मोटरसाइकलमा २ जना चढ्न नपाउने नियम अव्यावहारिक, समस्या सुल्झाउन छलफल हुँदै

३७४ मोटरसाइकल होल्ड

 जेठ ३०, २०७७ शुक्रबार १४:३३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लकडाउन खुकुलो बनाउँदै सरकारले दुई पाङग्रे गाडीमा दुई जना यात्रा गर्न नपाउने नियम बनाएको छ । तर यो नियम जति अव्यावहारिक छ, पालना गर्न र हुन पनि उत्तिकै चुनौतीपूर्ण छ । 

केही समय अघिदेखि नै मोटरसाइकलमा एक जना मात्रै ओहोरदोहोर गर्ने/गराउने अभ्यास गराएको सरकारले शुक्रबारदेखि भने औपचारिकरुपमा नै एक जनामात्रै यात्रा गर्न पाउने नियम लागू गर्‍याे ।  

शुक्रबारअघि सकेसम्म एक जनामात्रै यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गर्दै आएको थियो । शुक्रबार सरकारको निर्णयअनुसार ट्राफिक प्रहरीले मोटरसाइकलमा दुई जना चढ्नेलाई नियन्त्रणमा लिन थाल्यो । ठाउँठाउँमा दुई जना चढेकालाई रोक्न थाल्यो । 

शुक्रबार बिहानदेखि यो समाचार तयार पार्दासम्म ट्राफिक प्रहरीले दुई जना यात्रा गरेको तीन सय ७४ वटा मोटरसाइकललाई होल्ड गरेको छ । नियन्त्रणमा लिइएको मोटरसाइकललाई बेलुकामात्रै चालकको जिम्मा लगाइने छ ।  ‘यो लकडाउन उल्लङ्घनजस्तै भएकाले नियन्त्रणमा लिएका हौँ', एक ट्राफिक प्रहरीले भने’, ‘माथिबाट नै नियन्त्रणमा लिन आदेश आएको छ ।’ 

मोटरसाइकलमा दुई जना चढ्न नपाउने नियम कत्तिको व्यावहारिक ?

दुई पाङग्रे गाडीमा एक जनाबाहेक अर्को यात्रा गर्न नपाउने नियमको विरोध हुन थालकेको छ । काम विशेषले हिँडेकाहरु जथाभाबी नियम लागू गरेको भन्दै आक्रोशित भएका छन् । सरकारको आदेशसँगै ट्राफिक प्रहरीले दुई जनालाई यात्रा गर्न नदिन सुरक्षा जाँचलाई कडाइ पारेको छ ।

तर यो नियमले नागरिकलाई समस्या परेको भन्दै समस्या समाधान गर्न नियम लागू भएको पहिलो दिन नै छलफल सुरु भएको छ । काम विशेषले हिँड्ने नागरिकलाई परिवारका सदस्यले पनि कार्यालय ल्याउने/पुर्‍याउने गर्ने गरेकाले काम प्रभावित भएको भन्दै समस्या सुल्झाउन माथिल्लो निकायसँग छलफल थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी, वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो । 

उहाँले भन्नुभयाे, ‘यो नियमले नागरिकलाई समस्या पारेको महसुस गरेका छौँ, उहाँहरुलाई दुःख दिने हाम्रो नियत होइन । समस्या समाधान गर्न हामी छलफलमा जुटेका छौँ, अर्को निर्णय नभएसम्मकाे लागि भने दुई पाङग्रे गाडीमा दुई जना चढ्न नपाउने नियम नै लागू हुनेछ ।' 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Anjan Pokhrel

    June 12, 2020, 2:47 p.m.

    I am dropping my spouse to office by using my bike , I am not able to buy car , She is unable to ride by herself. So what to do Sarkar

  •  0 Reply

तपाईको प्रतिक्रिया