सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – टेबुलमा छरपस्ट छरिएका रङ्ग, कलम, इरेजर र सादा पाना । टेबुलकै एक छेउमा बालबलिकालाई चित्र बनाउन सिकाउँदै हुनुहुन्छ, कलाकार रमेश मेयर श्रेष्ठ ।
काठमाण्डौको नैकापमा रहेको सिभिल होमको एक नम्बरको घरमा नै उहाँको आर्ट ग्यालरी छ । कोठाको भित्ता रङ्गले पोतिएका छन् ।
बिहानको नित्यकर्मपछि सुरु हुन्छ, श्रेष्ठको व्यावसायिक जीवन । आफ्ना लागि थोरै र चित्रका लागि उहाँले पूरै समय खर्चिनु भएको छ ।
हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्द मनले ।।
साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको रचनासँग मिल्दोजुल्दो छ, कलाकार रमेश मेयर श्रेष्ठको जीवन । मानव जीवनका लागि पैसाको धेरै महत्त्व हुन्छ । पैसा विना एक कदम पनि चाल्न सकिन्न । तर पैसा मात्रै पनि सबैथोक होइन । पैसाले खुसी र सुख भने किन्न सक्दैन ।
यही कुरा राम्ररी बुझ्नु भएका कलाकार रमेश मेयर श्रेष्ठ पैसाका लागि खुसीलाई बन्धकी राख्नु हुन्न । उहाँ भन्नुहुन्छ, ‘प्रशस्त पैसा नकमाए पनि म खुसी र सन्तुष्ट छु । बस ज्यानमा रोग नलागोस्, यति भए केही चाहिँदैन ।’
एक्लो जीवन पकाएर खान कहिलेकाहीँ त्यति जाँगर चल्दैन । जाँगर चल्दा दाल भात तरकारी सबै पाक्छ । नचल्दा पनि चलेकै छ, चल्दै जानेछ । यसमा त्यति सारो घोत्लिरहनु पर्ने र विचार विमर्श गरिहन आवश्यक छैन, यस्तै लाग्छ उहाँलाई ।
स–साना केटाकेटीदेखि रङ्ग भर्न र चित्र कोर्न रहर गर्ने जो सुकैलाई सिकाउन उहाँ अघि सर्नुहुन्छ । शिक्षित हुन् वा अशिक्षित, रोजगार हुन् वा बेरोजगार, महिला वा पुरुष ।
जुन वर्ग र समुदायलाई आफूले जानेका बुझेका कुरा सिकाउनु आफ्नो धर्म भएको उहाँको बुझाइ छ ।
सादा र सामान्य जीवनशैलीमा रमाउने श्रेष्ठले रङ्ग र कुचीसँग लुकामारी गर्न थालेको झण्डै चार दशक भइसक्यो । सादा जीवन रङ्गमै पोतियो ।
घरको कान्छो छोरा भएकाले सानो छँदा पनि श्रेष्ठले रहरलाई मार्नु परेन । काठमाण्डौको साँखुमा २००७ सालमा जन्मिनुभएका उहाँ पछि हनुमानढोका नजिकै सर्नुभयो । परिवार नै हनुमानढोका सर्याे । चार कक्षासम्मको पढाइ साँखुमा नै भयो । त्यसपछि भानु मावि रानीपोखरीमा सात कक्षा र शान्ति शिक्षाबाट एसएलसी (अहिलेको एसईई) सक्नुभयो । एसएलसीपछि ललितकला क्याम्पसबाट २०४५ सालमा डिप्लोमा गर्नुभयो ।
‘विद्यालयस्तरदेखि नै चित्र बनाउन सिपालु थिएँ’, श्रेष्ठ भन्नुहुन्छ, ‘सधैँ प्रथम हुन्थे, मास्टरको स्याब्बासी पाउँदा औधी रमाइलो लाग्थ्यो ।’
आईए पढ्दै गर्दा सामान्य काम पनि पाइयो । पहिलो कमाइ तीन सय । चित्र बनाएर पनि पैसा कमाइने रहेछ भन्नेमा उहाँ ढुक्क हुनुभयो ।
बिस्तारै पत्रपत्रिका, म्यागजिन र बालबालिकाको किताबमा उहाँले कार्टुन बनाउन थाल्नुभयो । काम विस्तार भएसँगै कमाइको दायरा पनि फराकिलो हुन थाल्यो । तीन सय रुपैयाँबाट भएको करिअरको सुरुवात एक दुई वर्षमा १५ हजारसम्म पुग्यो । जीवन विस्तारै व्यवसायिकतातर्फ धकेलिँदै गयो ।
बुवा व्यवसायी, दुई जना दाइ मेकानिक । तर उहाँलाई न व्यवसायमा रुची लाग्यो न अन्य पेसामा इच्छा नै ।
सानैदेखि चित्र बनाउन रहर भएकाले बुवाले सधैँ साथ दिनुभयो । जे गर्छाै गर भन्ने ढाडस पाएकाले पनि उहाँलाई अर्को पेसामा जोतिनु पर्ने बाध्यता परेन । परिवारको साथमा बसेकाले आफ्नो पकेट खर्चबाहेक अन्य कुराको चिन्ता लिनै परेन ।
पछि दाइहरुसँग छुट्टिएपछि एक्लिएको जीवनले रङ्ग र कुचीकै साथ पायो । रङ्गसँग खेल्दा खेल्दै, रमाउँदा रमाउँदै एक्लोपनको महसुस नै भएन । आफ्नो रुचिअनुसार कै काम थालेकाले उहाँ सन्तुष्ट र खुसी हुनुहुन्छ ।
अहिले पनि समय र हातलाई खाली राख्नु परेको छैन । सुरक्षित रुपमा उहाँले आलो पालो गरी एक, दुई जनालाई चित्र बनाउन सिकाउनु हुन्छ । अहिले उहाँका आठ, नौ जना विद्यार्थी छन् । यसले घर खर्च चलेकै छ ।
कोरोनाको कहरका कारण भएको लकडाउनमा पनि उहाँ खाली बस्नु परेको छैन । बेला बेलामा विद्यार्थी आउँछन्, अरु समयमा समयअनुसारको चित्र बनाउनुहुन्छ ।
जनावरप्रेमी रमेश मेयर श्रेष्ठ चित्र बनाउँदा छुट्टै आनन्द र सन्तुष्टि मिल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पैसा कै पछि लाग्ने भए म विदेशमा नै बस्थे, मलाई पैसाको भन्दा आफ्नो कला र मातृभूमिको माया छ ।’
आफ्नो कलालाई निखार्न बेला बेलामा छात्रवृत्तिमा जापान, सिङ्गापुर, हङकङ, मलेसिया पुग्नुभएका उहाँलाई आफ्नो देशमा बस्दा जस्तो आन्नद कहीँ लागेन ।
अहिले केही विद्यालयमा आर्ट टिजरका रुपमा काम गर्नु हुन्छ भने बाँकी समयमा आफ्नै ग्यालरीमा सिकाउनुहुन्छ । स्केच बनाउनु हुन्छ । वाल पेन्टिङ गर्नुहुन्छ । यसबाट कमाइ राम्रै हुन्छ । उहाँले आफ्नो सिर्जना तीन लाख रुपैयाँसम्ममा बिक्री गर्नु भएको छ । ठाउँ ठाउँमा हुने चित्रकला प्रदर्शनीमा सहभागीता जनाउनु हुन्छ ।
जीवन यसैगरी चलिरहेको छ । चलाउने आयस्रोत यही नै हो । एउटा फ्लाट लिएर बस्नुभएका श्रेष्ठलाई बिलासी सामानमा रुचि नभएकाले सामान्य तरिकाले नै चलिरहेको छ । अब पनि यसै गरी चल्ने उहाँको विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।