जुकाझैँ बाहिर टाँसिएर कोरोना भाइरस आउँदैन

 चैत २९, २०७६ शनिबार १६:३३:३८ | सुवाश जमरकट्टेल
unn.prixa.net

भक्तपुर - चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले विश्वव्यापी महामारी बनेको छ । त्यसैले विश्वभरका मानिस आफ्नो जीवन रक्षाको लागि कोठाभित्र बन्दी बनेका छन् । यो भाइरस विशेषगरी एउटा मान्छेबाट अर्को मान्छेमा सजिलै सर्न सक्छ । त्यसैले मान्छे मान्छेबीच दूरी कायम राख्न, भिडभाड र जमघट नगर्न तथा आवतजावत रोक्न नेपाल सरकारले ‘लकडाउन’ गरेको छ । 

‘लकडाउन’को समयमा औषधिलगायत दैनिक उपभोग्य सामग्रीका पसलहरु नियमित सञ्चालन गर्न पाउने निर्णय भएको छ । सरकारले ‘लकडाउन’ गरेपछि कतिपय अत्यावश्यक उपभोग्य सामानभित्र नपर्ने माछा, मासु र  मिठाइलगायतका पसल पनि विभिन्न निकायबाट स्वीकृति लिएर सञ्चालन गर्दै आएका छन् । खाद्यान्न र तरकारी पसलहरु बिहान बेलुका मात्र खोल्न पाउने भनेर निर्देशनसमेत गरिएको छ । कतिपय स्थानीय सरकारले आफैं निर्णय गरेर बिहान बेलुकाको समय समेत निर्धारण गरेको अवस्था छ ।

विश्व स्वास्थ्य सङ्गठनले ‘स्वास्थ्य सङ्कटको अवस्था’ घोषणा गरेको परिस्थितिमा खाद्यान्न, तरकारी, मासु र ग्यास पसलहरु कोरोना सङ्क्रमण र प्रसारणको मुख्य केन्द्रको रुपमा देखिएको छ । देशमा तीन तहका सरकार छन् – केन्द्र, प्रदेश र स्थानीय सरकार । तर यी तीनै तहका सरकारको ध्यान यस विषयमा नपुगेको देखिन्छ । 

सरकार तथा सङ्घसंस्थाको सहयोग र पहलमा स्वास्थ्यकर्मी र प्रहरीलाई व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरिएको छ । उनीहरुलाई सेवाकालीन र आपत्कालीन तालिम तथा निर्देशनहरु प्रदान गरिएको छ । उनीहरु आफैं पनि शिक्षित र जानकार छन् । तर माथि उल्लेखित पसल र पसल सञ्चालकहरुमा यस्ता कुनै कुरा देख्न पाइँदैन । 

व्यक्तिगत सुरक्षा सामाग्री भन्नाले डाक्टर र स्वास्थ्यकर्मीहरुले लगाउने खालको व्यापारीहरुलाई चाहिँदैन । तर पेसाअनुसारको सुरक्षा सामाग्री हरेक व्यक्ति र पेशाकर्मीको लागि आवश्यक हुन्छ । चोक चोक, गाउँ गाउँ र टोल टोलमा सञ्चालन हुने यस्ता पसलमा न कुनै सुरक्षा उपकरण उपलब्ध गराइएको छ, न कुनै प्रकारको जनचेतना फैलाउने काम भएको छ । 

दिनभर ‘लकडाउन’को पालना गरेर घरभित्रै बस्ने अनि साँझपख सागसब्जी र खाद्यान्न किन्ने निहुँमा बाहिर निस्किएर हिड्नेको लर्को हरेक टोल र चोकमा जन्तीभन्दा लामो हुन्छ । के कोरोना दिनभर मात्र लाग्ने साँझपख नलाग्ने हो र ?, अनि ग्राहकलाई कोरोना लाग्ने, व्यापारीलाई नलाग्ने हो र ? त्यसैले यस विषयमा व्यापारी स्वयम् सुरक्षित र ग्राहक चनाखो हुनुपर्ने देखिन्छ ।

ठूलाठूला डिपार्टमेन्ट स्टोर्स र सपिङ्ग सेन्टरहरुमा सुरक्षा गार्ड हुन्छन् । सुरक्षा विधि हुन्छ । स्यानिटाइजर हुन्छ । तर चोक, गाउँ र टोलमा खुल्ने पसलहरुमा न व्यापारीले मास्क, पञ्जा र स्यानिटाइजर प्रयोग गरेको देखिन्छ न ग्राहकले । व्यापारीले कतै जानु छैन, आफ्नै पसल त हो नि भनेर सोच्छन् । ग्राहकले म टाढाबाट आएको हो र, यतैको मान्छे त हो नि भनेर माक्स र पञ्जा नलगाउनाले भोलि ठूलो खतरा निम्तिन सक्छ । 

धेरैजसो तरकारी र फलफुल पसलहरुमा साँझपख सामान किन्नेको भिड लागेको हुन्छ । त्यहाँ न सामाजिक दूरी कायम भएको हुन्छ न सुरक्षा विधि अपनाइएको हुन्छ । यस्तो स्थितिबाट भोलि आउन सक्ने भयानक परिणामबारे कसैले अनुमान लगाउन सक्दैन । बच्चा लिएर पसल जानु, एकले अर्कोलाई धकेल्दै सामान छान्नु सामान्य घटना हुन् । दिनभर घर बस्ने अनि साँझ एउटा साइकलवालाले ल्याएको फलफुल र तरकारी घेरा हालेर किन्नाले असुरक्षित भइन्छ भन्ने खोइ हामीलाई  चेतना भएको ? 

पसलहरु आफैँमा भण्डार होइनन् । त्यहाँ दिनैपिच्छे सामान ल्याउनुपर्छ । सामान कहाँबाट कसले ल्याउँछ, सामान ल्याउने मान्छे कति जनाको सम्पर्कमा पुगेर आएको हुन्छ भन्ने ठेगान हुँदैन । जुकाझैँ टाँसिएर बाहिर देखिनेगरी कोरोना भाइरस आएको हुँदैन । अनि यसरी हामी कसरी सुरक्षित रहन्छौँ होला । एक जनाको गल्तीले कतिलाई असर गर्छ त्यो विचार गर्नु आवश्यक छ । एक जना सङ्क्रमित मान्छेले पसलमा सामान छुनाले अरु कति जनामा सङ्क्रमण हुन सक्छ त्यो अनुमान गर्न सकिँदैन । 

त्यसैले महामारीको रुपमा फैलिएको कोरोना भाइरसका मुख्य केन्द्रहरु खाद्यान्न, तरकारी, माछा, मासु, डेरी, ग्यास पसल, दुध र पानी बोक्ने गाडी, तरकारी र फलफुल बोक्ने साइकल र ठेलागाडा आदि हुन् भनेर यतिकै अनुमान गर्न सकिन्छ । यी स्थान र पसलमा नगएर मान्छेको जीवन निर्वाह हुन सक्दैन । त्यसैले  कोरोना सङ्क्रमण रोक्नको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले प्रहरीलाई खटाएर सबै पसलको अनुगमन गर्नुपर्छ । त्यस्ता स्थान र पसलमा व्यापारी र ग्राहकलाई माक्स, पञ्जा, स्यानिटाइजर र पेशाअनुसार व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग अनिवार्य बनाउनु पनि अति आवश्यक देखिन्छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवाश जमरकट्टेल

जमरकट्टेल चोमोलुङ्मा फाउन्डेसन नेपालका केन्द्रीय सचिव हुनुहुन्छ ।

1 Comments

  • DIPENDRA

    April 11, 2020, 5:41 p.m.

    sir this is very nice advice but may be you dont know the dr who are doing sample collection og suspected pat they are also not taking care. after collecting sample they are going to lab and without protection talking with other staff and seating together.plz advice this also so may be they understand

  •  0 Reply

तपाईको प्रतिक्रिया