६ वटा देशमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ ।
अज्ञानता, शिक्षाको कमी तथा गरिबीका कारण समयमै उपचार गर्न नसक्दा पाठेघरको क्यान्सरबाट बर्सेनि धेरै महिलाको ज्यान जाने गरेको छ । सुरुकै अवस्थामा राेग पत्ता लगाई उपचार गरेमा यस्तो क्यान्सर निको पार्न सकिन्छ ।
डाक्टर अाविस अधिकारी
पाठेघकाे क्यान्सरकाे बारे विना न्यौपानेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका क्यान्सर रोग विषेशज्ञ डाक्टर अाविस अधिकारीसँग कुराकानी गर्नु भएको छ ।
पाठेघरको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनेर बुझौँ । यो नेपालमा एकदमै धेरै छ । विदेशमा भने एकदम कम महिलालाई यो क्यान्सर हुन्छ ।
अमेरिकाको तथ्यांक हेर्ने हो भने यो क्यान्सर १५ औं नम्बरमा पर्छ, सिंंगापुरमा १० औँ छ । नेपालमा भने महिलाहरूमा यो क्यान्सर एक नम्बरमा पर्छ । भनेपछि हाम्रो देशमा केही न केही त मिलेको छैन । अर्को कुरा, संसारभरीमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै नेपालमा नै हुन्छ । बङ्गलादेश, भारतमाभन्दा पनि जनसंख्याको आधारमा हामीकहाँ धेरै छ ।
ह्युमन प्यापिलोमा भाइरस एक प्रकारको भाइरस हो, जसको सङ्क्रमणको कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ । अरु कारणहरुमा :
कम उमेरमा विवाह तथा यौनसम्पर्क गर्नु ।
कम उमेरमा बच्चा जन्माउनु ।
धेरै बच्चा जन्माउनु ।
एकभन्दा बढी व्यक्तिहरूसँग यौनसम्पर्क गर्नु ।
यौनरोग तथा गुप्तांगका दीर्घ रोगहरू ।
गुप्तांगको सरसफाईमा ध्यान नदिनु ।
चुरोट, बिडी, खैनी, तमाखु र सूर्तीजन्य पदार्थको सेवन ।
जसले सानो उमेरमै यौनसम्पर्क राख्यो, जो महिलाको छिट्टो बिहे भयो, छिटो बच्चा जन्मायो, उसलाई यो भाइरसको संक्रमण छिटै हुने सम्भावना हुन्छ । ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण भएको १० देखि २० वर्षपछि क्यान्सर हुने हो ।
मानौं १५ वर्षको उमेरमा पहिलो पटक यौनसम्पर्क भयो भनौं या बिहे भयो, त्यसको २० वर्षपछि वा ३५/४० को उमेरमै क्यान्सर हुन सक्छ । २५ वर्षमा पहिलो पटक यौनसम्पर्क भयो भने त उसको क्यान्सर हुने सम्भावना पनि ढिलो हुन्छ । त्यसैले छिटो बिहे भएको, छिटो बच्चा भएको महिलामा ह्युमन प्यापिलोमा भाइरसको संक्रमणसँगै पछि क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
पाठेघरको मुखको क्यान्सर यस्तो क्यान्सर हो, जसको कारण थाहा छ, रोकथाम पनि सम्भव छ तर पनि यसैको संख्या बढिरहेको छ । यदि अहिले नै सही तरिकाले अगाडि बढ्यौं भने अबको २० वर्षपछि झन्डै निर्मूल नै बनाउन सकिन्छ पाठेघरको मुखको क्यान्सरलाई ।
पाठेघरमा ह्युमन प्यापिलोमा भाइरसको संक्रमण भैसकेपछि झन्डै १० देखि २० वर्षपछि क्यान्सर हुने हो । तर कसैको शरीर कमजोर छ भने ५ वर्षमै हुन सक्छ । भाइरसको संक्रमण भएदेखि क्यान्सरसम्मको बीचमा यस्ता लक्षणहरू देखा पर्छन् :
योनीबाट फोहोर पानी बग्ने
सेतो पानी बग्ने
घाउ भएको जस्तो हुने, दुख्ने
धेरै चिलाउने
महिनावारीको बीचमा थोरै रगत जाने
यौन सम्पर्कपछि पीडा हुने वा रगत आउने जस्ता लक्षणहरू देखा पर्छन् ।
कतिलाई त कुनै पनि लक्षण नदेखिने हुन्छ । त्यसैले हरेक विवाहित महिलाले वा यौन सम्पर्कमा रहने २०, २५ वर्ष माथिका महिलाले स्त्रीरोग विशेषज्ञलाई देखाउने वा पाठेघरको मुखको पानी जचाउँने (मेडिकल भाषामा प्याप् जाँच) ।
कम्तीमा पनि एक पटक देखाउने र राम्रो रिपोर्ट आएको छ भने ३/३ वर्षमा जाँच गराउन सकिन्छ । तर नयाँ लक्षण केही आएका छन् भने तुरुन्तै जानु पर्छ । यस्ता खालका लक्षण क्यान्सर हुनभन्दा ५, १० वर्ष पहिला नै देखिने हो र त्यही घाउ बिग्रेर नै पछि गएर क्यान्सर हुने हो । त्यसैले छिटै उपचार गर्यो भने त क्यान्सर नै हुँदैन ।
विकसित देशमा हरेक महिलाले प्याप् जाँच गराएकै हुनुपर्छ, नत्र उनीहरूको इन्सुरेन्सले मान्दै मान्दैन । यो बाध्यकारी नै भयो, त्यसैले क्यान्सर हुनुअघि नै पत्ता लाग्छ र निको पनि हुन्छ, त्यसैले क्यान्सर हुने अवस्था कम भयो । हाम्रो देशमा त्यो चलन नै छैन । जबसम्म रोगले थला पार्दैन, तबसम्म हामी अस्पताल नै जाँदैनौ र जब पुग्छौँ, क्यान्सर निकै अघि बढिसकेको हुन्छ ।
रोकथामको लागि दुई तरीका अपनाउन सकिन्छ । एउटा त नियमित प्याप् जाँच गर्ने । संक्रमण देखिए तुरुन्त उपचार गराउने, रोग अघि बढ्ने नै भएन । अहिले जिल्ला अस्पतालमा पनि यसको जाँच हुन्छ । पाठेघरको मुखको जाँचको लागि डाक्टर नै पनि चाहिँदैन, नर्सहरूले पनि जाँच गर्न सक्छन् ।
अर्को एकदम राम्रो रोकथाम भनेको खोपरभ्याक्सिन लगाउने । ह्युमन (प्यापिलोमा) भाइरसको खोप पत्ता लागेको दश वर्ष भैसकेको छ । विकसित देशमा लगाउनै पर्ने हुन्छ ।
तर हाम्रोमा अहिलेसम्म उपलब्ध हुन सकेको छैन । त्यो खोप लगाउन सकियो भने ९० प्रतिशत भन्दा बढी महिलाहरूमा ह्युमन (प्यापिलोमा) भाइरसको संक्रमण हुँदैन र क्यान्सर नै हुँदैन ।
खोप लगाउन पनि सजिलो छ, अविवाहित १३ देखि २६ वर्षका महिलाले लगाउने । ६ महिनाभित्र तीनवटा खोप लगाउन सकियो भने ९० प्रतिशत भन्दा बढी महिला सुरक्षित हुन्छन् । त्यो भनेको अहिले चार हजार जनालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने अब यो भ्याक्सिन लगायौं भने चारसय जनालाई पनि हुँदैन ।
यौन सम्पर्कमा आउनुअघि लगाउँदा ९० प्रतिशतभन्दा बढी सुरक्षा हुन्छ । तर यौनसम्पर्क भइसकेका महिलाहरूमा सुरक्षित हुने प्रतिशत ४० जति मात्र हुन्छ । त्यसैले घाटा त छैन, नाफा जुन हामीले पाउँथ्यौ त्यो पाईंदैन । लगाउन नहुने भन्ने पनि होइन ।
पाठेघरको मुखको पानी जाँच गराउने । रिपोर्ट राम्रो रहेछ भने हरेक तीन, तीन वर्षमा गराउँदा हुन्छ । तीन वर्षमा अस्पताल गएर जाँच गराउनु राम्रो बानी हो । अरू क्यान्सर लागेपछि बचाउन सकिएला, नसकिएला । तर पाठेघरको मुखको क्यान्सर भएर कसैको पनि मृत्यु हुन हुँदैन । यदि भयो भने त्यो हाम्रो स्वास्थ्य व्यवस्थाको कमजोरी हो ।
क्यान्सर लागेपछि पनि उपचार सम्भव छ । पाठेघरको मुखको क्यान्सरमा पनि चरणहरू हुन्छन् । यसलाई चार चरणमा विभाजन गरिएको छ । अहिले पनि धेरै जना बिरामी दोस्रो, तेस्रो चरणमा आउनुहुन्छ । त्यो भनेको पाठेघरको मुखको घाउ बढेर अरू अङ्गलाई समेत समातेको हुन्छ ।
बिरामी ढिलो अस्पताल पुग्नुको मुख्य कारण चाहिँ पाठेघरको मुखमा घाउ भएर रगत बग्दा धेरैले महिनावारी नै गडबड भएको जस्तो लाग्ने भएर रहेछ । केहीले यौनाङ्ग भएकाले रोगबारे कुरा गर्न अप्ठ्यारो मानेर पनि हुने रहेछ ।
कतिपय बिरामीलाई तल्लो पेट दुख्ने, पिसाब पोल्ने हुन्छ । तर हाम्रो समाजमा यसलाई सामान्य रूपमा लिइन्छ । अनि धेरैजना ‘प्राकृतिक उपचार प्रविधि’ विज्ञापनको पछि जाने र उता केही नभएपछि मात्रै अस्पताल आउने भएकाले ढिला हुन्छ ।
सावधानी भनेको युवा अवस्थाका महिलाले असुरक्षित यौन सम्पर्क राख्न भएन । किनभने ह्युमन (प्यापिलोमा) भाइरस यौन सम्पर्कबाट सर्छ । भ्याक्सिन लगाएको छैन, बिहे भैसक्यो, बच्चा नै भैसक्यो भने प्याप् जाँच अर्थात् पाठेघरको मुखको पानी जाँच गराउनु पर्यो । संक्रमण वा केही नराम्रो रिपोर्ट आयो भने विशेषज्ञ डाक्टरलाई देखाउनु पर्यो ।
पहिलो, दोस्रो चरणमा भेटियो भने ९० प्रतिशत उपचार सम्भव छ । कडा निमोनिया भएको बिरामी निको हुने सम्भावना त्यति नहोला, तर पाठेघरको मुखको क्यान्सर निको हुन सम्भव छ । तर बेलैमा थाहा हुनु पर्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।