकै चोटि ज्युँदो माछो आगोको भुङ्ग्रोमा पछारिँदाको जस्तो भान भयो । त्यस बारे बिहान सोध्दा तपाईं केही पनि थाहा नभएको जस्तो नाटक गर्नुभयो । तपाईं जति नाटक गर्दै जानुभयो म उति मर्दै गएँ । जसरी म भक्कानिएर रुँदा ‘रोएको नाटक नगर’ भन्नुहुन्थ्यो तपाईं आज मैले मरेको नाटक गर्न सकिन । 

मैले मेरो अपूर्णता तपाईंको सम्पन्नतामा खोज्थे । मेरो असफलतालाई तपाईंको सफलतामा भेट्थेँ । म भन्नु सम्पूर्ण तपाईं भन्ने मानसिकताले मेरा सम्पूर्ण व्यक्तिगत रहर, इच्छा, चाहना, सोखहरु बलि चढाएँ । तर जब तपाईंभित्र म नभइ अरु कोही छ, तपाईं मेरो पूर्णबिराम हुँदा तपाइको जीवन अन्त कतैतिर अन्य कसैसँग गतिशिल छ भन्ने यथार्थता यो रोबोर्टलाइ ज्ञात भयो तब जिन्दगी यति भारी भयो कि सारा ब्रम्हाण्ड मेरो शिरमा खनिए जस्तो भयो । 

पल पल ज्वालामुखीको रापमा पोलिदै गएँ र जीवन प्रति यति धेरे बितृष्णा भयो कि एक पल पनि बाँच्न गाह्रो भयो ।

आफ्ना दक्षताका प्रमाणपत्र सिरानिमुनि लुकाएर तपाईंको बायोडाटा कसरी बलियो गराउन सकिन्छ भनेर तल्लिन भएँ । आफ्ना प्रशंसापत्र सप्पै पुरानो बाकसमा लुकाएर तपाइका प्रशंसापत्र सप्पै घरका भित्ताहरुमा टाँगेकी थिएँ मैले । ठमेलको बारमा पैसासँग साटिएको मुस्कान र म्वाइँ, घरमा मध्यरातसम्म खाना कुरेर बसिरहेकी श्रीमतीसँग दाँज्न हुन्थेन तपाईंले ।

वर्षभरि घर ढकमक्क पार्ने बाह्रमासे फूल भलै नबसाओस, तर घर कहिल्यै उजाडिन दिन्न । वर्षको एकमास दुईचार दिन ढकमक्क फुलेर मगमग बसाएर हराउने पारिजातको प्रशंसा गर्दा बाह्रमासे फूलको उपहास गर्नु तपाईंको भुल हो । त्यो कुरा बुझ्न सक्नु भएन हजुरले । मेरा सारा समर्पणमा कहिल्यै अनुग्रहित हुनुभएन मानाैं यो सामान्य दिनचर्या हो । यसमा आभारी हुनुपर्ने या अनुग्रहित हुनुपर्ने कुनै आवस्यकता नै रहँदैन जसरि एक मालिकलाई उसको नोकरको कुनै मतलब नै हुँदैन । 

जब तपाईंलाई यी सारा चिजको महत्व हुनेछ साँचो प्रेम र त्यागको महत्व बुझ्नुहुनेछ तब धेरै ढिलो भैसकेको हुनेछ । माफ गर्नुहोला मेरा अन्नदाता । जवानीको आहार मात्र बन्न सकेँ, बुढ्यौलीको सहारा बन्न सकिन ।

खै के सोचेर हो, यी हरफ लेखुञ्जेल उसका आँखा ओभाना भइसकेका थिए । छातीमा एक किसिमको आनन्दको छाल चलिरहेको थियो भने स्वासमा मुक्तिको आभासले चहकता थपेको थियो । ओठमा एकतमासको कस्तो बुझ्न नसकिने मुस्कान छरिएर आयो र एकैछिनमा हरायो ।

डाक्टर साब, 

कृपया बिस्तारै चिर्नुहोला मेरो छाती ता कि मेरो मुटुमा रहेको मेरी छोरी र आमाको तस्बिर नकाटियोस्  । भन्नुस् के के भेट्नु भो डाक्टर साब पास्टमार्टममा ?

जब तपाईंको रिपोर्टमा मेरो क्षतविक्षत रहरहरु, सपनाहरु, उत्साह, साहसहरु देखिदैन भने के अर्थ छ यो चिरफारको ?

पोस्टमार्टम रिपोर्टमा घाँटीमा डोरीको निलडाम मात्रै होइन डाक्टर साब मेरा मुटुका निलडाम बारे पनि लेखिदिनुहोला । आँखामा अड्केका आँसु, छातीमा अड्केका चित्कार, ओठमा मरेका हाँसोका बारे पनि टिपोट गर्नुहोला । एउटा कुरा नोट गर्नु भयो तपाइले ? पासोले मेरो मृत्यु भएको होइन पासोले त प्राणमात्र गएको हो । मेरो मुटु म भन्दा धेरै पहिल्यै मरिसकेको थियो । जुन कुरा नछुटाइकन रिपोर्ट मा उल्लेख गरिदिनुहोला । 
लामो सास लिन्छे, घडी हेर्छे र फेरि हतार हतार लेख्छे ।

इन्स्पेक्टर साब,

मेरी बुढी आमा र मेरी प्यारी छोरीलाई मेरो पोस्टमार्टम शरीर नदेखाइदिनु होला किनकि अहिलेसम्म लुकाएर राखेको मेरो छिया छिया मुटु ऊनीहरुले कदापि नदेखुन् । मेरो नितम्ब र स्तनमा गडेका गहिरा दागहरु देखुन् भन्ने म चाहन्न । म चाहन्न कि मेरी छोरीको कलिलो मस्तिष्कमा यो अभिसप्त सपना जस्तो बनेर लखेटि रहोस् र भविष्यमा उसले सबैका बालाई घृणा गरोस् अनि कुनै पुरुषलाई प्रेम नै गर्न नसकोस् । 
यसैपनि छियाछिया छ यो मन व्यर्थ यो सग्लो शरीर चिरेर क्षतविक्षत किन पार्नु हुन्छ ?

जब तपाईंको रिपोर्टमा मेरो क्षतविक्षत रहरहरु, सपनाहरु, उत्साह, साहसहरु देखिदैन भने के अर्थ छ यो चिरफारको ? मेरो यो सुसाइड नोट नै आत्महत्याको यथेस्ट प्रमाण होइन र ? इन्स्पेक्टर साब मेरो अन्तिम इच्छा छ । मेरो यो पार्थिव शरीर कुनै विज्ञान प्रयोगशालामा दिनुहोला ता कि कुनै जीवविज्ञानका विद्यार्थीले ‘ब्रोकन हार्ट रिसर्च’को लागि उपयुक्त नमुना भेट्नेछन् र बुझ्नेछन् कसरी मान्छे मरिसकेपछि मात्र बल्ल शरीर मर्दछ भन्ने कुरा ।

अलबिदा ।

उही अभागिनी सुजाता ।

सुसाइड नोटको सिरानमा ठूलो अक्षरमा मार्करले लेखिएको थियो, ‘जो कोही म झुण्डिएको अवस्थामा मेरो प्राण नजाँदै कसैले भेट्नु भयो भने कृपया मलाई बचाउने प्रयास नगर्नुहोला । धेरै प्रयास पछिको मेरो मुक्तिको सपनाले बल्ल बल्ल निकास पाएको बेला मलाई बचाउने भूल गरेर मलाई फेरि नर्कमा पुर्याउने काम गर्नुभयो भने तपाईंलाई मेरो कसम मेरो आत्माले श्राप दिनेछ ।’
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सम्मिश्रण धारा

    Sept. 26, 2020, 12:40 p.m.

    लेखकले याे सुसाईट नाेट लेख्नुकाे उद्धेश्य के हुन सक्छ? समाजमा वढीरहेकाे आत्महत्य मा कमि आउँछ कि झन वढवा दिन्छ त याे पाठकले पढेपछी?आत्महत्या काे कारण त्यतिनै पर्याप्त छत?यदि आत्महत्य समस्याकाे समाधान हाेईन भने खै त लेखकले समाधानकाे बाटाे देखाएकाे ?समाजकाे घटनालाई जस्ताकाे तस्तै पस्किने भएत याे त सन्चार माध्ययमले गर्छन,लेखकले आफ्नाे लेखन शिल्प,कलाकाे प्रयनेग गरेर कथालाई सकारात्मक प्रेरणा दिनेगरी लेखिदिन हुन एउटा पाठककाे हैसियतले आग्रह गर्दछु।

  •  0 Reply

तपाईको प्रतिक्रिया