सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - लकडाउन शुरु भएयता गर्भवती तथा सुत्केरीहरुले धेरै समस्या झेल्नुपरेको छ । घरमै थुनिनुपर्दा मानसिक चिन्ता, समयमा गर्भजाँच गर्न नपाउनु, किनमेलमा कठिनाई तथा आम्दानी घट्दा पोषिलो खानाको अभाव लगायत धेरैथरीका समस्या भोग्नुपरेको छ ।
लकडाउनबाट उत्पन्न यी समस्या साझा हुन् । तर गर्भवती तथा सुत्केरी अवस्था विशेष अवस्था भएकोले प्रभाव बढी पर्छ ।
अस्पतालमा सामान्य अवस्थामा सुत्केरी गराएर डाक्टरले घर पठाएकी महिलाको कोरोना भाइरसको कारण ज्यान जानु तथा देशका विभिन्न क्वरेण्टीनमा रहेका गर्भवती तथा सुत्केरीले आधारभूत सुविधा समेत नपाएको बताइरहँदा यो जटिल अवस्थामा उनीहरुको स्वास्थ्य सुरक्षामा सरकारले गर्दै आएको लापरबाही तथा बेवास्ता प्रष्ट रुपमा देखिएको छ ।
सरकारले कोरोना (कोभिड–१९) भाइरससम्बन्धी क्वरेण्टीन सञ्चालन तथा व्यवस्थापन गर्न बनाएको मापदण्डमा गर्भवती तथा सुत्केरीहरुको लागि प्राथामिकताका साथ आधारभूत विशेष सुविधा दिने भनेको छ ।
तर व्यवहारमा त्यस्ता नभएको क्वरेण्टीनमा बसेकाहरु बताउँछन् । रुपन्देहीकी कञ्चन शर्मा गर्भवती समेतलाई राखिएको क्वरेण्टीनमा शौचालय, साबुुन, पानी, प्याड तथा गर्भवतीलाई चाहिने अत्यावश्यक सामग्री नभएको बताउनुहुन्छ । क्वरेण्टीनमा गर्भवतीका लागि थप पोषिलो खानाको व्यवस्था पनि छैन ।
सामुहिक बसाइका लागि बनाइएका धेरै क्वरेण्टीनहरुमा पिउने पानीकै अभाव छ । शौचालय, सरसफाईका लागि पानी, नुहाउने ठाउँ लगायतको समस्या पनि उस्तै हुने गरेको क्वरेण्टीनमा बसेकाहरु बताउँछन् ।
यस्तो ठाउँमा बस्ने गर्भवतीलाई मानसिक र शारीरिक रुपमा समस्या आउने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीका प्रसूति विशेषज्ञ डा. मधु श्रेष्ठ बताउनुहुन्छ । गर्भवतीले घरमा पाएको भन्दा छुटै सुविधा नचाहिने तर क्वरेण्टीनमा आधारभूत सुविधा, पोषिलो खाना, नियमित स्वास्थ्य परीक्षण र केही हुँदैन भनेर सम्झाउने वातावारण आवश्यक रहेको डाक्टर श्रेष्ठ बताउनुहुन्छ ।
तर धेरैजसो क्वरेण्टीनमा राखिएका गर्भवती तथा सुत्केरीहरुले उत्प्रेरणा दिने खालकाभन्दा दबाब दिने मानिस झेल्नुपरेको बताउँछन् । समयमा खानपान, सरसफाईको अभावसँगै आफूसँगै आफ्नो बच्चालाई कसरी सुरक्षित गर्ने भन्ने चिन्ता भइरहँदा यसो गर्ने भनेर सम्झाउन क्वरेण्टीनमा कोही पनि नपुग्ने गरेको रामेछापकी लक्ष्मी कार्की बताउनुहुन्छ । गर्भवती महिलालाई थप पोषिलो खाना र मनोपरामर्शको माग गरे पनि पालिकाहरु सुनेको नसुनै गर्ने उहाँ बताउनुहुन्छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा गर्भवती तथा सुत्केरीहरुले छुट्टै क्वरेण्टीनमा राख्ने व्यवस्था गर्न नसकिएको भए पनि अहिले भएकै क्वरेण्टीनमा थप सुविधाको व्यवस्था गरिएको बताउनुहुन्छ ।
गर्भवती तथा सुत्केरीको नियमित जाँच, औषधी, सरसफाई लगायतका सामाग्रीको अभाव भएमा प्रदेश तथा संघीय सरकारसँग माग गरेर क्वरेण्टीनको व्यवस्थापन गरिरहेका पालिकाहरुले ती कुराको पनि व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । थप पोषिलो खाना अतिआवश्यक रहेको र यसको व्यवस्थापन पालिकाले गरिरहेको र नपुगेको भएमा गर्नुपर्ने डा.देवकोटाले बताउनुभयो ।
क्वरेण्टीनमा राखिएका कतिपय महिलाको सुत्केरी हुने दिन अति नजिक छ । तर, यसरी क्वरेण्टीनमा राखिएका गर्भवती महिलालाई सुत्केरी गराउन लाने ठाउँ सजिलै पाइँदैन । किनकि क्वरेण्टीनमा बसे पनि कोरोना पुष्टि नभएसम्म कोरोना विशेष अस्पतालमा लैजान मिल्दैन र त्यहाँ सुत्केरी गराउने सुविधा पनि छैन । नियमित अस्पतालहरु क्वरेण्टीनमा बसेका मानिसलाई भर्ना गर्न मान्दैनन् ।
घरमै बसिरहेका गर्भवतीहरुले समेत लकडाउनका कारण नियमित गर्भ परीक्षण गर्न पाएका छैनन् । सुत्केरी गराउन कसरी स्वास्थ्य संस्थामा लैजाने भन्ने समस्या एकातिर छ भने अर्कातिर अस्पतालमा कोभिड बाहेकका सेवाहरु सीमित भएका छन् । यकिन तथ्याँक त छैन, तर लकडाउन सुरु भए पनि झण्डै ६० हजार गर्भवती तथा सुत्केरीहरु स्वास्थ्य संस्थाको सम्पर्क बाहिर रहेको अनुमान छ । यसको अर्थ नियमित गर्भजाँच, सुत्केरी सेवा तथा खोपसेवाबाट यति धेरै बञ्चित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटा सबै स्वास्थ्य संस्थाहरुमा अतिआवश्यक स्वास्थ्य सेवा पहिलेको जस्तै सञ्चालनको लागि निर्देशन दिएको बताउनुहुन्छ । गर्भवती तथा सुत्केरी सेवा कतै पनि नरोकिएको र यसअघि यस्ता सेवा दिने सबै स्वास्थ्य संस्थामा यथावत राख्न भनिएको प्रवक्ता देवकोटाले बताउनु भए पनि धेरैजसो स्वास्थ्य संस्थामा यस्तो सेवा सुरु भएको छैन ।
यातायातका साधन नपाउनु, घर बाहिर निस्कन डराउँदा महिलाहरु नियमित परीक्षण तथा सेवाका लागि नजानु तथा यो बेला स्वास्थ्य संस्था सुरक्षित छ भन्ने पूर्ण विश्वास नहुँदा पनि थुप्रै गर्भवती तथा सुत्केरीहरुले सेवा लिएका छैनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.देवकोटा कोरोनाको त्रासकै बीच पनि गर्भवती तथा सुत्केरीलाई सेवा लिन आग्रह गर्नुहुन्छ ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीका प्रसूति विशेषज्ञ डा. मधु श्रेष्ठ यो जटिल अवस्थामा गर्भवती तथा सुत्केरी महिलाले आफूलाई बलियो बनाउन प्रयास गर्नुको साथै परिवारले पनि सम्झाइबुझाइ गर्नुपर्ने बताउनुहुन्छ । पहिले गरिएकै व्यवहार तथा स्याहारमा थप कुरा आवश्यक नपरे पनि उपचार नपाउने, राम्रो प्रसूति सेवा नपाउने जस्ता चिन्ताहरु आउन नदिन परिवारका सदस्यको भूमिका महत्वपूर्ण हुने डा.श्रेष्ठ बताउनुहुन्छ ।
नियमित गर्भ परीक्षण गराउनैपर्ने तर लकडाउन तथा कोरोना संक्रमणको जोखिमका कारण परीक्षण गराउन नसकेमा डाक्टरलाई फोन गरेर आफ्नो अवस्थाबारेमा खुलस्त भनेमा डाक्टरहरुले सल्लाह पनि दिन सक्ने उहाँ बताउनुहुन्छ ।
अहिलेकै अवस्थामा सबैजसो स्वास्थ्य संस्थामा सुत्केरी सेवा रहेकोले बच्चा जन्माउन अस्पतालमै जानुपर्ने तर आफ्नो नजिकका वा उपलब्ध हुन सक्ने सुत्केरी गराउने तालिम पाएका व्यक्तिको सम्पर्कमा पनि रहन डा.श्रेष्ठको सुझाव छ ।
डा.श्रेष्ठ कोरोना भाइरसले महिला वा गर्भवतीलाई बेग्लै रूपमा असर पार्छ वा पार्दैन भन्ने अहिलेसम्मको अध्ययनबाट पुष्टि नभएको तर यो अवस्था आफैंमा संवेदनशील रहेको बताउनुहुन्छ । गर्भवती महिलाहरुले तत्कालै पीसीआर परीक्षण गराएर नेगेटिभ देखिएमा घर पठाउनुपर्ने धेरैको भनाइ छ ।
तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.देवकोटा सरकारले जारी गरेको कोरोना जाँच प्रोटोकलले गर्भवतीको कोरोना जाँच गर्ने बेग्लै व्यवस्था नगरेकोले कसलाई परीक्षण गर्ने भन्ने कुरा स्वास्थ्यकर्मीले निधो गर्ने तर गर्भवती तथा सुत्केरीका लागि आवश्यक थप सुविधा भने दिइने बताउनुहुन्छ ।
अहिले सरकारको संयन्त्र बलियो छ । हरेक टोलसम्म जानकारी राख्न सक्ने पालिका, संघीय सरकारसँग समन्वय गर्ने प्रदेश तथा संघमा बलियो सरकार भएको यो बेला गर्भवती तथा सुत्केरी लगायत विशेष अवस्थाका मानिसको पहिचान र आवश्यक सुविधामा ढिलाइ गर्नुहुन्न ।
यस्तो बेलामा गर्भवतीको स्वास्थ्य उपचारका लागि छुटै स्वास्थ्यकर्मीको व्यवस्था, स्वास्थ्य संस्थामा सुरक्षित र सहज सेवा, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीमार्फत टोलटोल पुगेर गर्भवती तथा सुत्केरीलाई मनोपरामर्श दिनु आवश्यक छ ।
गर्भवती महिलालाई कुनै समस्या देखिएमा पालिकाले तुरुन्तै स्वास्थ्य संस्थामा पुर्याएर सेवा दिने व्यवस्था आवश्यक छ । गर्भ र सुत्केरी अवस्था एक विशेष र जटिल अवस्था भएकोले लकडाउन तथा महामारीको बेलामा उनीहरुले पाउनुपर्ने सुविधा तथा स्याहारमा कति पनि कमी आउन हुँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।